रोचक खवर

प्रत्येक नेपालीका टाउकोमा साढे ३६ हजार ऋण

काठमाडौं । नेपालले आन्तरिक तथा बाह्य निकायसँग लिएको सार्वजनिक ऋण करीव ११ खर्ब रुपैयाँ पुगेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्र १८ अर्ब रुपैयाँले ऋण बढ्दा प्रतिनेपालीको हिस्सामा पर्ने ऋण समेत बढेको हो ।

आंकडा अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सरकारले आन्तरिक तथा बाह्य गरी कुल २३ अर्ब ३९ करोड ४१ लाख रुपैयाँ ऋण लिएको छ ।

साथै ऋणको ब्याज र सावाँ भुक्तानीवापत ६ अर्ब ३२ करोड १२ लाख रुपैयाँ भुक्तानीसमेत गरेको छ । यस अनुसार तीन महिनामा १८ अर्ब ११ करोड रुपैयाँले ऋण बढेको हो ।

नेपालको कुल सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब ९३ करोड पुग्दा प्रति नेपालीको भागमा ३६ हजार ५ सय २५ रुपैयाँ पर्न जान्छ । यद्दपी यस्तो ऋण व्यक्तिले भने तिर्नु पर्दैन् ।

नेपालको सार्वजनिक ऋणमध्ये ४ खर्ब ५३ अर्ब ४९ करोड आन्तरिक ऋण हो भने ६ खर्ब ३१ अर्ब ४७ करोड रुपैयाँ विदेशी दातालाई तिर्नुपर्ने ऋण हो ।

तीन महिनामा भने सरकारले विदेशी बहुराष्ट्रिय दाताबाट १८ अर्ब ९ करोड ३७ लाख रुपैयाँ ऋण लिएको छ । द्विपक्षीय दाताबाट भने ५ अर्ब ३ करोड ९८ लाख रुपैयाँ ऋण लिइएको छ ।

२६ करोड ५ लाख रुपैयाँ आन्तरिक ऋण उठेको छ । यस अवधिमा नेपालले सबैभन्दा बढी ऋण विश्व बैंकबाट लिएको छ । यस संस्थाबाट ११ अर्ब ८७ करोड रुपैयाँ ऋण लिएको छ ।

एसियाली विकास बैंकबाट ६ अर्ब २१ करोड रुपैयाँ ऋण लिएको छ । भारतबाट २ अर्ब ३३ करोड ९१ लाख ऋण आएको छ ।