स्वास्थ्य

मृगौला दिने आफन्त सहित प्रधानमन्त्री ओली बाल्टिमोरको अस्पतालमा उपचार गर्न आउंदै

बिश्वन्युज संवाददाता
काठमाडांैं
प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि बाल्टीमोर आउने तयारीमा छन् । प्रधानमन्त्रीको उपचारका लागि अमेरिकास्थित नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले तयारी थालेका छन् । त्यसका लागि नेपालबाट चिकित्सकसहितको टोली अमेरिका आएर तयारी थालेको बालुवाटार स्रोतले जनाएको छ । चर्चा–परिचर्चा भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अहिलेसम्म औपचारिक रुपमा अमेरिकामा उपचार हुने कुरा सार्वजनिक गरेका छैनन् । यद्यपी नेकपा अध्यक्षसमेत रहेका ओलीले सरकार र पार्टी सञ्चालनका विषयमा पनि त्यसैअनुसार तयारी थालेका छन् ।
काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा तेस्रो पटक मिर्गौलाको डाइलाइसिस गरेका प्रधानमन्त्री ओलीले विश्वकै चर्चित अस्पताल जोन हप्किन्स अस्पताल बाल्टीमोरमा उपचार गर्ने निष्कर्ष निकालेका छन् । शनिबारको अन्तिम स्वास्थ्य रिपोर्ट पनि अमेरिका पठाइएको छ । ओली एक–डेढ हप्ताभित्र अमेरिका जाने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए । आइतबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा भने प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारेमा छलफल भएको थिएन । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य राम्रो रहेको जानकारी दिएका थिए ।
प्रधानमन्त्री ओलीले आफ्नो उपचार महिनौंसम्म लाग्न सक्ने भन्दै पार्टीको सम्पूर्ण जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा लगाई सकेका छन् ।आफ्नो भाबी उपचारलाई लक्षित गरेर ओलीले मन्त्रिपरिषद् फेरबदल गरेर आफू आउने समयसम्मका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई सरकारको जिम्मा लगाईसकेका छन् ।

प्रधानमन्त्री ओलीले सन् २००७ मा भारतको नयाँ दिल्लीमा रहेको एपोलो अस्पतालमा मिर्गौलाको प्रत्यारोपण गरेका थिए । प्रत्यारोपण गरिएको मिर्गौलाले १० प्रतिशतको हाराहारीमा मात्र काम गरेको निष्कर्षसहित चिकित्सकको टोलीले नियमित डाइलाइसिस वा प्रत्यारोपणको विकल्पमा सुझाव दिएका छन् । प्रधानमन्त्री ओली भने अब फेरि एक पटक प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका छन् । रगतमा बिकारको मात्रा अत्यधिक भएका कारणले गर्दा पछिल्लो पटक हेमोडाइलाइसिस गरिएको ग्राण्डी अस्प्तालका चिकित्सक प्राडा प्रेमराज ज्ञवालीले जानकारी दिएका छन् ।
प्रत्यारोपण गरिएको मिर्गौलाले जम्मा १० प्रतिशत मात्र काम गरेपछि चिकित्सकले फेरि पनि अर्को मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् । बाल्टीमोरमा गरिने प्रत्यारोपणमा भने भित्रको मिर्गौला नफालिकन अर्को मिर्गौला हाल्ने प्रविधि रहेकाले ओली उत्साहित बनेका छन् । १० प्रतिशत काम गरेको मिर्गौलालाई पूर्ववत् अवस्थामा राखेरै अर्को मिर्गौला थपिने स्रोतले जनाएको छ । औषधिले नियन्त्रण हुने वा यथास्थितिमा रहने सम्भावना नरहेका कारणले प्रधानमन्त्री ओलीले प्रत्यारोपणको बाटो रोजेका हुन् । केही चिकित्सकले भने नेपालमै प्रत्यारोपण गर्न ओलीलाई सुझाव दिएका थिए ।
ओलीले प्रत्यारोपणको सफलताका विषयमा चिकित्सकसँग पटक–पटक परामर्श गरेका छन् । विदेशका अन्य ठाउँ र नेपालमा गरिने प्रत्यारोपणमा उस्तै सफलता रहेको चिकित्सकले बताएका छन् । तर, बाल्टिमोरमा भने अर्को मिर्गौलालाई नचलाइकन नयाँ मिर्गौला थप्ने प्रविधिको सफलता रहेको थाहा पाएपछि ओली अमेरिका नै जाने निष्कर्षमा पुगेका हुन् । प्रधानमन्त्रीका एक सल्लाहकारले अबको एक डेढ हप्ताभित्रै प्रधानमन्त्री ओली अमेरिका पुगिसक्ने जानकारी दिए । यसअघि नै अमेरिकामा मिर्गौला प्रत्यारोपणको तयारीका लागि निजी चिकित्सकसहितको तयारी टोली पुगिसकेको स्रोतको भनाइ छ ।
मिर्गौला दिन मिल्ने नीतिगत दायरा भित्रैबाट एक जना आफन्तसमेत अमेरिका उडिसकेका स्रोतले बतायो । नेपालको कानुनले परिवारजनबाट मिर्गौला प्रत्यारोपणका लागि दिनुपर्ने दायरा बनाएको छ । तर, प्रधानमन्त्रीलाई मिर्गौला दिन इच्छा गर्नेको संख्या धेरै नै छ । मिर्गौला दिन मिल्ने व्यक्तिको छनोट भैसकेको छ । विदेशमा गएर मिर्गौला प्रत्यारोपण गरेमा आफन्त पनि हुनु नपर्ने कानुनी दायराले आफन्त नै चाहिने कानुनी झन्झटबाट पनि प्रधानमन्त्री ओली मुक्त हुनेछन् । नेपाल रहेसम्म नियमित डाइलाइसिस गरिने र अमेरिकामा तयारी गरेपछि भने प्रत्यारोपणका लागि जानेगरी पार्टी तथा सरकारको व्यवस्थापनमा अहिले प्रधानमन्त्री क्रियाशील छन् ।
नयाँ मिर्गौला प्रत्यारोपणका लागि समय भने कम्तीमा तीनदेखि पाँच महिनासम्म लाग्ने गर्छ । अध्यक्षद्वयबीचमा पनि स्वास्थ्य अवस्थाका विषयमा पटक–पटक छलफल भएको छ । ओली र प्रचण्डबीचको छलफलका आधारमा अन्तिममा सचिवालय बैठकबाट निर्णय गराएर प्रधानमन्त्री अमेरिका लाग्नेछन् । चिकित्सकले कम्तीमा ३ देखि ५ महिनासम्म आराममा बस्नुपर्ने बताएपछि ओलीले मन्त्रिपरिषद्का सदस्य परिवर्तन र पार्टीको जिम्मेवारी समेत परिवर्तन गरेका हुन् । त्यसैअनुसार मन्त्रीहरुसँग पटक–पटक भेटवार्ता गरेका छन् । पार्टीका सचिवालय सदस्यसँग पनि पटक–पटक भेटवार्ता गरेर आफ्नो स्वास्थ्य अवस्थाका विषयमा छलफल गरेका छन् । यद्यपि प्रधानमन्त्रिको भ्रमणको मिति भने औपचारिक रुपमा हालसम्म सार्वजनिक गरिएको छैन ।

गम्भीर बिरामी हुँदा पनि पदको भोक

प्रधानमन्त्री ओली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कार्यसञ्चालन गर्न नसकेको लामो समय भैसकेको छ । पछिल्ला मन्त्रिपरिषद् बैठक पनि उनी बालुवाटारबाटै सञ्चालन गर्दै आएका छन् । पार्टीको सचिवालय बैठक पनि बालुवाटार नै भएको छ । विदेशीसँगको भेटवार्ता पनि उनले बालुवाटारमै गरिरहेका छन् । आइतबार मात्र लामो समयपछि राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्न सार्वजनिक कार्यक्रममा पुगेका थिए । आफ्नो कार्यालयमा पनि नियमित आउजाउ गर्न नसकेका प्रधानमन्त्रीले पदको भोक देखाइरहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीभित्र पूर्वप्रधानमन्त्रीहरु नै तीन तीन जना छन् । स्वास्थ्य अवस्थाले पनि तीनै जनालाई साथ दिएको छ । प्रधानमन्त्री बन्न योग्य आधा दर्जन नेताहरु छन् । तर पनि प्रधानमन्त्री ओलीले आफ्नो उपचार गरेर प्रधानमन्त्री पद आफ्नै पार्टीका नेतालाई सुम्पिने इच्छाशक्ति देखाएका छ्रैनन् । बिरामी परेका समयमा पनि उनको ध्यान नियुक्ती, सरुवा, बढुवालगायतमा केन्द्रित छ । चिकित्सकहरुले प्रधानमन्त्री अ‍ोलीलाई पटक–पटक धपेडी नगर्न र आराम गर्न सुझाव दिए पनि त्यसलाई ओलीले ध्यान दिएका छैनन् ।