फिचर

आजदेखि श्रम स्वीकृतिको टोकन अनलाइनबाट

File

काठमाडौं । आजदेखि श्रम स्वीकृति लिन लामो लाइन बस्नु पर्ने छैन ।

घरबाटै अनलाइनमार्फत भरेको श्रम स्वीकृतिका आफ्नो पालो आएको दिन गएर सजिलै लिन सकिने गरी वैदेशिक रोजगार विभागले अनलाइन प्रणाली शुरु गरेको छ ।

पहिलो पटक कायान्वयनमा आएको यो प्रणाली आजबाट शुरु भएको हो । वैदेशिक रोजगारसाग सम्बन्धित हरेक कामहरु अनलाइन प्रणालीमा लैजाने योजना विभागको रहेको छ ।

सोहीअन्तर्गत पहिलो चरणमा श्रम स्वीकृतिको टोकन अनलाइनबाट वितरण गर्न लागिएको हो ।

श्रम स्वीकृतिका लागि अनलाइन फाराम भर्ने वित्तिकै आवेदनकर्ताले श्रम स्वीकृति पाउने दिन थाहा पाउँछन् ।

आफूलाई पायक पर्ने कार्यालय रोजेर त्यहा पुगी सजिलै श्रम स्वीकृति लिन सकिने गरी प्रणाली विकास गरिएको छ ।

अब श्रम स्वीकृतिमा सहजिकरण गर्छु भन्दै सक्रिय हुने दलालहरुको काम भने अन्त्य भएको छ । कर्मचारीले पनि दलालमार्फत खाने कमिसन बन्द भएको छ ।

जुन कार्यालयमा छिट्टै पालो आउँछ, त्यही कार्यालय रोजेर सेवाग्राहीले श्रम स्वीकृति लिन सक्ने भएका छन् ।

प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को काठमाडौँ ९ताहचल, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीबाट श्रम स्वीकृति हुने गरेको छ ।

श्रम स्वीकृतिको फाराम बुझाइसकेपछि कुनै कारणले श्रम स्वीकृति अस्वीकृत हुने भएमा वा थप कागजात चाहिने भएमा भने मोबाइलमा म्यासेज आउने विभागले उल्लेख गरेको छ ।

श्रम स्वीकृतिको फारम भर्दा वास्तविक मोबाइल नम्बर र इमेल राख्नु पर्ने हुन्छ । अब वैदेशिक रोजगारीका क्रममा लाग्ने खर्च समेत विद्युतीय प्रणालीबाट भुक्तानीको प्रणाली समेत अन्तिम चरणमा रहेको विभागले जनाएको छ ।

विद्युतीय भुक्तानी प्रणाली लागू भएपछि बीमा र कल्याणकारी कोषको रकम तिर्न बैंकमा धाृनु पर्ने छैन ।