समाचार

सचिन तेन्दुलकर र प्रधानमन्त्रीबीच भेट, पशुपति दर्शनमा दंग

काठमाडौं । नेपाल भ्रमणमा रहेका विश्व चर्चित क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

भेटमा उनले प्रधानमन्त्रीको स्वास्थ अवस्था बुझ्दै नेपालमा न्यानो स्वागतका लागि आभार व्यक्त गरेका थिए । उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिनलाई सुन्दर ल्याम्प पनि उपहारस्वरुप प्रदान गरेका छन् ।

भेटपछि प्रधानमन्त्रीले टुइट गर्दै सचिनले नेपालले बाल अधिकारका बारेमा गरेका कामको प्रशंसा गरेको जानकारी गराएका छन् । ‘उनले बालअधिकारको संरक्षण र उनिहरुको हितका लागि नेपालले गरेको प्रयास प्रशंसाजनक रहेको बताए,’ प्रम ओलीको टुइटमा उल्लेख छ ।

त्यसो त सुन्दर शहर काठमाडौंमा आउँदा आफू निकै खुसी भएको सचिनले टुइट गरेका छन् । यसैबीच आइतबार नै सचिन नेपालको चर्चित धार्मिक स्थल पशुपतिनाथ मन्दिरको दर्शनमा पुगेका छन् ।

नेपाल पर्यटन बोर्डले पशुपति दर्शनको व्यवस्थापन गरेको थियो । युनिसेफको सद्भावनादूत रहेका उनी शुक्रबार नेपाल आएका हुन् । उनले शनिबार बालबालिकासँग क्रिकेट खेलेका थिए ।