समाचार

बझाङमा गयो भूकम्प, पश्चिम नेपाल र भारतमा समेत धक्का महसुश

काठमाडौं । बझाङको खप्तडछन्ना गाउँपालिका–१, पौवागढीमा केन्द्रबिन्दु बनाएर मंगलबार भूकम्प गएको छ ।

मंगलबार बेलुका ७ बजेर १५ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले उल्लेख गरेको छ ।

भूकम्पको धक्का बझाङसहित सूदुर पश्चिम, कर्णाली र प्रदेश नं ५ का जिल्लासम्म गरिएको थियो । गुल्मी र अर्घाखाँचीमा समेत भूकम्पको धक्का महसुश भएको स्थानीयले जनाएका छन् ।

उता, भारतमा समेत भूकम्पले मानिसलाई तर्साएको छ । भारतको राजधानी दिल्ली, उत्तराखण्ड र उत्तर प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुश भएको छ ।

ठूलो भूकम्प आएपनि क्षतिको भने विवरण आइसकेको छैन । बस्ती नभएको खप्तड राष्ट्रिय निकुन्ज क्षेत्रमा केन्द्रविन्दु भएका कारण कम क्षति भएको अनुमान रहेको छ ।