मनोरञ्जन

सागको उद्घाटन राष्ट्रपतिबाट, सांस्कृतिक कार्यक्रमसहित ३ घण्टाको औपचारिक समारोह

काठमाडौं । करीव दुई दशकपछि दक्षिण एसियाली खेलकुदको महाकुम्भ दक्षिण एसियाली खेलकुद (साग) नेपाल आइपुगेको छ ।

१३ औं सागको आयोजकको हैसियतमा नेपालले अन्त्राष्ट्रिय स्तरमा आफ्नो छवि प्रस्तुत गर्ने मौका पनि यो हो । त्यसकारण सरकारले १३ औं सागलाई ऐतिहासिक र भव्य बनाउने तयारीलाई तिब्र बनाएको छ ।

१५ मंसिर अर्थातः आगामी आइतबार सागको औपचारिक उद्घाटन हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सागको औपचारिक उद्घाटन हुनेछ । २४ मंसिरमा समापन हुने सागका खेलहरु भने बुधबारबाट शुरु भइसकेका छन् ।

सागका खेल काठमाडौं, पोखरा र जनकपुरमा आयोजना गरिएका छन् । औपचारिक समापन समारोहमा नेपालको इज्जत, प्रतिष्ठा र खेलक्षेत्रको गौरव उकास्ने गरी भब्य तयारी गरिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

उक्त दिन करिब सवा तीन घण्टाको उद्घाटन समारोह हुने भएको छ । यस अवसरमा सहभागी मुलुकका खेलाडीले मार्च पास गर्नेछन् ।

सो अवसरमा नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम आयोजकको तर्फबाट प्रस्तुत हुने भएको छ ।

उद्घाटन समारोहमा १५ हजार भन्दा बढी दर्शकलाई सहभागी गराउने योजना रहेको छ ।

प्रतियोगितामा भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान, श्रीलंकाका खेलाडी, पदाधिकारी तथा अन्य सरोकारवाला नेपाल आइपुगेका छन् । विदेशी सहभागी मात्र करिब पाँच हजारको सङ्ख्यामा रहेको बताईएको छ ।

उनीहरुलाई काठमाडौंका विभिन्न होटेलमा बासको व्यवस्था मिलाइएको छ । यस समारोहलाई नेपाल टलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

यस च्यानलको प्रसारा दक्षिण एसियाली मुलुकसहित विश्वका १५ भन्दा बढी मुलुकमा प्रत्यक्ष प्रसारण हेर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।