विश्व

बंगलादेशका राष्ट्रपति नेपालमा, थाले घुमघाम

काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौं ओर्लिएका छन् ।

उनलाई मंगलबार राष्ट्रपति विद्यादेवि भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विवमानस्थलमा स्वागत गरिन् । उनको साथमा ५२ सदस्यीय प्रतिनिधिमण्डलसमेत नेपाल आएको छ । २९ कात्तिकसम्म नेपाल घुमघाम गरी राष्ट्रपति हमिद स्वदेश फर्कने छन् ।

नेपालमा प्रधानमन्त्रीस्तरको भ्रमण भएपनि राष्ट्रपति स्तरमा भने तीन दशकपछि पहिलो पटक भ्रमण भएको छ ।

हमिदको नेपाल भ्रमणलाई नेपालले पनि उच्च सम्मान प्रदान गरेको छ । उनको स्वागतमा राष्ट्रपति स्वयमः विमानस्थलमा उपस्थित थिइन् ।

विमानस्थलमै उनलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । नेपाल आएकै दिन राष्ट्रपतिले भक्तपुर पुगेर त्यहास्थित एतिहासिक एवं पुरातात्विक सम्पदा अवलोकन गरेका छन् ।

राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्र, राष्ट्रिय कला सङ्ग्रहालय, पच्चपन्न झ्याले दरबार, गोल्डेन गेट, शिव मन्दिरलगायत अवलोकन गरेका छन् । उनको भ्रमणले बंगलादेशी पर्यटकबीच नेपालको प्रवद्र्धन हुने विश्वास लिइएको छ ।