समाचार

किशोरी बलत्कार प्रयासमा दुई महिलासहित तीन पक्राउ

काठमाडौं । महिलाकै मिलेमतोमा राजधानीमै एक किशोरीको बलत्कार प्रयास भएको छ । बलत्कार प्रयासको आरोपमा प्रहरीले दुई महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।

कन्सल्टेन्सीमा जागिरको प्रलोभन देखाई अन्तर्वार्तामा बोलाएको र जबर्जस्ती करणी गर्न खोजेको भन्दै किशोरीले उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार सिंनामंगलस्थित एक कन्सल्टेन्सीमा जागिर लगाइदिने भन्दै किशोरीमाथि जबर्जस्ती गर्न खोज्ने रोहितप्रसाद ढुंगाना र उनलाई सहयोग गर्ने निर्मला शर्मा र मीना रिमाल पक्राउ परेका हुन् ।

शर्मा र रिमालले पीडित किशोरीको चिनजान रोहितप्रसाद ढुंगानासँग गराइदिएका थिए । ५ मंसिरमा बिहान ५ बजे बानेश्वरमा एक खाजाघरमा अन्तर्वार्ताका लागि बोलाएको पिडित किशोरीले बताएका छन् ।

खाजा खाइसकेपछि डेरामा पुर्याउने भन्दै ढुंगानाले ट्याक्सीमा राखेर गोदावरी रिसोर्ट लगेका थिए । त्यहाबाट ढुंगानाको प्रतिकार गर्दै भागेर आफन्तको सम्पर्कमा पुगेकी किशोरीले उनीहरुविरुद्ध जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।