विश्व

साउदीमा विदेशी कामदारलाई कडा प्रावधान, के के भयो परिवर्तन ?

काठमाडौं । साउदी सरकारले विदेशी कामदारका लागि कडा प्रावधान समेटेर नयाँ कानून ल्याएको छ ।

साउदीस्थित नेपाली दुतावासका अनुसार अब कामदारले एउटा रोजगारदातासँगको करार अवधि नसकी रोजगारदाता छाडेर अवैध रुपमा बसेमा कामदारलाई पुनः साउदी प्रवेशमा आजीवन प्रतिबन्ध लगाउने भएको छ । नयाँ कानुले यो प्रावधान समेटेको हो ।

नेपालीहरु साउदी अरव पुगेपछि करार सम्झौता गरेर आएको कम्पनी छाड्ने प्रवृत्ति धेरै रहेको छ । कम्पनी राम्रो नरहेको, भने अनुसार सुविधा नदिएको, मेडिकल नगरेको ,मेसको खाना ठिक नभएको, बिरामी हुँदा कम्पनीले नहेरेको जस्ता बाहना बनाउँदै कम्पनी छाड्ने गर्छन् ।

दूतावासले भने लहैलहैमा लगेर काम नछाड्न नेपाली कामदारलाई सचेत गराएको छ । कम्पनी छाडेर भाग्ने कामदारलाई थप ६ महिना जेल र ५० हजार रियाल जरिवानासमेत तिराउने गरी नियम आएको छ ।

यसले भाग्ने कामदारलाई झन ठूलो कानूनि समस्या आउने भएको छ । बुझ्दै नबुझी वा लहै लहैमा काम छाड्नुको साटो काम र आवासमा रहेर नै समस्या समाधान सहज हुने दूतावासले उल्लेख गरेको छ ।

पछिल्लो समय साउदीमा नेपालीहरुले चोरीक घटनामा समेत बढी संलग्न भएको पाइएको छ । जसले गर्दा ठूलो धनराशी जरिवाना लाग्ने र कडा जेलसजाय हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन समेत दूतावासले नेपालीलाई आग्रह गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा मात्र साउदी दूतावासले १ सय ६ जना भागेका कामदारलाई स्वदेश पठाएको छ । समयमा तलब नपाएका १९ सय २६ जनालाई तलब दिलाएको समेत दूतावासले उल्लेख गरेको छ ।

एक सय ११ जनालाई बहिर्गमन भिसा दिलाएको छ । १३ सय ७६ कामदारको परिचयपत्र नवीकरण गरेको छ । यस अवधिमा ९ हजार कामदारले टेलिफोनबाट आफ्ना समस्या टिपाएका थिए । साउदी धेरै नेपाली जाने रोजगारदता मुलुकमध्ये एक हो ।