15-Dec-2019 | २९ मंसिर २०७६, आईतवार

अन्तरजातीय विवाहको पक्षमा : बाबुराम हिंसिला एक उदाहरण

२५ कार्तिक २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर

त्यतै आफूले रोजेकी कथित सानो जातकी महिलासँग विवाह गर्न रुढिवादी परिवारले अस्वीकार गरेपछि अमेरिकामा बस्ने काठमाडौंको केटाले आफ्नै बाबुआमाले खोजेको विरगञ्जकी सजातीय केटीसित विवाह गर्ने पक्कापक्की भइसकेपछि केटी कस्ती रहिछिन् भनी चरित्र मापन गर्नको लागि ब्यवसायिक ‘हेकर’ लगाएर केटीको फेसबुकको पासवर्ड तोडेर हेरे । जहाँ केटीको आफ्नै केटा साथीसँगको चेट देख्दा ऊ छाङ्गाबाट खसेसरि भयो । अमेरिकामा ग्रिनकार्ड भएको केटासँग विवाह गरेर जाने, अनि सेटल भइसकेपछि श्रीमानसँग डिभोर्स लिई, केटोसाथीलाई उतै तान्ने प्रयोजनका खाका मज्जैले बुनिएको थियो, संवादमा । अनि फेरियो केटाको बोली चौवीस घण्टाको अवधिमै ‘हुन्छ,’ ‘हुँदैन’मा । विवाहअघि नै धोकाको खाका बुन्ने केटीसँग विवाह गरेको भए उस्को आज के विजोग हुन्थ्यो ? यो सोचेर पनि उस्को मन आज पनि सिरिङ्ग हुन्छ रे । यो त भयो प्रतिनिधि एक घटना । यस्को अर्थ यो होइन कि सवै सजातीय विवाहको क्लाइमेक्स छल हो, प्रपञ्च हो । यो लेख, अन्र्तजातीय विवाहको पक्षमा लेखकको ब्यक्तिगत दुईचार तर्कसहितको वकालत मात्र हो ।

​विवाह स्वीकृत सामाजिक ढांचा हो, जसद्वारा दुई वा धेरै ब्यक्तिहरुले परिवारको निर्माण गर्दछन् । यस्मा पनि अहिले अन्तरजातीय विवाह बढ्दो क्रममा छ । यो समाज रुपान्तरणका लागि सुखद पाटो हो । अन्तरजातीय विवाह गर्नु कुनै अपराध होइन, न कि दोष नै । संसारमा नारी र पुरुषको दुई जाती सिवाय अरु जातिलाई निषेध गरी विवाह गर्नु नै अन्तरजातीय विवाह हो । तर पुरानो पुस्ता, जस्का विचारधारा संकीर्ण छन्, उनीहरुको लागि यस्तो विवाह अस्वीकार्य मात्र हैन, अपाच्य नै देखिएको छ । समाजमा आफ्नो जाति र वंश कलंकित होला भनेर नयाँ पुस्तामाथि पुरानो पुस्ताले दवाव थोपर्ने गर्दछन् । उनीहरुलाई यो चेतना छैन कि यस्तो विवाहलाई प्रोत्साहित गर्ने हो भने परिवारको माधुर्य दुईगुणा बढ्छ । यस्तो विवाहमा परिवारभित्र भित्रिने बूहारीलाई परिवारको वारेमा पूर्व जानकारी हुने हुनाले जुन कुरा पनि उनको लागि सहज लाग्छ । गृहस्थ जीवनको पहिलो उषामै ससुरोलाई डायबिटिज छ भनेर बुझेकी बूहारीले अवश्य पनि चियामा चिनी हाल्ने काम गर्दिनन् । त्यस्तै गरी सासूले पनि बूहारीको माइतीको आर्थिकस्तरको बारेमा राम्ररी बुझेको हुने हुनाले ‘दाइजो किन कम ल्याइस्’ भनेर प्रश्न गर्दिनन् । यस्तो समझदारीको धरातलमा हुर्किने शान्त परिवेशमा परिवारको माधुर्य मात्र घुल्दैन, परिवारमा नयाँ सदस्यको आगमन भयो भन्ने कुराको छनक पनि नपाई पुर्ववत गृहस्थ जीवनको निरन्तरता कायमै रहन्छ ।

थियोडर पार्करले भनेका छन्, दुई भिन्न जातीको विवाह नै सर्वश्रेष्ठ विवाह हो । अन्तरजातीय विवाह गर्नेहरु प्राय सुखी नै देखिएका छन्, दाम्पत्य जीवनमा । यस्तो विवाह प्रायजसो प्रेमबाट प्रारम्भ हुने भएकाले अरु विवाहमा जस्तो प्रेम तरंगीत हुन बर्षौं लाग्दैन । एक अर्काको इज्जत हुन्छ, श्रीमान् र श्रीमतीको बीचमा । विवाह पछिको दाम्पत्य जीवन सुखद हुने हुनाले, कुनै अपराधले टाउको पनि उठाउँदैन । विवाहको पहिलो रातमा पनि एकअर्कालाई बुझेका श्रीमान् र श्रीमतीको बिचमा भावनात्मक समागम हुन्छ । मेरो श्रीमान् कस्तो, कुन चरित्रको र उनको विगत कस्तो भनी प्रश्नै प्रश्नमा प्रारम्भ हुने यौनजीवन भावी दिनमा पनि डर र त्रासमै डोरिन सक्ने खतरा हुन्छ । श्रीमतीले श्रीमानलाई शंका गर्ने, श्रीमानले श्रीमतीलाई शंका गर्ने दुखदायी जीवन भन्दा पनि समाजवाट अपमानित हुनु परेता पनि अन्तरजातीय विवाह सुखदायी हुने मनोबैज्ञानिक सत्य हो ।

हाम्रो समाजमा अझ पनि अन्तरजातीय विवाहलाई अपराधको रुपमा हेरी, बिश्लेषण गर्ने परिपाटी छ । सजातीय विवाह नै हुनुपर्छ भनी कुनै शास्त्रमा लेखिएको छैन । क्षेत्रीसँगको क्षेत्रीनीको विवाह पनि आपसी वैमनस्यका कारण पारपाचुकेसम्म पुगेका नजीर थुप्रो छ । त्यस्तै कतिपय क्षेत्रीहरु नेवार्नीसँग सुखद जीवन बिताएका नजीर पनि खोजिटोपल्दा चाङ्गै लाग्छ । यस्बाट पुष्टि हुन्छ, आजको समयमा यो दुई अक्षरको जात हैन, भावना ठूलो कुरा हो । जस्ले आफूलाई बुझ्न सक्छ, त्यस्लाई जीवनसाथी बनाउनु अपराध हैन । यो त अभिजात र दलितबिचको शताब्दीदेखि चुलिएको बलियो पर्खालको संरक्षणको अभिष्ट मात्र हो, ठूलाठालुको । जस्ले कैले पनि सार्कीलाई खुट्टा र नापितलाई टाउको बाहेक अरु दिनै चाहेका छैनन् । यस्तै ब्यक्तिहरुले बुनेको छल, कपट र षडयन्त्र नै हो यो अन्र्तजातीय विवाहको निषेध पनि । कोही अन्र्तजातीय विवाह गर्ने सामाजिक वहिष्कारमा परेको, समाजसँग संघर्ष गर्ने हिम्मत नभएर आत्महत्या गरेको, विदेश पलायन भएको र घरेलु हिंसामा परेको जस्ता थुप्रै विकृति र विसंगतिलाई क्रमशः चिर्दै आज यस्तो विवाहलाई पनि सम्मानित विवाहमा रुपान्तरण गर्नु समयको माग हो । नयाँ पुस्ताले पुरानो पुस्तालाई जनचेतना दिनुका साथै, क्रमश । यस्तो विवाहलाई बढावा दिई सामाजिक क्रान्ति गर्न युवाहरु अग्रसर हुनुपर्छ ।

अन्र्तजातीय विवाह गर्नेलाई सामाजिक भता दिने प्रथाले सरकारले यस्तो विवाहलाई प्रोत्साहित त गरेको देखियो । परन्तु, सरकारले अन्र्तजातीय विवाहलाई मोटो रकमले जोख्नु भन्दा पनि, प्रष्ट सामाजिक रेखा खिँचेर ‘अन्र्तजातीय विवाह गर्ने जोडीलाई वहिष्कार गर्नेलाई वहिष्कार गर्ने’ जस्ता कानूनी प्रावधान ल्याउन सकेमा यस्तो जोडीलाई राहत पुग्थ्यो ।

यसै परिप्रेक्ष्यमा, बामदेव गौतम र तुलसा थापा, अमृतकुमार बोहरा र अष्टलक्ष्मी शाक्य, अशोककुमार राई र सुशीला श्रेष्ठ, झलनाथ खनाल र रविलक्ष्मी चित्रकार, ईश्वर पोखरेल र मिरा ध्वजु , शंकर पोखरेल र सुजाता शाक्य, सुरेन्द्र्र पाण्डे र पूर्णशोभा चित्रकार, केपी ओली र राधिका शाक्य, गोकर्ण बिष्ट र प्रतिमा श्रेष्ठ, मोहनचन्द्र अधिकारी र बालकुमारी खनाल, मुकुन्द न्यौपाने र पवित्रा भट्टराई, मदन भण्डारी र बिद्यादेवी पाण्डे, प्रदीप नेपाल र झुमा देवान र माधवकुमार नेपाल र गायत्री आचार्य, बाबुराम भट्टराई र हिसिला यमीका राजनैतिक अन्र्तजातीय विवाह प्रेरणादायी छन् । सवैले सुखद यी अन्र्तजातीय विवाहबाट केही न केही पाठ सिक्नैपर्छ । इतिहासमा पनि महाराजाहरुले अन्र्तजातीय विवाह गरेको् प्रसंग उल्लेख भएको पाइन्छ । यसै सन्दर्भमा, राणा प्रधानमन्त्री जंगबहादुरको राजबंशीकी छोरीसँग विवाह सान्दर्भिक नै छ ।

अन्र्तजातीय विवाह गर्नेहरुको कुनै आधिकारिक तथ्याकं त राखिएको छैन । तर, यो बढोत्तरी क्रममा छ । सबैले यस्तो विवाहलाई प्रोत्साहित गर्नुपर्छ । पुरानो पुस्ताले पनि जरा गाडेको संकीर्ण अन्धविश्वासलाई अव परित्याग गर्नुपर्छ । अन्र्तजातीय विवाह एक सामाजिक क्रान्तिको रुप हो, सवै युवाले यो क्रान्तिमा भाग लिएर एकाइसौ शताब्दीमा ‘अभिजात र दलित’ शब्दलाई शब्दकोषबाटै धूमिल पार्नुपर्छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार