स्वास्थ्य

आजबाट फिर्ता होला निजी मेडिकल कलेजले असुलेको गैरकानूनी शूल्क ?

काठमाडौं । निजी कलेज सञ्चालक एमबिबिएस र बिडिएसका विद्यार्थीबाट गैरकानुनी रूपमा उठाएको शुल्क फिर्ता गर्न तयार भएका छन्।

शिक्षा मन्त्रालयमा बुधबार मध्यरातमा निजी कलेज संचालक र शिक्षा मन्त्रीबीच वार्तामा सहमति जुटेको हो ।

किनकी मंगलबार नै गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले निजी कलेजहरुले शूल्क फिर्ता नगरेपछि बुधबारबाट पक्राउ गरी कानून अनुसार कारवाही चलाउने निर्ण गरेको थियो ।

उक्त निर्णय लगत्तै शिक्षा मन्त्रालय निजी मेडिकल कलेज सञ्चालक र शिक्षामन्त्रीबीच वार्ता भएको हो । वार्ता मंगलबार मध्यरातमा मात्र सहमतिमा टुंगिएको हो ।

वार्तामा एमबिबिएस र बिडिएसका लागि सरकारले निर्धारण गरेको शुल्क कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरूले प्रतिबद्धता जनाए ।

साथै, निर्धारित शुल्कभन्दा बढी रकम लिएका कलेजले बुधबारदेखि नै बढी लिएको शुल्क फिर्ता वा समायोजनको कार्य सुरू गर्ने भएका छन् ।

बैठकमा शिक्षामन्त्री पोखरेलसहित चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा, विज्ञान तथा प्रविधि सचिव महेशप्रसाद दाहालसहित निजी मेडिकल कलेजका सञ्चालक सहभागी थिए।