फिचर

महाभियोगको पोया फुक्दै, खुला सुनुवाइसँगै छरिने थाले नयाँ नयाँ सूचना

अमेरिका
राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा सुरु भएको महाभियोगमा नयाँ नयाँ सूचना छरिन थालेका छन् । साक्षीहरुसँग खुला बयान सुरु भएसँगै नयाँ सूचना सार्वजनिक हुने क्रम बढेको हो ।

अहिलेसम्म रिपब्लिकन सभासदहरुले ट्रम्प बचाउको आफ्ना पुराना तर्कहरु छोडेका छैनन् । तर, नयाँ प्रमाण र सूचनाहरुले पार्टीभित्र तरंग सिर्जना गर्न थालेको समाचार अमेरिकी मिडियाहरुले ब्रेक गर्दै आएका छन् ।

एक महिना बढिसम्मको गोप्य बयान र सुनुवाई पश्चात गत साता खुला बयान सुरु भएको हो । पहिलो चरणमा तीन जनाले बयान दिएका छन् । युक्रेन स्थित अमेरिकी राजदूताबासका प्रमुख विलियम टेलर, स्टेट डिपार्टमेन्टका डेपुटी एसिस्टेन्ट सेक्रेटरी जर्ज केन्ट एवं युक्रेनका लागि पूर्व राजदूत मारिया योभानोभिचको खुला बयान गत साता भएको हो । उनीहरुले तीनै जनाले अमेरिकी संसदले युक्रेनका लागि पारित गरेको सुरक्षा सहायता प्रशासनले रोक्नु गलत कदम भएको बताए । साथै उक्त प्रकरणमा राष्ट्रपति डोनाल्ड ट्रम्पको संलग्नताबारे पनि आफुले जानेको सूचना उनीहरुले अमेरिकी जनतासमक्ष प्रष्ट पारिदिएका छन् ।

यो साता मंगलबार दुई सत्रमा गरि चार जना अधिकारीहरुको खुला बयान सकिएकौ छ । मंगलबार बिहान लेफ्टिनेन्ट कर्णेल एलेक्जेन्दर भिन्डमान र उपराष्ट्रपति कार्यालयकी वैदेशीक सेवा सहकर्मी जेनिफर विलियम्सको बयान भएकाे हाे । भिन्डमानले राष्ट्रपति ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँगको गत जुलाई २५ को फोनकल प्रत्यक्ष सुनेका थिए । ह्वाइट हाउसले सार्वजनिक गरेको फोनवार्ताको ‘स्क्रिप्ट’ यथार्थपरक नरहेको समेत उनकाे भनाइ छ । उनीसँगै बयानमा सहभागी भएकी विलियम्सले पनि जुलाई २५ को फोनवार्ता सुनेकी थिइन् ।

मंगलबार दिउँसो भने रिपब्लिकनको चाहना बमोजिमको बयान भयो । तर, त्यस अनुरुप रिपब्लिकनलाई एकपक्षिय सहयाेग पुग्ने गरि भने उक्त बयान हुन सकेन । बयानका लागि युक्रेनका लागि पूर्व विशेष दूत कर्ट भोल्कर र पूर्व रसिया विज्ञ टिम मोरिसनलाई निम्त्याइएको हो । उनीहरुले दुबै जनाले ट्रम्पले युक्रेनका लागि दिन लागेको सहायता रोक्नु आफुहरुका लागि स्वाभाविक कदम नभएकाे बताएका छन् । साथै ट्रम्पले विदैशीसँग आफ्ना राजनीतिक प्रतिश्पर्धी माथि अनुसन्धानकाे माग राख्नु पनि गलत रहेको उनीहरुको भनाइ थियो ।

बुधबार बिहान भने युरोपियन युनियनका लागि अमेरिकी राजदूत गोर्डन सोन्डल्याण्डको बयान हुनेछ । उनले गोप्य बयानमा ट्रम्पले युक्रेन प्रकरणमा कुनै दवाव दिएको आफुलाई सम्झना नभएको बताएका थिए । तर, पछि लिखित विवरण पठाउँदै वयान सच्याएका थिए । ट्रम्पकै इसारामा युक्रेनको सैन्य सहायता रोकिएको प्रसंग आफुलाई ‘सम्झना’ भएको भन्दै उनले आफ्नो बयान सच्याएका थिए । त्यती हुँदा पनि उनको भनाइ अझै केही साक्षीहरुसँग बाझिएको छ । त्यसैले बुधबार थप सच्याउने हुन् या कानूनी अफ्ठ्यारो झेल्ने हुन् भन्नेबारे मिडिया पण्डितहरुको बहस चलि रहेको छ । सोन्डल्याण्डले ट्रम्पको सपथ ग्रहण समारोहका लागि १० लाख डलर चन्दा दिएका थिए । त्यही कारण उनलाई ट्रम्पले राजदूत नियुक्त गरेका थिए ।

बुधबार दिउँसो भने अमेरिकी रक्षा विभागका एसिस्टेन्ट सेक्रेटरी लाउरा कुपर र स्टेट डिपार्टमेन्टका अन्डर सेक्रेटरी डेभिड हलको बयान हुनेछ । यस्तै अहिलेसम्म विहिबारका लागि नेशनल सेक्युरिटी काउन्सिलका टप रसियन विज्ञ फिओना हिल र स्टेट डिपार्टमेन्टका सहकर्मी डेभिड होल्मेसको बयान तर्जुमा गरिएको छ ।

ट्रम्पको निर्देशनमा अमेरिकाले युक्रेन लाई दिने झन्डै चार सय मिलियन डलरको सैन्य सहायता रोकिएको थियो । ट्रम्पले युक्रेनबाट पूर्व उपराष्ट्रपति एवं डेमोक्रेटिक नेता जो बाइडेन माथिको छानविन अपेक्षा गरेको र त्यो नहुन्जेल सहायता रोकेको सूचनाका आधारमा महाभियोग प्रकृया सुरु भएको थियो । उक्त आरोप अहिले क्रमशः पुष्टि हुने चरणमा छ । यो साताको बयानमा थप सूचना छताछुल्ल हुने अपेक्षा गरिएको छ ।

यसैबीच सभामुख न्यान्सी पिलोसीले ट्रम्पले महाभियोग प्रकृयामा आफ्नो भनाइ राख्न चाहे लिखित बयान दिन सक्ने बताएकी छिन् । ट्रम्पले जवाफमा आफु त्यसरी बयान दिन तयार रहेको भन्दै ट्विट गरेका छन् । हाउसमा सुरु भएको महाभियोग प्रकृया नै गैर कानूनी रहेको र त्यसलाई वैधानिकता नदिन आफुले ह्वाइट हाउसका अधिकारीलाई बयान दिनबाट रोकेको बताउने ट्रम्प आफुँ चाहिँ किन लिखित जवाफ दिन मन्जुर छन् भन्ने तथ्य पनि खुलेको छैन ।

यसैबीच महाभियोग सम्बन्धि सर्भेक्षणमा ट्रम्पले गल्ती गरेको बताउने अमेरिकी नागरिकको संख्या पनि बढेको छ । सोमबार सार्वजनिक भएको एबिसी टेलिभिजनको सर्भेक्षण अनुसार ७० प्रतिशत अमेरिकीले आफ्ना राजनीतिक प्रतिद्वन्दीलाई विदेशी गुहारेर विवादित बनाउन खोज्नु ट्रम्पको गल्ती रहेको बताएका हुन् । साथै सर्भेक्षणमा सहभागि ५१ प्रतिशतले ट्रम्पलाई महाभियोग मार्फत वर्खास्त गर्नु पर्ने बताएका छन् ।