समाचार

उपनिर्वाचन अपडेट : मतदान सम्पन्न, शनिबार रातीबाटै गणना

काठमाडौं । एक स्थानमा प्रतिनिधिसभासहित ५२ स्थानका लागि भएको उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ । सबै तहको मतदान सम्पन्न भई अहिले मतपेटिका संकलनको काम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

कास्की २ मा प्रतिनिधिसभा निर्वाचन भएको हो । उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ (ख)मा मतदान भएको हो ।

धरान उपमहानगरपालिकासहित केही स्थानीय तहका प्रमुख र वडाध्यक्षका लागि पनि मतदान सम्पन्न भएको छ । उपनिर्वाचनका दौरान कास्कीमा बम विस्फोट भएपनि त्यसले ठूलो क्षति गरेन ।

त्यसबाहेक शान्तीपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ । ५२ वटै स्थानमा भएको मतदानमा करिब ७० प्रतिशत मतदान भएको अनुमान आयोगको रहेको छ ।

मतदान बिहान सात बजेबाट सुरु भएको थियो । कतिपय स्थानमा भने शनिबार साँझैबाट मतगणना शुरु गरिने भएको छ ।