विज्ञान प्रविधि

अब श्रम स्वीकृति लिन लाइन बस्नु नपर्ने, इ-टोकन प्रारम्भ

File

काठमाडौं । सरकारले श्रम स्वीकृति लिन रहेको झण्झट हटाउने भएको छ । अब युवाले बिहान ३ बजेदेखि श्रम कार्यालयमा लाइन बस्नु पर्ने छैन ।

यसको साटो इ-टोकनका माध्यमबाट आफ्नो पालोको दिन श्रम कार्यालय पुगी सहजै श्रम स्वीकृति लिन सक्ने भएका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुषालका अनुसार श्रम स्वीकृतिका लागि अनलाइन फारम भर्ने बित्तिकै श्रम स्वीकृति पाउने दिन देखिने छ ।

आफूले कुन कार्यालय पायक पर्छ, उक्त कार्यालय रोज्न समेत मिल्ने छ । जुन कार्यालयमा छिटो पालो आउँछ, उक्त कार्यालय रोजेर फारम भर्न सकिने भएको छ ।

यो प्रणाली १ डिसेम्बर २०१९ (१५ मंसिर २०७६) बाट कार्यान्वयनमा आउने विभागले उल्लेख गरेको छ ।

फारम भरिसकेपछि कारणवश श्रम स्वीकृति अस्वीकृत हुने अवस्था आयो भने मोवाइलमा त्यसको जानकारी एसएमएसका माध्यमबाट आउने भएको छ । श्रम स्वीकृती भएको म्यासेजसमेत मोवाइलमा प्राप्त हुने भएको छ ।

यसले श्रम स्वीकृति भएको कन्फर्म गराउने छ । विद्यूतीय भुक्तानीका लागि समेत विभागले सम्झौताको तयारी गरिरहेको बताएको छ।

यो प्रणाली लागू भएपछि बीमा र कल्याणकारी कोषको पैसा तिर्न बैंक जानु पर्ने छैन । यसबाट विचौलिको प्रवेशसमेत अन्त्य हुने भएको छ ।

त्यसपछि कामदारको छनोट प्रणालीसमेत पारदर्शी बनाउन अनलाइन माध्यमको प्रयोगको प्रणाली प्रयोगका तयारी समेत भइरहेको छ । यो सबै कामको तयारी विभागले विगत ५ महिनादेखि गरिरहेको र अब रिजल्ट देखिन थालेको विभागको भनाई छ ।