विज्ञान प्रविधि

निजी सवारीले भाडामा मान्छे बोक्न नपाउने, निसानामा टूटल र पठाओ

काठमाडौं । सरकारले निजी सवारी साधनका रुपमा दर्ता भएका सवारी साधनले भाडामा यात्रु बोक्ने नपाउने भन्दै त्यसो गरेको पाइए कारवाहीको चेतावनी दिएको छ ।

यातायात व्यवस्थ विभागले बुधबार सूचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीले सार्वजनिक प्रयोजनका लागि सवारी साधन प्रयोग गर्न नपाउने स्पष्ट पारेको छ ।

कानून नमानी निजी सवारीले भाडामा मान्छे बोकेमा कानून अनुसार कारवाही हुने चेतावनी समेत विभागले दिएको छ । विभागको यो कदमबाट अब टूटल र पठाओको सेवा प्रभावित हुनेछ ।

किनकी निजी सवारीका रुपमा दर्ता भएका यस्तो सवारीले अहिले भाडामा मान्छे बोक्छन् । मोवाइल एपका माध्यमबाट दैनिक हजारौं मोटरसाइकल चालकले यो सुविधा उपयोग गरिरहेका छन् ।

नवप्रवर्तन व्यवसायलाई प्रोत्साहन गर्ने भन्दै चालु आर्थिक वर्षको बजेटले त्यस्ता व्यवसायलाई करको दायरामा आउन पुस मसान्तसम्मको समय दिइएको छ ।

यद्दपी निजी सवारीलाई सार्वजनिक प्रयोजनमा प्रयोग गर्न पाउने कानून भने नेपालमा छैन । त्यसकारण विभागले कडाई गर्न लागेको हो ।

खासगरी नेपालमा यातायात व्यवसायीले टूटल र पठाओको विरोध गर्दै आएका छन् । यसको प्रयोगले ट्याक्सीको व्यापार घटाएको छ ।

तर, यात्रुको दृष्टिकोणबाट भने ट्याक्सीको मनपरी भाडाका कारण आजित यात्रुलाई भने निकै ठूलो राहत मिलेको छ । अर्कोतर्फ सुरक्षाका दृष्टिकोणबाट पनि मोटरकसाइकले भाडामा यात्रु बोक्दा हुने जोखिमबारे प्रश्न उठ्दै आएको छ ।