फिचर

सागमा आज २० स्वर्णको छिनोफानो

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा मंगलबार पनि विभिन्न विद्याका प्रतिस्पर्धा हुँदैछन् । यस दिन कूल २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने कार्यतालीका रहेको छ ।

आज भलिबलका दुबै फाइनल इभेन्ट हुँदैछन् । पुरुषतर्फ भारत र पाकिस्तान उपाधी भिडन्तमा हुनेछन् । महिलातर्फ नेपाल र भारतले प्रतिस्पर्धा गर्ने कार्यक्रम रहको छ । महिला भलिबल फाइनल दिउँसो चार बजे राखिएको छ ।

मंगलबारदेखि एथलेटिक्सका इभेन्ट प्रारम्भ हुँदैछन् । एथलेटिक्समा १,५०० मिटर पुरुष र महिला, सटपुट पुरुष र महिलाको खेल हुने कार्यतालिका छ । एथलेटिक्समा एक सय र चार सय मिटर दौड तथा हर्डल्सका हिट मंगलबार नै हुनेछन् ।

कराँतेमा ६ वटा स्वर्णको आज छिनोफानो हुँदैछ । पुरुषतर्फ ६० केजी मुनि, ६७ केजी मुनी र ७५ केजी मुनिको प्रतिस्पर्धा हुँदैछ ।

महिलामा ५५ केजी मुनि, ६१ केजी मुनी र ६८ केजी मुनिमा प्रतिस्पर्धा हुने कार्यक्रम छ । उसुमा महिला र पुरुषको चाङक्वानमा दुई स्वर्णका लागि आज प्रतिस्पर्धा हुँदैछ ।

टेबल टेनिसमा पुरुष र महिलाको टिम इभेन्टका खेल आजै हुनेछन् । ट्रायाथलन मिक्सड रिलेको फाइनल पनि मंगलबार हुँदैछ । फुटबलमा नेपाल र भुटान प्रतिस्पर्धा गर्दैछन् । यो खेल दशरथ रंगशालामा दिउँसो एक बजे राखिएको छ ।

बंगलादेश र माल्दिभ्स साँझ पाँच बजे भिड्नेछन् । महिला फुटबलमा नेपाल र श्रीलंका तथा भारत र माल्दिभ्स खेल्ने कार्यक्रम रहेको छ । मंगलबारदेखि पुरुष क्रिकेट पनि सुरु हुनेछ । पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाको यू–२३ टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरामा महिला क्रिकेट समेत आजै प्रारम्भ हुँदैछ । जहाँ श्रीलंका र बंगलादेश भिड्ने कार्यक्रम रहेको छ । मंगलबारदेखि सातदोबाटोको सुटिङ रेन्जमा सुटिङका प्रतिस्पर्धा शुरु हुनेछन् ।

सुटिङमा महिलाको १० मिटर एयर राइफल तथा महिला र पुरुषको थ्री पोजिसन राइफलका खेलहरु सम्पन्न हुनेछन् ।

लन टेनिसमा टिम इभेन्टका सेमिफाइनलका खेल आजै हुनेछन् । गल्फका खेल पनि मंगलबारदेखि नै सुरु हुदैछन् । खोखोका सेमिफाइनल खेल आज हुनेछन् । आइतबारबाट औपचारिक रुपमा शुरु भएको सागमा १५ स्वण जित्दै नेपाल पहिलो स्थानमा रहेको छ ।