विश्व

'पुटिन नेपाल आउनेमा सरकार आशावादी'

काठमाडौं । विश्वकै शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउने विषयमा नेपाल सरकार आशावादी रहेको सरकार प्रवक्ता गोकुल बास्कोटाले बताएका छन् ।

बिहीबार नियमित पत्रकार सम्मेलनका दौरान सूचना तथा संचार प्रविधि मन्त्रालयमा बास्काटोले यस्तो बताएका हुन् । उनले भने, ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको हार्दिक निमन्त्रणा दिएका छौं ।’

सरकारका अहिलेका गतिविधिले नेपाललाई अन्र्तराष्ट्रिय मञ्चमा देखिने र सुनिने देशका रुपमा स्थापित गरिरहेको उनको भनाई छ ।

परराष्ट्र मन्त्रीले रुसका राष्ट्रपतिलाई नेपालका राष्ट्रपति विद्यादेवि भण्डारीको औपचारिक निमन्त्रणा पत्र बुझाइसकेका छन् ।

समय क्रममा यसको नतिजा देखिने भन्दै उनले नेपाल संसारका शक्ति सम्पन्नदेखि सबै राष्ट्रसँग मित्रता चाहने उनको भनाई थियो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि सरकारको आत्मविश्वास समेत निकै बढेको छ ।

नेपालमा संसारकै शक्तिशाली देशका अतिविशिष्ठ पाहुनालाई स्वागत गर्दा त्यसले मुलुकको छविमा समेत सकारात्मक प्रभाव पार्छ । चीनका राष्ट्रपतिपछि बंगलादेशका राष्टपतिले नेपालको चार दिने भ्रमण गरिसकेका छन् ।