05-Dec-2019 | १९ मंसिर २०७६, बिहीबार

छ माया छपक्कै– दिपेन्द्र लामाको समिक्षा जस्तै मौलिक फिल्म

४ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


प्रभात भट्टराई

(ब्लग)

सकृय अखवारी लेखनबाट ओझेल परेर करियरको पहिलो चलचित्र घामपानी निर्देशन गर्न थालेपछि दिपेन्द्र लामाप्रति मेरो मनमा जागेको प्रश्न थियो– आखिर यी दाइले कस्तो फिल्म बनाउलान् ?

उनले बनाउने फिल्मको गुणस्तर जाँच्ने विधा मेरो होइन र त्यसबारे मलाइ कुनै ज्ञान पनि छैन । लामा दाइले थालेको कामप्रति चासो जाग्ने कारण भने फरक थियो । उनी अखवारमा फिल्म समिक्षा लेख्थे । यस्तो लेख्थे कि निर्माता र निर्देशकहरु पानी पानी हुन्थे । कैयन् निर्देशकले नानाभाँती गाली सहित सामाजीक सञ्जालहरुमा लामा दाइको समिक्षाको प्रतिवाद गरेको समेत देखेको छु ।

कोही पनि कट्टर पुस्तक समिक्षक लेखक बनेका दिन या छुरा फिल्म विश्लेषक निर्देशक बनेका दिन उसले भोली सामना गर्नु पर्ने शाब्दिक आक्रमणप्रति चासो उठ्नु स्वाभाविक नै हो । दिपेन्द्र लामाको निर्देशनप्रति मेरो चासोको सीमा यति नै थियो । र, थियो केही शुभेच्छा– समिक्षाको ‘कम्फर्ट’ विधाबाट मोडिएर नयाँ हिम्मत जुटाएका यी सहकर्मी दाइले गरिखाउन् ।

चलचित्र प्रदर्शनका बेला मुलुक बाहिर रहेका कारण घामपानी हेर्ने मौका जुरेन । फिल्मले ठीकै व्यापार गरेको खबर अवबारहरुमा छापियो । ‘समिक्षक’हरुबाट त्यस्तो क्रुर आलोचना पनि भएन । केही बर्षको ब्रेक पछि पोहोर लामा दाइको अर्को चलचित्र आयो– गोपी । एमाजाेन प्राइममा* रिलिज भइसकेपछि यो फिल्म भने हेर्न पाइयो ।

कुनै एउटा फिल्मको समिक्षामा लामा दाइले लेखेका थिए– ‘… निर्देशकले यति पनि हेक्का राखेनन् कि नेपाल प्रहरीसँग लडाकु हेलिकप्टर छैन, जब संगठनसँगै नभएको उपकरण लिएर युद्दका लागि पुगेको दृश्य कसरी फिल्ममा राखिएको होला?’ नेपाली फिल्ममा देखाइने वास्तविकताभन्दा टाढाका भद्दा दृश्यहरु सधैँ लामा दाइको तारोमा हुन्थे । त्यसैले उनको फिल्म हेर्न बस्दा मेरो मानसपटलमा उनैले लेखका यी शब्दहरु दौडि रहेका थिए । यथार्थको सीमामा आफ्ना दृश्यहरुलाई यी दाइले कत्तिको अटाएका होलान् त ? मनमा जागेको प्रश्न यही थियो ।

गोपीका कुनै दृश्यमा ह्या… भन्ने लागेन । फिल्म सलल बग्यो, आफ्नै गाउँ ठाउँको कथा जस्तो पनि लाग्यो । लामा दाइले अरुलाई जुन प्रसंगमा उडाउँथे आफु त्यो गल्ती नदोहोर्याइ फिल्न बनाउन सक्दा रहेछन् भन्नेसम्म लाग्यो । उनकाे अर्काे चलचित्रकाे प्रतिक्षा गर्न थालियाे ।

नभन्दै दशैं छेक प्रदर्शनमा आउने भन्दै छ माया छपक्कैको प्रचार सुरु भयो । ट्रेलर युट्युबमा आयो । अभिनयमा छक्का पञ्जाको टिम थियो । व्यापारमा सुपर हिट भए पनि महिलालाई होच्याएर राखिएका केही दृश्य र वाक्यहरु छक्का पञ्जाको नमेटिने दाग थिए, कम्तिमा मेरा लागि । त्यही चलचित्रको अघोषित ‘सिक्वेल’ निर्देशनमा छिरेपछि लामा दाइले यसपाली चैं उनले गरेका पुराना सबै समिक्षाको हिसाव किताब राम्रै गरि बुझ्ने भए भन्ने लागेको थियो । तर, फिल्म प्रदर्शनमा आएपछि त्यस्तो चर्को आलोचनात्मक टिप्पणी सुन्नु परेन । केहीले कथाको आधार त केहीले पात्रहरुको भूमिकामा प्रश्न उठाए पनि फिल्मलाई झुर भन्न सकेनन् ।

नेपालको सफलताकै कारण बाहिर पनि चलचित्रको माग बढ्यो । साथीहरुको पहलमा न्यूह्याम्पसर पनि छ माया छपक्कै प्रदर्शन भयो । फिल्मले उठाएको मुद्दा यथार्थको धराधलमा आधारित लाग्यो । एउटा पानी विहिन काकाकुल गाउँ र अर्को पानीले कलकल गाउँबीचको द्वन्दलाई फिल्ममा देखाइएको छ । राजनीतिका कारण पानी लेनदेन नभएका गाउँका मुखियाका सन्तानहरु आपसी प्रेममा परेपछि अवस्थाले नयाँ मोड लिन्छ । त्यससँगै नयाँ ढंगको बिद्रोहले काकाकुल गाउँमा पानी ल्याउने मात्र होइन, दुस्मन मुखियाहरुलाई सम्धी पनि बनाइदिन्छ ।

केही प्रसंगमा फिल्म अनुत्तरित पनि लाग्छ । जल (केकी अधिकारी)की भाउजु काकाकुल घडेरी गाउँकी हुन्छिन् । तर, उनको माइती पक्ष को हो फिल्मले बुझाउँदैन । पानीको राजनीतिमा जल र बिपी (दिपकराज गिरी) को परिवार एवं साथीसंगी समेत संलग्न हुँदा उनका भाउजुको माइतीको भूमिका पनि केही हुनसक्थ्यो । तर, यस्ता खोट कोट्याउँदै जाँदा त कुनै पनि फिल्म पुर्ण हुँदैनन् ।

समग्रमा गाउँ ठाउँको कथा बोकेको झन्डै साढे दुई घण्टाको फिल्म छ माया छपक्कै सरल छ । दिपकराज गिरी र दिपाश्री निरौलाको ब्राण्ड जस्तै बनेको भद्दा छाडा शब्द र प्रसंगलाई फिल्मले दोहोर्याएको छैन । त्यसैकारण होला हलबाट निस्किने सबैले फिल्मलाई ‘राम्रो’कै संज्ञा दिएको सुनियो । हिजोको राजेश हमालको ‘हाएएएएएएएएएएएए’ कै भरमा फिल्म हलमा जान नचाहने म जस्ता दशर्कलाई छ माया छपक्कै उडन्ते र हावादारी लाग्दैन । फिल्म हेर्न गएको समय र पैसा खेर गएको गुनासो पनि रहन्न ।

तुलनात्मक रुपमा मौलिक स्वाद सहितकै आनन्द दिन्छ । ठूल्ठूला समिक्षकको तराजुमा कति तौल पाउने हो त थाहा छैन, तर हामी जत्तिका आम दर्शकलाई नेपाली फिल्म हेर्न हलसम्म तान्न यत्तिकाे चलचित्र काफी छ । यो फिल्म हेरिसकेपछि चाहिँ दिल खोलेर भन्न मन लागेको छ– दिपेन्द्र लामा दाइले पेशा बदलेर गजब गरेछन् । उनका समिक्षा लेखन जति मौलिक हुन्थे निर्देशनमा त्यो मौलिकता घटेनछ । लेख्नेसँगै देखाउने मेसोमा उनलाई थप सफलता मिलोस् ।

*सच्याइएकाे ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार