समाचार

प्रधानमन्त्री ओली यूरोप भ्रमणमा निस्कदै

१९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यूरोप भ्रमणमा निस्कने भएका छन् । प्रधानमन्त्री ओलीले आगामी जुन ८ देखि १९ सम्म यूरोपका विभिन्न मुलुकको भ्रमण गर्ने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले प्रधानमन्त्रीको यूरोप भ्रमणको सम्पूर्ण तयारी पुरा भएको समेत जानकारी दिए । परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार प्रधानमन्त्री अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकीका अवसरमा आयोजना हुने समारोहमा भाग लिन जु ९ देखि १० सम्म स्वीट्जरल्याण्डमा रहनेछन् ।

उक्त समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको बताइएको छ । जेनेभामा रहँदा प्रधानमन्त्रीले विभिन्न मुलुकका राष्ट्राध्यक्षसँग भेटवार्ता गर्ने तय भएको मन्त्रालयले उल्लेख गरेको छ ।

त्यसपछि प्रधानमन्त्री ओली बेलायत भ्रमणमा जानेछन् । बेलायतमा १० देखि १२ जुनसम्म रहने परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए । बेलायत भ्रमणमा रहँदा प्रधानमन्त्रीले थेरेसा मेसँग भेट वार्ता गर्नेछन् । अक्स्फोर्ड विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा १० जुनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

१२ देखि १४ जुनसम्म भने प्रधानमन्त्री फ्रान्स जाने कार्यक्रम तय भएको छ । फ्रान्समा रहँदा प्रधानमन्त्री ओलीले समकक्षी एडवार्ड फिलिपसँग भेटवार्ता गर्नेछन् ।