समाचार

कास्की २ मा विद्या भट्टराई विजयी

पोखरा । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा कास्की २ बाट विद्या भट्टराईले विजय हाँसिल गरेकी छिन् । उनले नेपाली कांग्रेसका खेमराज पौडेलभन्दा ८ हजार ४ सय ३ बढी मत प्राप्त गर्दै विजयी हाँसिल गरेकी हुन् ।

उनी नेकपाकी उमेदवार हुन् । विद्याले २४ हजार ३ सय ९४ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाए ।

समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ ।

विद्या स्वर्गीय मन्त्री रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । अधिकारीको निधनसँगै खाली भएको निर्वाचन क्षेत्रमा उपनिर्वाचनमार्फत सदस्य थप गरिएको हो ।

यसमा नेकपाको एक सीट सुरक्षित समेत बन्न सफल भएको छ । राजनीतिक पृष्ठभूमीकी विद्याको रवीन्द्र सँग बिवाह भएपछि भने उनी शिक्षण पेशामा आवद्ध भई सक्रिय भएकी थिइन् ।

अहिले उनको राजनीतिमा पुनरावगमन भएको छ । आफू पराजित भएसँगै कांग्रेस उमेदरवार पौडेलले भट्टराईलाई फूलमाला लगाएर बधाई दिए । उनले ट्वीट गर्दै रामो गर्दै जानु भन्ने सन्देश समेत दिएका छन् ।