समाचार

रंगशाला निर्माण विवादमा धुर्मुसले मागे माफि

काठमाडौं । हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस)ले चितवनमा निर्माण हुने गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानको विषयमा भएको विवाद र त्यसपछि आफूहरुले दिएको प्रतिक्रियाप्रति माफी मागेका छन् ।

क्रिकेट मैदानको बारमा स्थानीयले डोजर लगाएपछि विवाद उत्पन्न भएको थियो । त्यसक्रममा कुन्जना घिमिरे (सुन्तली)ले स्थानीयप्रति दिएको अभिव्यक्तिको सामाजिक संजालमा व्यापक विरोध भएको थियो ।

धुर्मुसले आइतबार आधिकारिक फेसबुक पेजमा सार्वजनिक अपिल राख्दै अज्ञानतावश भएको भूलप्रति क्षमा मागेका हुन् ।

रंगशालाले घेरेको क्षेत्रमा लगाइएको छेकबार स्थानीयले डोर लगाएर भत्काएपछि विवाद शुरु भएको थियो । अहिले भने स्थानीयले समेत क्षमायाचनासहित सहमति गरिसकेपछि आयोजना पुनः अगाडी बढेको छ ।

धुर्मुसका अनुसार रंगशालाको डीपीआर नआइसकेको अवस्थामा पनि अहिले निर्माण सामग्रीको जोहो गर्न थालिएको छ ।

बन्दै गरेका संरचना तथा निर्माण सामग्रीको सुरक्षाका लागि रंगशाला निर्माण स्थलको तीन तर्फ छेकबार गरिएको र एकतर्फ स्थानीयकै भावनालाई मध्यनजर गरी छेकबार नगरिएको धुर्मुसले उल्लेख गरेका छन् ।

यस्तो छ धुर्मुसले सार्वजनिक गरेको अपिल

नमस्कार, जे नहुनु थियो, त्यो भयो । यो समयमा हामीलाई साथ दिने, सहयोग गर्नुहुने, सहानुभूति प्रकट गर्नुहुने, हौसला प्रदान गर्नुहुने सम्पूर्ण अग्रज ब्यक्तित्वहरु, सहयोगी मनहरु सहित सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी तथा नेपालीभाषीहरुमा हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहन्छौं ।
धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भई भरतपुरको चितवनमा निमार्णाधीन अवस्थामा रहेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’का सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचार साथै ती समाचारमाथिका क्रिया प्रतिक्रियाका बारेमा ध्यानाकर्षण गराउन चाहन्छौं । केही व्यक्तिहरूको अगुवाइमा रंगशालाको घेराबारामा डोजर लगाई गरिएको भौतिक क्षतिप्रति हामी पुनः दुःख व्यक्त गर्दछौँ ।
रंगशालाको डीपीआर आइनसकेको अवस्थामा निर्माण सामग्री सुरक्षा तथा ग्राउण्डको काम साथै केही भौतिक संरचना बनिरहेको अवस्थामा निर्माण स्थल सुरक्षाका लागि ४ महिना अगाडि नै तीनतिर जस्ताले बेरबार गरे पनि सो साइडतिर स्थानीयकै भावनालाई नै मध्यनजर राखेर बेरबार हुन सकिरहेको थिएन । र निर्माण स्थलमा भएका सामाग्रीको सुरक्षाका लागि स्थानीय टोल विकास संस्थाका अगुवा ब्यक्तिहरुको सल्लाह अनुसार र सहमतिअनुसार नै घेराबारा गरिएको थियो । र स्मरण गराउन चाहन्छौं, कृषि तथा वन विज्ञान विश्वविद्यालयले सो ठाउँमा पहिलेनै काँडेतारको बार लगाएको थियो ।
सो भन्दा १ मिटरभित्रबाटै हामीले महानगर र वडालाई समेत जानकारी गराई र महानगरपालिकाले डीपीआर आइसकेपछि मात्रै कुन बाटो फराकिलो बनाउने, कुन बाटो प्रयोगमा ल्याउने निर्णय गरिनेछ र निर्माणस्थल सुरक्षित राख्न, अगाडि बढ्न पत्राचार गरेकै आधारमा स्थानीयको सल्लाह बमोजिम नै जस्ताको बार लगाउन सुरु गरेका थियौं ।
बारको छेउमा कुनै चल्तीको बाटो पनि नरहेको र महानगरपालिका र वडाले यति मिटर बाटो हुनुपर्ने भनेर कुनै पनि निर्देशन नगरिरहेको अवस्थामा भ्रममा परी केही व्यक्तिले उचालेको कारणले जुन क्षति पुग्न गएको छ त्यसप्रति हामी अत्यन्त दुखी भएका छौँ । देश विदेशमा बसेर अघाउँजी नखाइ पसिना बगाइरहेका श्रमशील दाताबाट प्राप्त रकमले निर्माण गरिएको उक्त भौतिक संरचनामा प्रहार गर्दा आज कसैको जीत नभएको र दाताको पसिनाको अपमान भएको हामीले महसुस गरेका छौँ । खेलप्रेमी व्यक्ति एवम् खेलाडीहरूका मनमा चोट लागेको कुरा अनुभव गरेका छौँ ।
हाम्रो कसैप्रति कुनै पूर्वाग्रह पनि छैन र रहने पनि छैन । मानिसबाट कहिलेकाहीँ कमजोरी हुन्छन् हामी स्वीकार गछौँ । कमजोरी भए सच्याएर अगाडि बढ्ने कुरामा पनि प्रतिबद्ध छौँ । अहोरात्र खटिरहँदा सहयोगी मनहरुको रगत र पसिनामाथी डोजर चल्दा जो पनि आक्रोशित हुनु स्वभाविक हुन्छ ।
हामीले आक्रोशमा आएर अन्जानमा केही गलत बोलेको भए वा कसैमाथि ठेस पुगेको भएमा हामी क्षमाप्रार्थी छौं । जसले घटना घटायो, हाम्रो अभिब्यक्ति उसमा मात्र लक्षित हो । स्थानीय प्रति हाम्रो केही गुनासो छैन । साथै काम गर्दै जाने क्रममा हामीबाट पनि कुनै त्रुटि भएका हुन सक्छन् । उद्देश्य पवित्र राख्दाराख्दै पनि कसैको मनमा चोट लागेको हुनसक्छ । अज्ञानतावश भएका त्यस्ता भुलप्रति हामी क्षमाप्रार्थी छौँ । मानिस हरेकको विचार भिन्न रहने भएकाले हामीसँग कसैको फरक मत पनि हुन सक्छ ।
हामी त्यसको पनि सम्मान गर्दछौँ । कुनै विमति भए वार्ता र छलफलबाट निराकरण गर्न सकिन्छ । विध्वंस कुनै पनि कुराको निकास हैन हामी यसमा विस्वस्त छौँ । विनास र विध्वंसमा लाग्ने ऊर्जालाई विकासमा लगाउन अनुरोध पनि गर्दछौं ।
हामीले निजी स्वार्थ राखेर यो काम गरेका हैनौ । यदि कसैमा यसको बुझाइ फरक परेको भए यो देशको गौरव र धेरै नेपालीको भविष्यसँग गाँसिएको विषय हो भन्ने कुरा बुझाउन चाहन्छौँ ।
हामीले त्यति धेरै गरीवका घर, पीडितका बस्ती बनाईरहँदा केही भूमिहीनहरुलाई जग्गा खरिद गरेर समेत एकीकृत नमुना बस्ती बनाएर आएका अभियन्ता भएको हुनाले कसैको घर ध्वस्त पार्ने, जग्गा रित्याउने र कसैलाई सुकुम्वासी बनाउने बिल्कुलै मनसाय होईन् । कसैको घर जग्गा बाटोमा जान्थ्यो भने पहिलो आवाज उठाउने ब्यक्तिनै हामी हुन्थ्यौं ।
सो ठाउँमा रङ्गशालाकै कारणले कसैको जग्गा जाने, कसैको घर उठिवास हुने अवस्था पनि छैन । र हाम्रो संकल्प कसैलाई सुकुम्बासी बनाउन, नकारात्मक प्रभाव पार्ने उद्देश्यले नभएर सबैको हितलाई केन्द्रमा राखेर यो काम आँटेका हौं । काममा बाधा व्यवधान नआउने हो भने हामी भनेकै मितिमा पूरा गर्न सक्नेछौं । ज्ञानबस वा अज्ञानतावश जसले यो गल्ती गरेको भए पनि आगामी दिनमा नगरिदिनुहुन अनुरोध गर्दछौं । रंगशालाको पक्ष र विपक्ष भएर एउटै परिवारका हामी सबै नेपाली विभाजन नभइदिन र अनावश्यक झैझगडामा नलागीदिन हामी सबैमा आग्रह गर्दछौं ।
अन्त्यमा, जे नहुनु थियो त्यो भयो । अब त्यसमा पछुतो, वादविवाद र टिकाटिप्पणी गरेर घटनालाई गिजोल्ने गरेर समय व्यतित गर्नुभन्दा आगामी दिनमा यस्तरी कसैको पसिनाको अपमान हुने र अरु कसैको नोक्सानी हुने काममा नलागीदिन र अभियानको अभियान्ता बनिदिनुहुन पनि हामी सम्पूर्णमा आह्वान गर्दछौँ ।
साथै स्थानीय महानुभावहरुले हामीलाई बार लगाइदिने र काम सुचारु गर्न वातावरण तयार गर्ने प्रतिबद्धता जनाइसक्नु भएकाले गर्दा स्थानीय महानुभावहरु, भरतपुर महानगरपालिका साथै नेपाल सरकारलाई छिटो भन्दा छिटो रङ्गशालाको काम अगाडि बढाउन अनुकुल बातावरण सिर्जना गरिदिनुहुन अनुरोध गर्दछौं । सो भएमा हामी चाँडै पहिले जस्तै काममा फर्किने पनि जानकारी गराउन चाहन्छौं ।