स्वास्थ्य

अब अमेरिका र युरोपमा पर्वतको  सातु

काठमाडौं । नेपालको पर्वत जिल्लामा उत्पादन भएको सातु अब अमेरिकामा पनि पाइने भएको छ । सामुदायिक खाद्य प्रशोधन उद्योग मार्फत उत्पादन भएको मकैको सातुले अमेरिका र युरोपको बजारमा लोकप्रीय बनेको छ । पोषिलो खानेकुरा भए पनि आजभोली गाउँमा मकै लगायतका अन्न पिसेर बनाइने सातुको भाग हराएको छ । तर शहर बजार र विदेशमा बस्ने नेपालीका माझ भने यसको महत्व बढ्ने क्रममा छ । त्यसैले पर्वतमा उत्पादन भएको मकैको सातु अहिले युरोप र अमेरिकासम्म पुगेको हो ।
पर्वतको फलेवास नगरपालिकामा सातु उत्पादन सुरु भएको छ । फलेवासमा तयार गरिएको त्यहीँ सातु अहिले अमेरिका र युरोपका गैरआवासीय नेपालीले लैजान थालेका हुन् । फलेवास नगरपालिकामा स्थानीय जातका परिकार तयार गर्दै आएका उद्यमी थानेश्वर भुसालले मकै, भट्टमास, फापर, चनालगायतको मिश्रणबाट पोसिलो खाजा उत्पादन गरिएको बताए । गाउँघरमा सातु भनेर हेला गर्ने खाद्यबस्तु अहिले शहरी क्षेत्र र विदेशमा माग ह्वात्तै बढिरहेको उनको भनाई रहेको छ ।
मुडिकुवामा १८ वर्षदेखि सामुदायिक खाद्य प्रशोधन उद्योग सञ्चालन गरेर भुसालले गाउँघरमै आम्दानीको स्रोत बनाएका छन् । उद्योगमा स्थानीयस्तरमा उत्पादन हुने मकै, भट्टमास, चना, फापर, अदुवा, बदाम, दालचिनी, अलैँची, मरिचलगायतलाई मेशिनमा भुटेर सातु बनाउने गरिएको छ । आवश्यकताअनुसार नुन वा चिनी पनि मिसाउने गरिएको भुसालले बताए । पछिल्लो समय उद्योगले अडर अनुसारको सातु उत्पादन गर्ने गरेको छ ।
चाउचाउ, बिस्कुट वा अन्य तयारी खाजाले स्वास्थ्यलाई असर गर्ने भएकाले सातुको माग दिनप्रतिदिन बढ्न थालेको छ । सातु पोषणयुक्त र स्वास्थ्यमा कुनै असर नगर्ने भएकाले यसको माग बढेको उद्योगी भुषालले भनाइ छ । लप्सी, अदुवा र सितलचिनी पनि प्रशोधन गरेर बेच्दै आएको उनले बताएका छन् । पहिले लप्सी, अदुवा र सितलचिनीको प्रशोधनबाट व्यवसाय सुरु गरेका उनले पछिल्लो समय भने सातुको उत्पादन थालेका थिए ।
पहिले पहिले एक दुई किलो गैरआवासीय नेपालीले विदेश लैजाने गरेकामा अहिले भने सयौँ किलो व्यवसायीक प्रयोजनका लागि अमेरिका र युरोपमा जाने गरेको उनले जानकारी दिए । केहीले अमेरिकाको डिमार्टमेन्टल स्टोरमा पनि राख्न थालेको जानकारी आफूलाई दिएको उनले सुनाए । त्यहाँको सातु स्थानीय बजारमा पनि लोकप्रीय बनेको छ । अहिले कुश्माबजारका खाद्य स्टोर्समा उनले सातु पुर्याउने गरेका छन् । कोसेलीका रुपमा काठमाडौं पोखरा लगायतका विभिन्न ठाउँमा पनि सातु जाने गरेको छ ।
गाउँघरमा नै उत्पादन भएका अन्न मिसाएर बनाइएको हुनाले बालबालिका र वृद्धवृद्धाले सातु स्वादिलो मानेर खाने गरेका छन् । जिल्लाकै विभिन्न ठाउँ र जिल्ला बाहिरका सहरमा रहेका विभिन्न विद्यालयले पनि दिवा खाजाका लागि सातु लैजान थालेका छन् । त्यसैले उद्यमी भुसालले उत्पादनलाई पनि बढाउन थालेका छन् । भुसालले उत्पादन गरेको लप्सीको अचार, क्याण्डी, तितौँरा, अदुवाको क्याण्डीलागतका परिकार अमेरिका र युरोपमा जाने गरेको छ ।
स्थानीय वनपाखामा उत्पादन भएका लप्सीका परिकार मौसमी भएका कारण बाह्रै महिना उद्योग चलाउन सातु उत्पादन गरिएको उनले जानकारी दिए । उद्योगको वक्षमता बिस्तार गर्न र थप स्थानीय उत्पादनलाई बढवा दिनका लागि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावराण् मन्त्रालयले ७ लाख ६० हजार आर्थिक सहयोग गरेको छ । गाउँघरमा उत्पादन हुने अन्नबाली फाले जङ्कफुड खाने प्रचलनलाई निरुत्साहन गर्न अभियान जस्तै व्यक्तिगत पहल गरेकामा आफूलाई खुसी लागेको उनले बताएका छन् ।
गाउँमै उत्पादन भएका मकैलगायतका अन्नबालीबाट बजारीया खानेकुरालाई बिस्थापित गर्नेगरी उद्योग बिस्तार गरेको उनले बताए । गाउँमा मकैको मूल्य प्रतिकिलो ४० पर्छ । त्यसबाट सातु बनाएर बेच्दा पनि राम्रो आम्दानी गर्न सकिएको छ । चारवर्ष अघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरेपछि फलेबस क्षेत्रमा मकै जोड कार्यक्रम चलिरहेको छ । यसले मकैको उत्पादन बढेको छ । उत्पादन भएको मकैले बजार पाएकाले स्थानीय पनि खुसी छन्, आफूले पनि स्थानीय अन्न सुलभ मूल्यमा पाएकामा भुसाल पनि खुसी छन् । आफूले उत्पादन गरेको अन्न सातु र अचारको रुपमा अमेरिका र युरोप पुगेपछि स्थानीय पनि हर्षित छन् ।