फिचर

भ्रमण वर्ष लक्षित निगमको योजना, हरेक महिना एउटा टिकट उपहार

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका टिकटबाट हरेक महिना हरेक देश शहरबाट एउटा टिकट गोलाप्रथाबाट निशुल्क उपलब्ध गराउने भएको छ ।

नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्न निगमले यस्तो निर्णय गरेको हो । निगमले आफ्ना सबै जहाज र अन्य सवारीसाधनमा समेत नेपाल भ्रमण वर्षको लोगो राख्ने निर्णय गरेको छ ।

निगम कार्यकारी समितिको वैठकले नेपाल सरकारद्वारा घोषित नेपाल भ्रमण वर्षलाई सफल बनाउन रणनीतिक कार्ययोजनालाई थप परिष्कृत एवम् परिणाममुखी बनाउने निर्णय गरेको बताएको छ ।

निगमले डिजिटल मिडिया सेलवाट फेसबूक, ट्विटर, ईन्स्ट्रग्राम र यूट्युवमा पर्यटनसम्वन्धी सामग्री प्रसारण गर्ने भएको छ । केन्द्रीय कार्यालयस्थित विक्री कक्ष समेत राती ८ बजेसम्म खूल्ला राख्ने निर्णय गरेको निगमले उल्लेख गरेको छ ।

काठमाडौंका होटेल तथा टुर अपरेटर व्यवसायीहरुसँग सम्झौता गरी विदेशबाट आएका यात्रुहरुलाई निगमका बाहृय स्टेशनबाट प्याकेजमा टिकट विक्रीको व्यवस्था गर्ने निर्णय निगमको छ ।

प्रत्येक अन्तर्राष्ट्रिय स्टेशनहरुमा पर्यटकहरुका लागि गोलाप्रथाद्वारा मासिक एकथान टिकट निःशूल्क उपलव्ध समेत गराइने छ ।