डायस्पोरा

२१ औं पार्क रोड परेडमा कनेक्टिकट समाजको सहभागिता

धन लामा / नोभेम्बर ११, २०१९ कनेक्टिकट, अमेरिका 

नेपाली समुदाय माझ विविध कार्यक्रम र गतिविधीहरुका साथ कनेक्टिकट नेपाली समाजले यसपाली वेस्ट हार्टफोर्ड टाउनद्वारा आयोजित स्थानीय सडक परेडमा सहभागिता जनाएको छ । गत अक्टोवर ५ तारिखका दिन आयोजित “२१ औं पार्क रोड परेड” मा बिभिन्न झाँकीहरु सहित सक्रियताका साथ सहभागिता जनाएको हो ।


नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल तथा अन्य जनजातीका सांस्कृतिक भेषभुषामा सजिएका सय भन्दा बढी संख्यामा उपस्थित नेपालीहरु हातमा भिजिट नेपाल २०२० को व्यानर, पोस्टरका साथै “विविधतामा एकता” र “अमेरिकामा नेपाली संस्कृति” लेखिएका प्लेकार्डहरु बोकेका थिए । नेपालमा नेवारी समुदायको चर्चित लाखे नाँच र कुमारीको शोभा यात्राले स्थानीय दर्शकहरुका मन जितेका थिए । 

 


नेपाल सरकारले आगामी वर्ष मनाउन लागेको नेपाल भ्रमण वर्ष  २०२० को प्रवर्धनमा सहयोग पुगोस भन्ने अभिप्रायले नेपाली साँस्कृतिक बाजागाजाहरुका साथ प्रदर्शित झाँकी र पैदल यात्रामा न्यूयोर्कका लागि नेपालका कार्यबाहक महावाणिज्यदूत पुष्पराज भट्टराईज्यूको पनि उपस्थिति थियो ।