रोचक खवर

ठूलो पशुबली दिने मेला गढीमाई शुरु

बारा । सबैभन्दा ठूलो पशुबलीका रुपमा संसारभर चर्चित गढीमाई मेला मंगलबारबाट शुरु भएको छ ।

सोमबार राति मुख्य पूजा सम्पन्न भएसँगै मंगलबार बिहान मन्दिरमा पञ्चबली दिइएको थियो । यससँगै गढीमाई मेलाको मूख्य आकर्षणको रुपमा रहेको पशुबली शुरु भएको छ ।

मेलामा भाकल अनुसार पशु ल्याएर देवीका नाममा बली दिने प्रचलन रही आएको छ । पञ्चबलीमा बोका, कुखुरा, परेवा, मुसा र राँगा बली दिने गरिन्छ ।

यस मन्दिरमा मूल पुजारी थारु समुदाय बाट हुने गर्छन् । मूल पुजारीको घरमा पुजा सकिएपछि सोमबार रातिबाट ब्रम्हस्थानमा पूजा सुरु गरिएको मेला आयोजक समितिले जनाएको छ ।

उक्त पूजा समापन भएपछि माईको मन्दिर अघि रहेको पुरानो त्रिशुल हटाएर नयाँ फेर्ने प्रचलन रहेको छ । त्यसपछि ब्रम्हस्थानमै पञ्चबली दिइएसँगै भक्तालुका लागि पञ्चबलीको साइत फुकेको हो ।

यस मन्दिरमा पशुबली अघि नरबली दिने समेत प्रचलन रहेको छ । नरबलीका रुपमा चौधरी समुदायका धामीले जिब्रो, आँखा मुनि, छाती, पाखुरा र तिघ्राबाट पाँच थोपा रगत झिकेर चढाउने गरिन्छ ।

मेला एक महिनाभर चल्छ । तर, पशुबलीको मूख्य दिन भने मंगलबार र बुधबार हो । गढीमाई मन्दिर बाराको महागढीमाई नगरपालिकामा पर्छ ।

गढीमाईको मेला हरेक पाँच–पाँच वर्षमा मंसिर शुक्ल सप्तमीदेखि आरम्भ हुन्छ । मेलामा नेपालसहित भारतबाट आउने भक्तालुले बढी पशुबली दिने गरेका छन् ।

यस मेलामा दिइने पशुबली रोक्ने पशुअधिकारकर्मी सक्रिय रहेका छन् । स्थानीय सरकारले पनि पशुबलीलाई प्रोत्साहन नगर्न सचेत गराएको छ । तर, मानिसको आस्थासँग जोडिएको विषय भएकाले सोझै हस्तक्षेप गर्न भने सकिएको छैन ।