समाचार

घनश्याम भुषालको काँधमा गहकिलो जिम्मेवारी

काठमाडौं । नेकपा भित्र सिद्धान्ततः सबैभन्दा खरो रुपमा उत्रने नेताका रुपमा पहिचान बनाएका घनश्याम भुषाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बोलाएका छन् । उनी ओलीको आलोचक पनि मानिन्छन् ।

तर, ओलीले उनलाई कृषि तथा पशुपंक्षिजस्तो गहकिलो मन्त्रालय सुम्पिदिएर चलाखी गरेका छन् । हेर्दा लाग्छ, कृषि लो प्रोफाइलको मन्त्रालय हो ।

तर, देशको दुई तिहाई जनसंख्या आवद्ध भएको यस पेशालाई व्यवसायिक, मर्यादित बनाउँदै देशलाई आत्मनिर्भर बनाउन सक्ने हो भने यो मन्त्रालय चलाएर वाहवाही कमाउन सक्ने आधार धेरै छन् ।

नेकपा भित्रै घनश्यामलाई सानो मन्त्रालय दिइएको भन्दै टिप्पणी भएको छ । तर, कृषिलाई सानो आक्नो उनीहरुको अल्पज्ञान हो ।

हरेक पटक बाली नाली लगाउने बेला मल नपाएर कृषक तड्पिएको भेटिन्छ । बाली भित्राउने बेला बजार नपाएर कृषक मरिरहेका छन् ।

उखु किसान र व्यापारीबीच सधै द्धन्द्ध हुन्छ । बजारमा उपभोक्ताले चर्को मूल्य तिर्दा पनि कृषकले श्रमको मूल्य पाएको छैन ।

यस अवस्थामा घनश्यामको काँधमा भने हिँजो सिद्धान्ततः नेतृत्वलाई चर्को स्वरमा आलोचना गर्दै सिकाएको सीप अब व्यवहारमा उतार्ने मौका आएको छ । आफ्नो उक्त परिक्षामा उनी कति सफल हुनेछन्, त्यो त आगामी दिनमा देखिने छ ।