विश्व

मोदी मन्त्रीमण्डल– नेपालमा संविधान रोक्न पुग्ने जयशंकर विदेशमन्त्री, विश्वासपात्र शाह गृह

काठमाडौँ
दोस्रो कार्यकालका लागि विहीबार सपथ लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार आफ्नो मन्त्रीमण्डल सदस्यलाई जिम्मेवारी तोकेका छन् । धेरै प्रभावशाली पदमा पर्ने विदेश मन्त्रीको जिम्मेवारी पार्टी नेतालाई नभइ एक पूर्व कर्मचारीलाई दिएर मोदीले धेरैलाई चकित समेत पारेका छन् ।

पूर्व विदेश सचिव सब्रमण्यम (एस) जयशंकरले सिधै मन्त्रीको रुपमा त्यो पनि कैयन् पार्टी नेताभन्दा बरियतामा अघि रहेर विहीबार सपथ ग्रहण गर्दा नै धेरैले आश्चर्य मानेका थिए । शुक्रबार जिम्मेवारी तोकिँदा उनले विदेश मन्त्रालयको कमान सम्हाल्न पाएका हुन् । जयशंकर प्रति मोदी भरोसा साँच्चिकै उच्च देखिएको छ । सन् २०१४ अघि नै भाजपाको सदस्य बनेर दुई पटक लोकसभा चुनाव जितेका सेवा निवृत्त चार तारे जर्नेल भिके सिंहलाई यस पटक पनि राज्यमन्त्रीको जिम्मेवारीमै सिमित राखिएको छ । अर्को तिर सिंहकै शैलीमा गैर राजनीति पृष्ठभूमीबाट आएका र अहिलेसम्म पार्टीको सदस्यता पनि नलिएका जयशंकरको छलाङप्रति भारतीय बुद्धिजिवीहरुले नै जिब्रो टोकेका छन् ।

अघिल्लो कार्यकालमा भाजपाकी बरिष्ठ नेता शुष्मा स्वराजले सम्हालेको विदेश मन्त्रालयको जिम्मेवारी अहिले जयशंकरले पाएका हुन् । स्वराजको सचिव भएर जयशंकरले काम गरेका थिए । अर्कोतिर भिके सिंह स्वराजकै राज्यमन्त्री थिए । अहिले सिंह सडक परिवहन राज्यमन्त्री नियुक्त भएका छन् भने उनी मातहत काम गरेका जयशंकरले सिधै फुलमन्त्रीमा जम्प गर्न पाएका हुन् ।

जयशंकर प्रति मोदीको भरोसा भने उनी सचिव हुँदा देखिनै देखिएको थियो । नेपालमा संविधानसभाबाट पारित संविधान जारी हुनबाट रोक्न मोदीले जयशंकरलाई नै विशेष दुतका रुपमा काठमाडौँ पठाएका थिए ।

नेपाली नेताबाट प्रतिकुल जवाफ पाएपछि रिसाएर फर्किएका जयशंकर नेपालमा नाकाबन्दी लगाउन लागि मोदी र स्वराजलाई सहमत गराउन सफल भए । उनलाई अहिले पनि नेपाली बौद्धिक बर्गले उनलाई नाकाबन्दीकै खलनायकको पहिचान दिने गरेको छ । जयशंकर सिधै विदेश मन्त्रीमा नियुक्त भएपछि अब नेपाललाई हेर्ने भारतीय नजर कस्तो होला भन्नेमा सबैको चासो बढेको छ ।

यस्तै मोदीले आफ्ना विश्वास पात्र अमित शाहलाई गृहमन्त्री बनाएका छन् । सन् २०१४ को चुनावमा उत्तर प्रदेशको जिम्मेवारी पाएका शाह भाजपालाई त्यहाँका ८० मध्ये ७३ लोकसभा सिटमा जिताउन सफल भए पछि पार्टी अध्यक्षमा बढुवा भएका थिए । उनको अध्यक्षतामा यस पटक २०१४ भन्दा ठूलो जित निकाल्न भाजपा सफल भएसँगै मोदीले आफ्नो प्रमुख सारथीको रुपमा उनलाई मन्त्रीमण्डलमा समावेश गरेका हुन् ।

मोदी गुजरातको मुख्यमन्त्री हुँदा देखिनै शाह उनको सहयोगी थिए । राज्यमा पनि एक पटक मन्त्रीमा नियुक्त भएका शाहले पछि हत्याको अभियोगमा अदालतमा मुद्दा दायर भएपछि राजिनामा दिएका थिए । उनलाई विपक्षिहरुले भने ‘गुण्डा’को पहिचान दिने गरेका छन् ।

अघिल्लो कार्यकालमा गृहमन्त्री रहेका राजनाथ सिंहलाई भने मोदीले रक्षा मन्त्रालयमा स्थानान्तरण गरेका छन् । यस्तै रक्षामन्त्री रहेकी निर्मला सीतारमन भने अर्थमन्त्रीमा बढुवा भएकी छिन् । उनी भारतको पहिलो महिला अर्थमन्त्री हुन् । पूर्व अर्थमन्त्री अरुण जेट्लीले स्वास्थ्यको कारण देखाउँदै सरकारमा सामेल नहुने निर्णय लिए पछि सीतारमणलाई चुनौतीपुर्ण जिम्मेवारी आइलागेको हो ।