05-Dec-2019 | १९ मंसिर २०७६, बिहीबार

नारायण गोपाललाई सम्झिन पुण्यतिथि नै चाहिन्छ र ?

१५ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर

नारायण गोपाललाई उदृत गर्दै दाहाल थरका एक प्रशसकले हालै फेसबुकको भित्तोमा लेखे– यो धर्तीमा नारायण गोपालको गीत छ र मेरो जीवन छ । तिनै नारायण गोपाल हुनु, जस्ले कालिप्रसाद, दिनेश अधिकारी, नागेन्द्र थापा र भैरवनाथ रिमालजस्ता त्यतिबेलाका मसिना गीतकारलाई स्थूल बनाए । जस्ले एउटा जाती भन्दा सिङ्गो देशको लागि सुमधुर स्वर अंकित आफ्नो गला चढायो । धेरै अवसर सृजना हुँदाहुँदै पनि, जस्ले हिन्दी गीत एउटा पनि नगाई राष्ट्रियता निभाए । जो आफै नेवार भएर पनि नेवारी गीत जीवनमा विरलै गाए । उनी एक जातिमा खुम्चिएको गायक थिएन तर पनि उनलाई एक जातीको गायकलाई जस्तो उपेक्षित गरेको हो कि जस्तो महसुस कहिलेकाहीँ हुन्छ । कटुसत्य हो, नारायण गोपालको अन्तिम बिदाइको लागि जसरी जनलहर उठ्यो सम्भवतः राजनीतिमा त्यस्तै लहर एउटा व्यवस्था नै फेर्नका लागि मात्र उठेको देखिन्छ । राज्यले पनि स्वरसम्राटलाई एउटा आम ब्यक्तिजस्तो चितामा सेलाएपछि बिर्सदै जानु दुखदायी पाटो हो ।

नेपाली संगीत इतिहासमा कहिल्यै मेट्न नसक्ने एक अमिट नाम हो – नारायण गोपाल । नारायण गोपालको भौतिक कायाले बिश्राम लिएको आज तीस बर्ष पुगिसकेको छ तर पनि उनको गलाको सुमधुर आवाज अझै पनि उतिकै कर्णप्रिय छ । हुन त नारायण गोपालद्वारा संख्याको हिसाबमा थोरै गाइएका छन्, परन्तु प्रत्येक गीतको आफ्नै अमरता छ । यसैले त उनी भन्छन् – मेरो गीत मेरै प्रतिबिम्व होइन । जो टुटिजाने हैन, फुटिजाने हैन । आकाश जस्तो अमर गीत यो मेरो । म जस्तो दुईदिनको पाहुना हैन ।

नारायण गोपाललाई जे जसरी बिश्लेषण गरुन् । तर जिउँदा हुञ्जेल राज्यबाट उपेक्षित उनी पनि एक कलाकार हुन् । स्वरसम्राटको उपाधि पनि मृत्युपश्चात मात्र पाए । मृत्यु पछि मात्र कदर गर्ने परिपाटीको उनी पनि शिकार भए । जीवनभरि संगीतमा साधना गरी, भौतिक रुपमा नष्ट भइसकेपछि सालिकमा चुलाइयो । फूलको मालाले बर्षमा एकपटक सिंगारिन्छ । नारायण गोपाललाई मंसिर १९ ले मात्र संस्मरण गर्ने श्रृंखला अझै पनि टु्टेको छैन । यस्ता महान् श्रष्टालाई अव सँधै सम्झिने परिवेश बुन्नुपर्छ । यस्का लागि उनका कालजयी गीतहरुलाई सवै एफएमले अनिवार्य प्रशारण गर्ने पनि नियम पनि बनाउन सकिन्छ । अझ, हरेक रेडियोका च्यानलहरुले पहिलो गीत नै नारायण गोपालको गीतबाट शुभारम्भ गर्नु पर्दछ भनेर नीति नै बनाए नारायण गोपालप्रतिको सम्मान अझ उच्च हुन्छ । साथ साथै, उनको योगदानको चर्चा दिनहुँ गर्न सकिन्छ ।

नारायण गोपाल नै हुन, जसले गीतकार कालीप्रसाद रिजाललाई गोरखापत्रको शनिवारीय परिशिष्टांकबाट रेडियो नेपालसम्म पुर्याए ।क्षेत्रप्रतापको लालीगुँरास देशभरि उनैले फुलाए । ईश्वर बल्लभको बेहोशी पनि उनैले चिनाए । रत्नशम्शेर थापाको ठठ्ठामा बैँश जान लागेको सुइँको पनि उनैले लाए । यतिमा मात्र सिमित नभई, प्रवासी मित्र गोपाल योञ्जनसँग मित लाएर उनले उनको संगीतमा दर्जनौं सुमधुर स्वर दिए । गोपाल योञ्जनको कला र नारायण गोपालको गलाले नेपाली संगीतमा थुप्रै कालजयी गीतहरु प्रवाह गरेका छन् । जातीयताको घेराभन्दा माथि उठेर, संगीतमा कुनै बाहुन, क्षेत्री, नेवार, राई हुँदैन भनी नारायण गोपालले उहिल्यै चरितार्थ गरेका हुन् ।

यदि नेपाली संगीतको इतिहासमा दुई गोपालको संयोजन नभएको भए, नेपाली संगीतको इतिहासले अर्कै रुप धारण गर्थ्यो होला । आज नेपाली संगीतको जुन गौरवशाली इतिहास छ, ती दुई गोपालको त्यस्मा अथक योगदान छ । यस्को लागि मितेरीको आगो बालिदिने गीतकार ईश्वर बल्लभलाई पनि उतिकै श्रेय जान्छ । अलग – अलग भूगोलमा सास फेर्ने ती दुई गोपालको मित्रताले, मित्रतामा भूगोल र जाति छेकबार नहुने पाठ दिन्छ । यीनै दुई गोपाल, नारायण गोपाल र गोपाल योञ्जनले छोडेका पाइलाको डोब पछयाउनु अहिलेको नयाँ पुस्ताको कर्तव्य हुनुपर्छ ।

नारायण गोपाल यही काठमाडौँको खाल्टोमा जन्मे, हुर्के । यसैले नेपाल भाषा उनको मातृभाषा हुन गयो । सामान्य बोलिचालीमा, उनी नेपाली भाषा बोल्दा त्यस्मा नेपाल भाषाको चियो पर्न आउँछ, तर तीनै सरस्वतीका पुत्र जव सरगममा लिप्त हुन्छन् जस्तै मै हुँ भन्ने क्लिष्ट शब्दहरु पनि शुद्ध उच्चरित हुन्छ । यो एउटा अर्को चमत्कार थियो, नारायण गोपालको । यसैको ज्वलन्त उदाहरण हो, कवि सिद्धिचरण श्रेष्ठको ओखलढुंगा । तरु, लतिका, कुसुमाकर र मृगसावकजस्ता कठिन भन्दा कठिन शब्दहरु कति मृदु सुनिएका छन, उनको गलाबाट । त्यस्तै एक प्रसंग, भैरवनाथ रिमालले लेखेको एक गीत ‘जुन फूल मैले चाहेको थिएँ’ मा एक ठाउँमा शब्दअनुसार ‘चाह’ हुनुपर्ने तर नारायण गोपालले रेकर्डमा ‘चाहि’ गाइदिँदा कालान्तरमा त्यही चाहिँ पनि गीतभित्र गैरअर्थ दिने भए पनि अमर बनेको हामी बिर्सन सक्दैनौ ।

नारायण गोपालले जीवनमा अन्तरजातीय विवाह गरे । त्यो बेलाको समाजको लागि यो अपाच्य बिषय थियो । तर उनी आफ्नो प्रेममा अडिग बने । उनको र पेमला लामाको चिठ्ठीका भावनाबाट पुष्पित भएको प्रेम आजको समयमा कल्पनामा पाउन पनि मुश्किल छ । शारीरिक आकर्षण र रुपै रुपको चर्चामा रुमलिएको आजको पुस्ताको प्रेम नारायण गोपालको आदर्श प्रेमसामु निकै होचो छ । पेमला लामाले एकपटक भनेकी थिई – आज पनि नारायण गोपालको सालिक भएर जाँदा, उनको सालिक पानीले रुझेको रहेछ भने छाता ओढाइदिन मन लाग्छ । यस्ता संस्मरणलाई अंगीकार गर्दा आज पनि हामीभित्र, स्वदेशभित्रै एक महान् कलाकारको महान् प्रेमलाई बिर्सेर हामी भारतमा गई आगराको माटो त खोस्री बसेका छैनौ ? जस्ता थुप्रै प्रश्न सृजित हुन्छ । यसैले नारायण गोपाल प्रेमको पनि प्रतीक हो, जुन उनको बिर्सिएको पाटो हो ।

मेरो वैयक्तिक प्रभावको हिसावमा, नारायण गोपाल जति देशभक्त गायक कोही छैन उनले जति पनि गीत गाए कि देश गाए कि देशको लागि गाए । आमा तिमीलाई होस् कि म मरे पनि मलाई मेरो देशको माया नै किन नहोस्, त्यति राष्ट्रियता घुलेकोे विश्वमा अरु कुनै गान छ जस्तो लाग्दैन । हामीले नजिकको तिर्थ हेला भन्या जस्तो नारायण गोपालको स्वरको मिठास नचिनेका हौँ, राष्ट्रको गीत गाउँदा स्वरमा उर्लेको प्रेम नचिनेका हौँ । नारायण गोपालको गीतको विरहलाई हृदयबाटै चिन्ने हो भने साँच्चै आँसुका बुँद उत्सर्ग नगरी हामी कदापि बस्नै सक्दैनौँ ।

नारायण गोपाल आफैमा थुप्रै सौखहरुको थुप्रो थियो । उनी चेस खेल्छन् । राती रातीसम्म फुटबल हेर्छन । मिष्ठान्न परिकार पकाउँछन् । गीत साधना गर्छन् । मदिरा पिउँछन् । जीवनका यस्ता सुन्दर र असुन्दर रुचिहरुले गर्दा उनको जीवनमा उतारचढाव धेरै नै आए । मदिरा पिउने बानीले उनको आयु पुड्कियो तर संगीत साधनाले अग्लिए पनि । के उनी जस्ता गायक फेरि जन्मिएलान ? जन्मिँदै जन्मिँदैन भनी अड्कल गर्न त सकिन्न तर युगौयुग नै भुक्तान गर्नुपर्नेछ । यस्ता महान् गायकलाई दिनहुँ सम्झौँ, उनका वारेमा लेखौँ । मंसिर उन्नाइस र नारायण गोपाल परिपूरक हुने सिक्काको दुई पाटाको शैलीलाई घृणा गरौँ । उस्को मृत्यु दिवशलाई मात्र कल्पने परिपाटी नै गलत छ । नारायण गोपाल मरेको छैन र कैल्यै मर्दैन पनि । बरु उनीमाथि अझै पनि अन्यायको भार छ । न्याय नै गर्ने हो भने आऔँ उनका गीतलाई सँधै प्रेम गरौँ, र उनलाई पनि दिनहुँ लेखौँ र सम्झौँ । के नारायण गोपालजस्ता महान गायकलाई सम्झिन् पुण्यतिथि नै चाहिन्छ र ? थाहा छ, मंसिर उन्नाइसमा कलम चलाए आममानिसको सहानुभूति बढी नै आउँछ, तर मसिर उन्नाइस उनको पुण्यतिथि दिवश मात्र हो, तर बाँकी ३६४ दिन उनको स्मृति दिवश बनाउन सक्छौं ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार