विज्ञान प्रविधि

सिद्धबाबामा सुरुङ बन्ने पक्का, अर्थले दियो स्रोत सुनिश्चितता

File

काठमाडौं । अर्थमन्त्रालयले बहुवर्षिय ठेक्कामा लगाएर सुरुङ निर्माण गर्न सहमति दिएसँगै अब सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबामा सुरुङमार्ग बन्ने पक्का भएको छ ।

बुटवल, तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिलोका कारण वर्षेनी धेरै मानिसले ज्यान गुमाउने गरेका छन् । यस क्षेत्रको पहिरो छल्न सुरुङ मार्ग निर्माणको निकर्षमा सरकार पुगेको हो ।

सुरुङमार्ग निर्माण गर्न मन्त्रिपरिषद्‍ले अर्थलाई स्वीकृति दिएको थियो । त्यसपछि अर्थले बहुवर्षिय आयोजनाका रुपमा यस आयोजनाका लागि १० अर्ब रुपैयाँको स्रोत सुनिश्चतता गरेको छ ।

१ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले सुरुङ मार्ग निर्माण गर्न प्रकिया अघि बढाउन सहमति दिएको थियो।

१५ कात्तिक २०७६ मा भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले डिजाइन निर्माण तथा संचालनको लागि आवश्‍यक १० अर्ब १५ करोड रुपैयाँ स्रोत सुनिश्‍चितताको प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको थियो ।

अर्थले यो प्रस्ताव आइतबारको मन्त्रिपरिषद् बैठकमा लगेर स्वीकृत गराएको हो । अर्थमन्त्रालयले सहमति प्रदान गरिएको पत्र सोमबार भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा पठाएको छ।

चालु आर्थिक वर्षको बजेटमा सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डसहित मुलुकका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माणको घोषणा गरिएको थियो ।

सोही अनुसार सिद्धवावाको प्रकिया अघि बढेको हो। सिद्धबाबामा सुरुङ निर्माण गर्न माघ २०७५ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्गको गुरुयोजना निर्माण गर्न अध्ययन गरेको थियो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्म करिब ४ किलोमिटर क्षेत्र पहिरोबाट अति प्रभावित
क्षेत्र हो ।

यही क्षेत्रमा सुरुङ बन्ने छ । पछिल्लो १० वर्षमा ७० भन्दा बढीले ज्यान गुमाएको यो क्षेत्रलाई ज्यानमारा स्थानका रुपमा चिनिन्छ । सिद्धबाबा छल्दै गुल्मी, पाल्पा, अर्घाखाँची जाने सवारी चल्ने गर्छन् ।