समाचार

गोकर्ण विष्टलाई सरकारबाट हटाएपछि प्रधानमन्त्रीको आलोचना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले ८ जना नयाँ मन्त्री थपे भने बाँकि पुरानैलाई निरन्तरता दिए ।

यस क्रममा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट समेत बाहिरिने मन्त्रीको सूचिमा परे ।

पछिल्लो समय केपी ओली सरकारले सबैभन्दा सफलता मानेका प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम, मलेसियाको सिण्डिकेट हटाई कामदारलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएका मन्त्री विष्ट सरकारका लोकप्रिय सदस्य मध्ये एक थिए ।

उनले म्यानपावर कम्पनीहरुको ठगी विरुद्ध कारवाहीको अभियान नै चलाएका थिए । त्यसले धेरै व्यवसायीको विचल्ली हुने अवस्था थियो ।

म्यानपावरबाट मन्त्री विष्टलाई हटाउने लविंग निकै पहिलाबाटै भएको हो । यसमा प्रधानमन्त्रीले व्यवसायीलाई साथ दिँदै अन्ततः आफ्नै लोकप्रिय मन्त्रीलाई हटाइदिएका छन् ।

यसको सामाजिक संजालमा खुलेर आलोचना भइरहेको छ । मेलम्ची खानेपानी आयोजनालाई दुई वर्ष पर धकेल्ने बीना मगर भन्दा गोकर्ण विष्ट असक्षम कसरी भन्दै प्रधानमन्त्रीलाई धेरै नागरिकले प्रश्न गरिरहेका छन् ।

कतिपयले प्रधानमन्त्री म्यानपावर दलालहरुको चंगुलमा फसेको र मन्त्री विष्टले चाकडी गर्न नसकेपछि हटाएको दावि गरेका छन् । मन्त्रीपरिषद्का अन्य सदस्यको वर्हिगमनमा भने जनताले त्यति धेरै चित्त दुखाएको पाइन्न ।