अर्थतन्त्र

विकास खर्च उस्तै निराशाजनक

काठमाडौं । विज्ञ अर्थमन्त्रीसहितको दुई तिहाईको सरकार गठन भएको करीव दुई वर्ष पुग्न लाग्यो । यसबीचमा सार्वजनिक खर्च त्यसमा पनि पूँजिगत खर्चमा निकै सुधार हुने अपेक्षा आमसर्वसाधारणले गरेका थिए ।

तर, सरकारले आफूलाई त्यसमा अब्बल सावित गर्न सकेन् । चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउनदेखि कात्तिकसम्म)को तथ्यांक केलाउँदा पुँजिगत खर्चमा सरकार निकै कमजोर पाइएको छ ।

चार महिनाको अवधिमा कूल लक्ष्यको मात्र ६.०५ प्रतिशत पुँजिगत खर्च भएको सरकारको तथ्यांक रहेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार चार महिनामा २४ अर्ब ७१ करोड रुपैयाँ पुँजिगत खर्च भएको हो ।

यस वर्ष सरकारले कूल ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजिगत खर्च गर्ने गरी बजेट छुट्याएको छ । समिक्षा अवधिमा चालु खर्च २०.५७ प्रतिशत भएको छ ।

यस वर्ष कूल ९ खर्ब ५७ अर्ब चालु खर्चका लागि बजेट राखिएको छ । चार महिनामा १ खर्ब ९६ अर्ब ७२ करोड रुपैयाँ चालु खर्च भएको छ ।

सरकारले चालु आवमा कूल १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ बजेट खर्च गर्दैछ । यस अवधिमा राजस्व भने २२ प्रतिशत उठेको महालेखाको तथ्यांक रहेको छ ।