15-Dec-2019 | २९ मंसिर २०७६, आईतवार

पुराणको विषय र अनावरणको प्रसङ्ग

२६ कार्तिक २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


डा. बद्री पोख्रेल
अध्यक्ष, जयतु संस्कृतम् नेपाल

हिजोआज पुराणलाई पुरानो कुरा भनेर वेवास्ता गर्ने गरिन्छ । बुढावुढीले मात्र पढ्ने र सुन्ने विषय भनेर पनि पुराणलाई उपेक्षा र अपहेलना गर्ने चलन छ । त्यसमाथि अमेरिका, बेलायत, जापान, जर्मन जस्ता आधुनिक विज्ञानमा तरक्की गर्न सफल भएका देशमा त पुराण पढ्ने, सुन्ने, लेख्ने इत्यादि विषय सोचमा पनि आउँदैन । यस्तो परिवेश र मासिकतालाई चिर्दै हालै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा तीनवटा महापुराणको अध्यायगत सारांश लेखिएका ग्रन्थहरुको विमोचन भएको छ । संस्कृतमा लेखिएको अग्नि महापुराण, मार्कण्डेय महापुराण र वामन महापुराणको समग्र अध्ययनपछि हरेक अध्यायको नेपालीमा सारांश मैले तयार पारेपछि विश्व स्वतन्त्र सञ्चार नामक संस्थाले पुस्तक प्रकाशन र वितरणको भूमिका स्वीकार गरेको हो । यसरी तयार भएको कृतिहरु नोभेम्बर ८ का दिन न्यूयोर्कको ज्याक्सन हाइट स्थित थकाली किचेन रेष्टुरेन्टमा जयतु संस्कृतम्को अमेरिका शाखा र विश्व अध्यात्म केन्द्रको आयोजनामा एकैसाथ जन्मिन पुगे । त्यसै पनि चिसो हुने न्यूयोर्कमा अत्यधिक जाडो भएकाले मुटु हल्लाउँदै र सवारीजाम छिचोल्दै सहभागीहरु उत्साहका साथ समयमै उपस्थित भएका थिए ।

नेपाली काग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा पुराणहरुको विमोचन संयुक्त राष्ट्र संघका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राई, पूर्वमन्त्री नवीन्द्रराज जोशी र कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले छुट्टाछुट्टै गर्नुभयो । पुराणको महत्व, ग्रन्थको विषयवस्तु, संस्कृतको महत्व र जयतु संस्कृतम्का क्रियाकलाप सम्बन्धमा पुस्तकका लेखकका हैसियतले मैले पनि राख्ने अवसर पाएँ । वास्तवमा संस्कृत वाङ्मय ज्ञानको भण्डार हो । विज्ञान, दर्शन, कर्मकाण्ड, योग समेत संस्कृतमा पाइन्छन् । संस्कृत सबैले नवुझ्ने भएकाले संस्कृतमा भएका महत्वपूर्ण विषय नेपालीमा अनुवाद गरेर ज्ञान पस्कने प्रयास स्वरूप यी कृतिकहरु लेखिएका हुन् । आधुनिकताको नाममा समाज वेलगाम बनेको, पारिवारिक सम्बन्ध विग्रदै गएको, श्रीमान श्रीमतीका बीच विश्वास घट्दै र टुट्दै गएको, अनुशासन ह्रास हुँदै गएको र धर्म, संस्कृति र संस्कारको नाश हुँदै गएको कारणले हाम्रो अस्तित्व नै संकटमा पर्ने अवस्था देखापरिरहेको छ । मानव मानव नभएर दानव बन्ने स्थिति देखापरेको छ । यसको समाधान पूर्वीय दर्शनको अध्ययन र मननमा नै सुनिश्चित छ । मानवलाई मानव बनाउने क्रममा पूर्वीय दर्शनका ग्रन्थहरुले ‘सर्वे भवन्तु सुखिनः’ देखि विश्ववन्धुत्वको धारणा फैलाएका थिए । परोपकार नै पुण्यको एकमात्र मार्ग हो भन्ने सन्देश १८ पुराण लेखिसकेपछि व्यासले बताएका थिए । विग्रदै गएको समाजको अवस्थालाई हेर्दा पूर्वीय दर्शनको अध्ययन अपरिहार्य भएको छ । यसै आवश्यकता र दृढताको प्रतीक पुराणको अनुवाद गरी प्रकाशित गरिएको हो । १८ पुराण मध्ये १३ वटा पुराणको अनुवाद सम्पन्न गरिसकेको र बाँकी पुराणहरुको अनुवाद लेखन निरन्तर चलिरहेको छ । अनुवाद गरी तयार भएका पुराणहरु प्रकाशकको प्रतीक्षामा रहेका छन् ।

कार्यक्रममा नेपाली भाषाको मानक तयार गर्न र संरक्षण गर्न लागिपर्नुभएका समालोचक प्रा. डा. खगेन्द्र प्रसाद लुइटेलले भाषा संरक्षणमा लाग्दाका पीडाहरु बताउँदै यस्तै कृतिहरुले भाषाको मात्र नभै संस्कृति, सदाचार, मानवीय मूल्य–मान्यताको समेत जगेर्ना गर्ने बताउनुभएको थियो । उहाँको योगदानको उच्च कदर गर्दै न्यूयोर्कका साहित्यकारहरुको तर्फबाट सम्मान समेत गरियो । यसैगरी कार्यक्रमलाई सञ्चालनगर्ने सन्दर्भमा विश्व अध्यात्म केन्द्रका संयोजक एवं जयतु संस्कृतम् अमेरिका शाखाका उपाध्यक्ष पीपलमणि सिग्देलले जयतु संंकृतम् संस्थाको इतिहास केलाउँदै लोकार्पण भएका कृतिहरु हिजोसम्म लेखकका सम्पत्ति भएपनि आजदेखि सामाजिक सम्पत्तिमा रुपान्तरित भएको बताउनुभयो । पुराणको मात्र चर्चा नभएर जयतु संस्कृतम् संस्थाको पृष्ठभूमि कोट्याउँदै नेपालमा एकतन्त्रीय राणा शासनले आम जनता पीडित भएको अवस्थामा प्रजातन्त्रको स्थापनाको माग गरी राणाको विरुद्धमा गरिएको आन्दोलन थियो भन्दै स्मरण गरियो । यो आन्दोलनकै प्रभावले वि सं २००७ मा नेपालमा प्रजातन्त्रको स्थापना भएको इतिहास छ । जयतु संस्कृतम् आन्दोलनकै उद्देश्य र गतिलाई निरन्तरता दिने उद्देश्यले वि सं २०५५ मा विधिवत् संस्था दर्ता भएको थियो । हालसम्म अमेरिका र भारतमा समेतगरी संस्थाका १४ वटा शाखा स्थापना भई संस्कृतको प्रचार, प्रसार भइरहेको छ । विभिन्न संस्कृतमा लेखिएका दर्शन, पुराण लगायतका ग्रन्थहरुको अनुवाद गर्नेदेखि संस्कृतमा के छ जस्ता किताब तयार गर्ने, संस्कृतमा लेखिएको उत्कृष्ट एउटा कृतिको प्रकाशन गर्ने, संस्कृतको विकासमा जीवन समर्पण गर्ने उत्कृष्ट एकजनालाई जयतु संस्कृतम् पुरस्कारबाट सम्मानित गर्ने, उत्तर महाभारत ग्रन्थ तयार गर्ने जस्ता काम पनि जयतु संस्कृतम् संस्थाले गर्दै आएको छ ।

साहित्यकार कमला प्रसाईको स्वागत भाषणबाट सुरु गरिएको विमोचन कार्यक्रममा नेपाली काग्रेसका नेता नवीन्द्रराज जोशी, महामहिम अमृतबहादुर राई, महावाणिज्यदूत पुष्पराज भट्टराई, प्रा.डा. खगेन्द्र प्रसाद लुइटेल, अनेसास बोर्ड अफ ट्स्टकी अध्यक्ष गीता खत्री, अनेसास न्यूयोर्क च्याप्टरकी अध्यक्ष शकुन ज्ञवाली, कानुनविद् विनोद रोका, साहत्यिकार डा. गोविन्द कोइराला, कवि डा. मधु माधुर्यलगायतका अतिथिहरुले अपार शुभकामनाको शब्दगुच्छा दिंदै लोकार्पण भएका ग्रन्थहरुले सच्चा मानव बनाउन मद्दत गर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको सभापतित्व गर्नुभएका जयतु संस्कृतम् शाखा अमेरिकाका संस्थापक सदस्य विष्णुप्रसाद सापकोटाले अरु पुराणहरु पनि छिट्टै प्रकाशन हुन सकून् भनी शुभकामना प्रकट गर्नुभयो । वक्ताहरुको गहन विचार सुन्दासुन्दै दुई घण्टा बितेको पत्तै भएन । समालोचक लीला लुइटेल, अनेसास न्यूयोर्कका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ, साहित्यकार किशन धामी, पत्रकार बद्री गौतम, पत्रकार योगेश डंगोल, पत्रकार आकुर लुइटेल, रक्तदाता अर्जुन मैनाली तथा लंगआइल्यान्ड नेपाली समाजका सदस्य नरेन्द्र सुवेदीलगायत थुर्पै अतिथिको विचार सुन्न अर्को कुनै समारोह पर्खनुपर्ने भयो । सो अवसरमा नेपालका ७७ वटै जिल्ला भ्रमणगरी तयार पारिएको मेची–काली लगायत व्यवस्थापनका पाँच आयाम, अक्षरदेखि अक्षरसम्म, म भित्र अर्कै छ नामका कृतिहरू र पीपलमणि सिग्देलको कृति आँकुरापुञ्जको समेत प्रदर्शन गर्ने मौका जुट्यो ।

अन्त्यमा अहिले संस्कृतको विकासमा पश्चिमी विद्वानहरु नै लागिपरेकाले संस्कृतको महत्वलाई झनै उजागर गरेको छ । युरोप र अमेरिकाका विश्वविद्यालयहरुमा खुलेका संस्कृत अध्ययन अध्यापनका छुट्टै विभाग, केन्द्र र संस्थानहरुले यसलाई प्रमाणित गरेका छन् । हिन्दुत्व, आर्यु संस्कृति र मानवीय मूल्यको सम्वर्धनमा लाग्न प्रेरणा दिने वेद, उपनिषद्, पुराण आदिको उद्गम थलो हिमालयको देश नेपालमा भए पनि यसको उचित संरक्षण र प्रवद्र्धन हुन नसकेकाले यसको संरक्षण र विकासको निमित्त जो जहाँ बसेको भए पनि तुरुन्त थालिहाल्नुपर्ने यथार्थ हामी सबैको मस्तिष्कमा छचल्कियो । यसरी तीन महापुराणले एउटा खुड्किलो पार गरे, बाँकी यात्रा पाठकको रुचिमा निर्भर रहनेछ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार