फिचर

‘वर्ल्ड नेपाली म्युजिक अवार्ड’ मा दर्शकको घुँइचो

कल्पना घिमिरे
न्यूयोर्क/अमेरिका
थुप्रै कलाकारहरुको जमघट गराएर वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ को ‘ग्राण्ड फिनाले’ सम्पन्न गरिएको छ । गत शनिबार राती होटल लगौडिया प्लाजामा गरिएको कार्यक्रममा नेपालबाट आएका ६ कलाकार, अमेरिकामैै बसोबास गरिरहेका थुप्रै कलाकार र नेपाली समुदायको बाक्लो उपस्थिति थियो । वर्ल्ड कनेक्सन युएसए इन्क र फिदर क्रिएसन प्राइभेट लिमिटेड नेपालले आयोजना गरेको उक्त कार्यक्रममा बिशेष समारोहका बिच बिजेताहरुलाई अवार्ड वितरण गरिएको थियो ।
कार्यक्रममा गीत/संगित क्षेत्रका बिभिन्न १८ बिधाका उत्कृष्ठ १८ जनालाई लाई प्रत्यक्ष अवार्ड वितरण गर्ने तयारी थियो । साथै कार्यक्रममा सहभागी गराउनका लागि १८ बिधाका पहिलो, दोश्रो र तेश्रो ३/३ जना गरी ५४ जनालाई अमेरिका ल्याउने योजना थियो । तर, अमेरिकी राजदुतावासले भिषा नदिएका कारण ४७ जना बिभिन्न क्षेत्रका कलाकार नेपालबाट आउन पाएनन् । कार्यक्रममा अमेरिकामै रहेका ५ जना र जापान र युरोप बाट आएका २ जना गरी ७ जना बिजेताले मात्रै प्रत्यक्ष अवार्ड लिन पाएका थिए । भने बाँकी ११ जनाले अवार्ड लिन पाएका थिएनन् । आयोजकका अनुसार अमेरिकी राजदुतावाससंग बिशेष अनुरोध गर्दा समेत यस कार्यक्रममा आउने अन्तिम तयारीमा रहेका ४७ जनाको भिषा अस्वीकार गरिएको थियो । ‘अवार्ड लिन नपाएका उत्कृष्ठ ११ कलाकारहरुलाई नेपालमै बिशेष कार्यक्रम गरी अवार्ड वितरण गरिनेछ’ कार्यक्रममा कन्भेनर राजकुमार बिष्टले भने, ‘बिशेष अनुरोध गर्दा समेत पछिल्लो तीन महिनासम्म कसैलाई पनि भिषा इस्यु गर्न नसक्ने बताएको थियो ।’
अर्वाड कार्यक्रममा उत्कृष्ठ गीतकारको उपाधी एभरेष्ट टाईम्सका सम्पादक ङिमा पाख्रिनले पाएका छन् । पत्रकारिता संगै गीत÷संगीत क्षेत्रमा लाग्दै आएका पाख्रिनको ‘जिन्दगीको गोरेटो’ बोलको गीत दर्शक र श्रोताको मुल्याङकन र छनौटबाट उत्कृष्ठ तीन भित्र परेको थियो । राष्ट्रिय गीत अन्तरगत गायिका सत्यकला राईको ‘नसोध को तराइबासी’ बोलको गीत र चलचित्र तर्फ गायिका अन्जु पन्तको ‘भिजिट भिषाले’ बोलको गीत उत्कृष्ठ भएको थियो ।
पप गीत तर्फ गायक प्रमोद पोखरेलको ‘फर्की आउछु’ र आधुनिक तर्फ गायिका यसोदा खालिङ राईको ‘मायामा’ ले उत्कृष्ठ स्थान पाएका थिए । आधुनिक गीत अन्तरगत सिडि विजय अधिकारी, लोक तथा सेलो तर्फ रेस्मा बम्जन, लोपउन्मुख तर्फ युवराज मगरको ‘मायाली’, म्युजिक एरेन्जर तर्फ पाविधन राईको ‘नौ लाख किराती, म्युजिक कम्पोजरमा सुनिल मास्केको ‘धनले होइन मनले’ लोक दोहोरीको पुरुष गायन तर्फ गायक सन्दीप न्यौपानेको ‘लालुमाई’ र लोकदोहोरीको महिला गायन तर्फ गायिका शर्मिला श्रेष्ठको ‘पुजा नगर मलाई’ ले बिजेताको अवार्ड पाएका थिए ।
आधुनिक तथा पप गीतको महिला मोडल तर्फ रितु तामाङको ‘म त यस्तै’, आधुनिक तथा पप गीतको पुरुष मोडल तर्फ सरज गराचको ‘किन पल पल’, म्युजिक भिडियो निर्देशन तर्फ सौरव न्यौपानेको ‘तिम्रो रुपले’, लोक दोहोरी गीतको पुरुष मोडल तर्फ लोमेस शर्माको ‘मायाको झण्डा फरार’ र लोक दोहोरी गीतको महिला मोडल तर्फ अन्जु निरौलाको ‘ मायाको झण्डा फरार’ ले अवार्ड पाएका थिए ।
‘नेपाली संगितलाई संरक्षण गरौं । अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गरौं ।।’ भन्ने नाराका साथ गरिएको कार्यक्रममा अमेरिकास्थित नेपाली राजदूत अर्जुन कार्की, बिशेष अतिथि नेपाली स्थायी नियोग प्रमुख अमृतकुमार राई, धर्म गुरु रिम्पोचे छेस्याल रिम्पोचेको पनि बिशेष उपस्थिति थियो ।
कार्यक्रममा सहभागी हुनका लागि नेपालबाट नायिका केकी अधिकारी, गायिका सत्यकला राई, गायिका अन्जु पन्त, पार्वती राई, यम बराल, मिङमा शेर्पा, शिव परियार नेपालबाट आएका थिए । कार्यक्रममा चर्चित कलाकारहरु सत्यकला राई, अन्जु पन्त, यम बराल, शिव परियार, मिङमा शेर्पा, केकी अधिकारी आदीले आ–आफ्नो प्रस्तुती दिएका थिए ।

व्यवस्थापन फितलो
कार्यक्रमलाई भब्य र सब्य बनाउने भन्दै आयोजक पक्षले ६ महिनादेखि तयारी गरेपनि दर्शकहरुले उभिने ठाउँसमेत नपाएको गुनासो गरेका छन् । ४० अमेरिकी डलर शुल्क तिरेर टिकट काटेका कतिपय दर्शकले खचाखच भिडले गर्दा स्टेजमा कालाकारको प्रस्तुती नै देख्न पाएनन् । ‘२ बजे राती सम्म भोकभोकै उभिनु प¥यो, न त खानेकुराको ब्यवस्था थियो न त बस्ने ठाउँको नै’ कार्यक्रममा सहभागी भएर फर्किएकी एक युवतीले भनिन् । यस्तो भब्य भनिएको कार्यक्रमको ब्यवस्थापन राम्रो नभएकोमा कतिपयले सामाजिक सञ्जाल मार्फत पनि गुनासो गरेका छन् । खुसी राईले आफ्नो सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन् ‘ बेहोस पछि होसमा आउँदा क्या दामी भो…भन्दै गीत गाउन लगाएर दर्शकलाई मध्ये रातको २ बजेसम्म भोकै राख्न त अन्याय भएन र ?’
आयोजकले अनुमान गरेको भन्दा बढी दर्शक आएकाले हल खचाखच भएको कन्भेनर बिष्टले स्वीकारे । ‘१ हजार भन्दा बढीको सहभागीता भयो हलमा मान्छे अटेन’ उनले भने, ‘टिकट काटेर कार्यक्रम हेर्न छिरेको मान्छेले होटलबाट आँफै अर्डर गरेर खान सक्थ्यो । त्यो टिकट कार्यक्रम हेर्नका लागि मात्रै थियो । खानाको ब्यवस्था थिएन । होटलमा बाहिरबाट खाना लान नमिल्ने भएकाले हामीले राम्रो ब्यवस्था गर्न सकेनौं । १२० भोलिन्टियर साथीहरु र अन्य केहीका लागि काठमाडौं फ्युजन रेस्टुरेन्ट बाट २/३ सय जना जतिलाई खाना ल्याइएको थियो । एउटा कोठा लिएर खाना खाने ब्यवस्था गरेका थियौं । त्यो पनि कोठा सानो मान्छेको चापले गर्दा अस्तब्यस्त नै भयो ।’