बिचार

जताततै हस्तिनापुर

विनोद रोका, न्युर्योक

बिद्युतीय माध्यमबाट सम्प्रेषण हुने सामाजिक संजालदेखि भुभागहरुमा जताततै आजकाल हस्तिनापुर, कौरव, पाण्डव, र यदाकदा कृष्ण भेटिन्छन् । त्यसैले कुनबेला कहाँ पुगिन्छ र मनले कस्तो मनोदसा बनाऊछ अनि बुद्धिले  के निर्णय लिन्छ भन्न सकिन्न । सनातम धर्ममा विश्वास गर्नेहरु भन्छन मान्छेले बिगतमा जानी नजानी आफ्नो मनमा आऊन दिइएका र बुद्धिमा संचित गरिएका संस्कारहरुको परिणाम भोगाऊनका लागि यस्ता ठाउँहरुमा व्यक्तिहरु अनायास पुग्ने गर्दछन । भौतिकबादी अर्थात प्रत्यक्ष सवुद र प्रमाणमा विश्वास गर्नेहरु पनि भन्छन जस्तो प्रोग्रामिङ गरिएको हुन्छ त्यस्तै परिणाम जिवनमा आऊँछ । र यस्तो परिणाम आऊनका लागि पनि कुनै अब्जेक्ट वा ठाऊँ नै चाहिन्छ ।

हाम्रा दिनचर्यामा प्राय: नराम्रा र राम्रा परिणामहरु आऊने ठाऊँ, समय र पात्रहरु आइरहन्छन् । यस्ता परिणामहरु पाऊने अवस्थामा हामी कुनै ठाऊँमा पुग्दछौ र व्यक्तिहरुलाई भेट्दछौ। र परिणाम घटनुमा हामी पुगेका ठाऊँ, समय र व्यक्तिको विशेष महत्व हुने गर्दछ । त्यसैले सनातनदेखि हामीले सुन्दै पनि आएका छौं कि; ठाऊँ, व्यक्ति, र अवसर हेरेर मात्रै बोल्नु पर्छ । जानु पर्छ । खानु पर्छ । अनि असल मान्छेहरुको सत्संघ गर्नु पर्दछ आदि ।

आजकाल मान्छेका धेरै जस्तो समय फेसवुक, युट्युव, मेसेन्जर, हवाट्सअप, ईमेल, गुगल, आदिमा नै वित्ने गर्दछ । यी सामाजिक संजालमा सामेल नभई मान्छेको चित्तै बुझ्दैन। यी माध्यमहरुको कुलत यस्तो लाग्यो कि छाड्छु भनेर कसम खानेले पनि छाड्न सक्दैनन् । जब पसिन्छ, त्यँही फसिन्छ । बेहोसिमै लाइक गरिन्छ । केमा लाइक गरियो कतिपय अवस्थामा थाहा पनि हुँदैन। किनकि एउटाले पोष्ट गरेकोमा लाइक गरेर अर्कोमा नगर्ने हो भने त्यो व्यक्ति रिसाउँछ कि भन्ने डर मनमा लाग्छ । यद्यपि त्यो व्यक्ति फेसबुकमा आएर हेरिरहेको भने हुँदैन।

अनि पढ्न थालिन्छ नसा दिने पोष्टहरु । किनकि यस्तै पोष्टहरु भाईरल भएका हुन्छन् र शेयर गरिन्छन् । अनि आफुलाई विद्धान भन्नेहरुले पनि पढेर वा हेरेर यस्तो विषयलाई पोष्ट गर्न र शेयर गर्न हुदैन भनेर आफनो कमेण्ट लेख्छन् । अरुलाई अर्ति दिन्छन् । पढी सकेपछि पानी माथिको ओभानो बन्छन् ।

म पनि कहिले काँही असमन्जस्यमा पर्छु । किनकि आफै पनि यी सामाजिक संजालमा पस्नु हुदैन । पस्यो कि फसिन्छ भन्ने मान्यता राख्दछु । तर बहाना के निकाल्छु भने केही असल मान्छेहरुले कहिले काँहि राम्रा कुराहरु पनि पोष्ट वा शेयस गर्छन र यस्ता पोष्टहरु भने छुटाऊन हुदैन । मेरो पनि सामाजिक संजालमा पस्ने बानी छ । त्यसैले मलाई पनि भाईरल भएका हस्तिनापुरे पोष्टहरुले फसाउँछन र केहीबेर नसामा डुबाउँछन् ।

केही दिन अगाडि डा. राजु अधिकारी, सन्तोषी, म र मेनुकालाई परिता र  प्रभातजीकोमा दिउँसोको खाना बोलाईएका थियौं, ऊनीहरुकै निवासमा । परिता र प्रभातको आथित्य सत्कार आत्मिय र लोभलाग्दो हुन्छ । बिषेश गरेर न्युर्योकमा रहने केही नेपाली परिवारमा परिताले जमाएको दही र प्रभातले सर्भ गरेको सोमरस भएन भने पार्टी वा भोज खल्लो मान्छन् साथीहरुले । आजको खानामा हामी पाहुनाहरु सात्विक थियौं । परिताको मन प्रसन्न भएपनि प्रभातको मन खुल्न सकेन । केवल फुल्यो मात्रै । किनकि प्रभातको सोमरसले आज सिक्वेन्स मिलाउन पाएन ।

सन्तोषी र राजुजीको डेढ बर्षकी छोरी आपालालाई प्रभातजीले कार्टुन खोलीदिन चाहे । तर बच्चालाई केवल आध्यामिक हिन्दी कार्टुन मात्रै देखाऊने गरेको कुरा थाहा पाएपछि अर्को च्यानल हेर्ने कुरा हुन थाल्यो । र डा.राजुजीले गायत्री परिवारका संस्थापक तपस्वी पं.श्रीरामशर्मा आर्चायद्वारा संस्थापित शान्तिकुन्ज हरिद्धारद्वारा संचालित देव संस्कृत विश्वविद्यालयका डा. चिन्मयले मन्त्रविज्ञानको बारेमा दिएको प्रवचन युट्युवमा खोल्न अनुरोध गरें । किनकि उनी पनि त्यही विश्वविद्यालयका विद्यार्थी हुन् । त्यो प्रवचन १ घण्टाको थियो र मैले त्यहाँ करिब ४५ मिटन जति हेर्ने मौका पाए। र बाँकी घरमा आएर फेरी दोहोर्याएर हेरें । मलाई त्यो प्रवचनले राम्ररी प्रभाव पार्यो । डा. चिन्मय लण्डनमा अध्ययन पुरा गरेका मेडिकल डाक्टर भएतापनि आध्यात्म र गायत्री मन्त्रको बैज्ञानिकताको बारेमा पुष्टि गर्ने प्रमाणहरु पस्किरहेका थिए । र यी प्रमाणस्वरुप पस्किएका उदाहरणहरु सनातन धर्ममा रचिएका र सुनिएका कथाहरुमा आधारित थिए । मैले यो भिडियो फेसबुकमा शेयर पनि गरें । यो शेयर गरेको भिडियोमा दुईजना मलाई माया गर्नेले लाइक गरेको देखें ।

उदाहरणमा दिएका कथाहरु मध्ये श्रवण कुमारले आफ्ना बृद्ध मातापितालाई काँधमा बोकेर तीर्थयात्रा गराएको प्रसंगको थियो । तर यो कथामा यो भन्दा अगाडि नसुनेको हस्तिनापुर भन्ने ठाउँमा पुग्दा श्रवणकुमारको मनमा घटेको घटनाले मलाई छोयो । किनकि ठाउँ र समय अनुसार हामीमा घटने शुभ र अशुभ घटनाहरु घट्दा रहेछन । जुन हामीलाई थाहा हुँदो रहेनछ। तर यसरी अनायास ठाऊ र समयमा पुग्दा संयोगले एक पटक घटेको घटनालाई मान्छेले जिन्दगीभरी नबिर्सने गरी मनमा राखिदो रहेछ । र कालान्तरमा यही मनमा बसेका केही संस्कारले जन्म र मृत्युको चक्रमा घुमाउँदा रहेछन् । वैदिक सनातन धर्ममा मातापिताको सेवा गरेर एउटा सुपुत्रको ईतिहास बनाएका श्रवण कुमारको सोचाईमा पनि मातापिताका प्रति हस्तिनापुरमा पुग्दा नराम्रो बिचार आयो भन्दा आश्चर्य लाग्दछ। मैले बुझेको कथा अनुसार; श्रवणकुमार तिर्थयात्राको क्रममा हस्तिनापुरको बाटो हुदै मातापितालाई काँधमा बोकेर अगाडि बढी रहेका थिए । हस्तिनापुरमा पुगेपछि उनले सोचेछन्; ‘मैले यी मातापितालाई किन काँधमा बोकेर तिर्थयात्रामा हिडेको हुँला ? यिनीहरु आफै पनि त हिडेर जान सक्छन नि ! अनि उनले रिसाउँदै मातापितालाई भनेछन् । अब तपाईहरु आफै हिडेर जानुहोस् । म यसरी दुईदुई जनालाई काँधमा बोकेर हिडन सक्दिन ‘। मातापिता छक्क परेछन् – श्रवणको कुरा सुनेर । अनि सोचेछन्; ‘हाम्रो छोरो त यस्तो बचन बोल्ने मान्छे होईन ? आज यस्लाई के भएछ ?’ केहीबेरपछि थाहा पाएछन् त्यो ठाउँको नाम हस्तिनापुर रहेछ । जहाँ कौरव र पाण्डवहरुका बीचमा महाभारतको युद्ध भएको थियो । जहाँ भाईचारा, प्रेम र सदभाव जस्ता भावहरु मरेर क्रोध र ईर्स्या जस्ता विसाक्त औराहरु वरिपरको बातावरणमा मिसिएका थिए ।

 

उमेरले मात्र होईन ज्ञानले पनि परिपक्व भएका मातापिताले थाहा पाए कि यस बेला श्रवणको मनमा ठाऊँ विशेषको कारणले कुबिचार आयो। सायद ऊनीहरुले यो पनि बुझेका होलान् कि आफ्ना पनि केही संचित कर्महरु थिए जस्को कारणले छोराबाट यस्ता अप्रिय बचन यसरी सुन्नु पर्यो । तत्पश्चात मातापिताले नम्र भएर भनेछन् “ठिक्कै छ छोरा हामी आफै जान्छौ तिर्थयात्रा । कृपया यो गाउँ त कटाईदेऊ” । श्रवणले पनि मातापिताको यो बचनलाई मानेर हस्तिनापुरबाट अगाडि बढेछन् । तर हस्तिनापुर कटेपछि श्रवणले यो कुरा बिर्सिए । मातापिताले पनि ठाऊँ बिशेषको कारणले मनमा ऊब्जिएको क्षणिक बिचारलाई कोट्याएनन। श्रवणले काँधमा बोकेर मातापिताको तिर्थयात्रालाई पुरा गरे । र यो कथाले एउटा नैतिक शिक्षा समाजमा छोडेर गयो ।