समाचार

अन्तरर्राष्ट्रिय बजारमा आलोचित बन्यो सगरमाथा टुप्पोको भिड

न्यूयोर्क

हरेक बर्ष नयाँ नयाँ किर्तिमान स्थापित गर्ने उदेश्यले थुप्रै पर्बतारोही सगरमाथा चढ्ने गर्छन् । विश्वभरका पर्बतारोही लामो प्रशिक्षण गरेर हरेक बर्ष खुल्ने सगरमाथा आरोहणको समय कुरेर बस्छन् ।

यसरी थुप्रै पर्बतारोहीले नयाँ एवं अनौठा किर्तिमान पनि कायम गरेका छन् । तर यो मौसमको सगरमाथा आरोहण नयाँ किर्तिमान भन्दा धेरै बिबादित बनेको छ । कामिरिता शेर्पा एक जनाले एक साता भित्र दुई पटक सफल आरोहण गरेर नयाँ किर्तिमान राख्न सफल भए । उनको यो २४ औँ आरोहण हो ।
कामिरिताको यो सफलता समेत ओझेल पार्ने गरि यो मौसमको सगरमाथा आरोहण अन्तरर्राष्ट्रिय जगतमा निक्कै बिबादित बन्यो । विश्वकै अग्रणी मानिएका सिएनएन, न्यूयोर्क टाइम्स, वासिङ्टन पोस्ट जस्ता संचार माध्यमले सगरमाथामा ट्राफिक जाम हुने गरी तालिम बिनाका पर्बतारोहीको भिड पठाउँदा धेरैको ज्यान गएको भन्दै नेपाल सरकारको आलोचना गरेका छन् । ति संचार माध्यमहरुले लगतार नकारात्मक समाचार छापे पछी सगरमाथा आरोहण नै विश्वभर बिबादित बन्न पुगेको हो ।

चर्चित संचार संस्था न्युयोर्क टाइम्सले नयाँ दिल्ली डेट लाईनमा अमेरिकाको एरिजोना राज्यका एक पर्बतारोहीको अनुभब लेखेको छ– ‘मात्र २ वटा पिङ्पोङ् बलको टेबल अट्ने भाग जती समथर भाग भएको त्यस्तो साँघुरो सगरमाथाको टुप्पोमा एकै पटक १५÷२० जना खाँदिनु पर्ने भिड थियो । त्यती मात्र होईन चुचुरोमा पुग्नु अगाडि घण्टौ लाम बसेर पालो पर्खिनु पर्ने भिड पनि त्यतिकै थियो ।’ एड दोहरिंग नामका ति पर्बतारोहीले सगरमाथा अनुभवलाई ‘चिडिया खाना जस्तो दृश्य’ को संज्ञा दिएका छन् । मे २६ तारिख ‘इट वाज लाईक ए जस्डेथ अन एन अनरुलि ओभर क्राउडेड एभरेस्ट’ शीर्षकमा न्यूयोर्क टाईम्सले आफ्नो अनलाईन संसकरणमा लेखेको छ––‘सगरमाथा आरोहणको समस्या हिम पहिरो, हिम आँधी, हावा हुरी र हाई अल्टिचुट मात्र होईन सबै भन्दा खतरनाक मृ‍त्युको कारक अनुभब नभएका पर्बतारोहीको भिड हो । अन्तिम एक हजार फिटमा घण्टौँ कुर्नु पर्ने भिड भएका कारण पर्वतारोहीको मृत्यु भएको हो ।’ यो बर्षको लागि नेपाल सरकारले ३८१ जना पर्वतारोहीहरुलाई आरोहण अनुमति दिएको थियो ।

बेलायत स्थित चर्चित पत्रिका द गार्जियनले पनि बिगत एक साता देखि सगरमाथामा क्षमता भन्दा अधिक भिड भएको कारण पर्वतारोहीको मृत्यु भएको समाचार लगातार छापेको छ । गार्जियनले पूर्व ब्रिटिश सेना निर्मल पुर्जा ‘निम्स’ ले खिचेको भिडको तस्बीरले सबै कुरा प्रस्ट पारेको समेत उल्लेख गरेको छ । त्यसैगरी डेली मेलले पनि विश्वकै अग्लो चुचुरोमा ९ दिन भित्र ११ को मृत्यु भयो भन्ने शीर्षकमा नेपाल सरकारले बिना तालिममा मान्छेलाई सगरमाथा आरोहणको अनुमति दिएको र क्षमताभन्दा धेरै मान्छेलाई आरोहण अनुमति दिएको भन्दै सरकारको आलोचना गरेको छ ।
त्यसैगरी वासिंगटन पोस्टले ‘कसरि माउण्ट एभरेस्टको लोकप्रियता घातक हुन पुग्यो’ शीर्षकमा अंकित अधिकारी र जोना स्लाटरको बाई लाईनमा सगरमाथाको टुप्पोमा भएको भिडलाई इंगित गर्दै नेपाल सरकारले आरोहण अनुमति दिने प्रक्रियालाई परिवर्तन गर्नुपर्ने बताएको छ ।

सिएनएनले बिगत १ हप्ता देखि सगरमाथा आरोहणका क्रममा पर्वतारोहीहरुको मृत्युको समाचार प्राथमिकता साथ प्रकाशन र प्रसारण गर्दै आएको छ । आरोहणको पछिल्ला दिनहरुमा २ जना अमेरिकी नागरिकको मृत्यु भए पछि सीएनएनले फलोअप समाचार प्रकाशन र प्रसारण गर्न थालेको हो । सिएनएनले एक जना नेपाली गाईडको भनाई भिडियोमा देखाएको छ । जुन भिडियोमा ति गाईडले भनेका छन्– ‘जीवनमा एक पटक पनि एउटा हिमाल नचढेको मान्छेलाई समेत अनुमति दिएको रहेछ ।’ नेपाल सरकारका तर्फबाट अल्टिच्युट सिकनेसका कारण पर्वतारोहीहरुको मृत्यु भएको भनिए पनि सगरमाथाको डेथ जोनमा २ घण्टा देखि ४ घण्टासम्म पालो कुर्नु पर्ने भिड भएका कारण पर्वतारोहीको मृत्यु भएको भिडियोमा बोलेका अधिकांशले बताएका छन् । अमेरिका स्थित शिकागोबाट प्रकाशित हुने एक व्यंग्यात्मक पत्रिकाले त ” सगरमाथामा धनीमानीहरुको मृत्यु भएर विश्वको जनसंख्यालाई सन्तुलित गर्न समेत सघाउ पुगेको ” लेखेको छ ।
यी संचार माध्यम बाहेक जेनेभाबाट प्रकाशित द अनियन साथै सीबिएस न्युज , एबिसी न्युज , एनपीआर, फक्स न्युज, नेसनल पोस्ट, द सिडनी मर्निङ्ग हेराल्ड, एनडिटिभी लगायतका थुप्रै मिडियाले सगरमाथा आरोहणका लागि हचुवामा अनुमति दिएका कारण निर्दोष मानिसको ज्यान गएको आरोप लगाएका छन् ।