विश्व

३६ कूटनीतिक नियोगका प्रमुखलाई भ्रमण वर्षको ब्रिफिङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गर्न नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गरेका छन् ।

मन्त्री भट्टराईले राजदुत र बैदशिक साझेदार संस्थाका प्रमुखलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरी सामूहिक भेट गरेका थिए ।

सरकारको विदेश सम्बन्धमा पर्यटन कुटनीति महत्वपूर्ण हुने भन्दै मन्त्री भट्टराईले त्यसका लागि पहल थालिएको बताएका छन् ।

उनले भ्रमण वर्ष–२०२० सफल पार्न नेपालस्थित राजदूतहरुको भूमिका महत्वपूर्ण हुने भन्दै भट्टराईले भ्रमण वर्षको बारेमा विश्वभरी सुचना तथा सन्देश प्रवाहका लागि अनुरोध गरे ।

‘नेपाल भ्रमण वर्ष–२०२० को बिषयमा आफ्नो मुलुकमा सकेसम्म बढी सन्देश प्रवाह गरी यहाँहरुको देशका नागरिक पठाइदिन लागि अनुरोध गर्छु । मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष—२०१९ र क्रिसमस नेपालमै मनाउनुहोस् । यो सन्देश तपाईको देशको नागरिकसम्म पनि प्रवाह गरीदिनुहोस्,’ उनले भने ।

सम्बन्धित देशका पर्यटन मन्त्रीहरुलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थीतिको लागि निमन्त्रणा पठाइसकिएको जानकारी समेत मन्त्री भट्टराईले उक्त अवसरमा दिए ।

नेपाल २०७२ को भूकम्पले गरेका असर र प्रभावको पीडाबाट बिस्तारै उठिरहेको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसमा गरेको सहयोगप्रति पनि कूटनीतिक नियोगका प्रमुखसँग आभार व्यक्त गरेका थिए ।

भुकम्पबाट भत्किएका नेपालका ८९१ सम्पदा मध्ये ३८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेका जानकारी मन्त्री भट्टराईले दिएका थिए । बाँकी काम दुई वर्षमा सम्पन्न भई सम्पदा पुनर्निर्माण सम्पन्न हुने बताए ।

मन्त्री भट्टराईले आगामी २०२० मा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी भएको समेत जानकारी दिए । निजगढ अन्तराष्ट्रिय विमानस्थलको पनि प्रारिम्भक काम सकिएको उनले उल्लेख गरेका थिए ।

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्ने विमान कम्पनीलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी समेत उनले दिएका थिए ।

सहयोगको प्रतिवद्धता

कार्यक्रममा सहभागी राजदुतहरुले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटनहरुमा चीन दोस्रो रहेको बताउँदै नेपाल भ्रमण वर्ष सफल बनाउन सहयोग र साथको प्रतिबद्धता जनाइन् ।

अमेरिकी राजदुत ¥याण्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामाग्री उपलब्ध गराए ती सामाग्री आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अष्ट्रेलियाका राजदुत पिटर ग्रेम बड, जर्मनीका राजदुत रोलाण्ड साफर, जापानका राजदुत मासाभिची साइगो, संयुक्त राष्ट्रसंघका आवसीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडी लगायतले पनि भ्रमण वर्ष सफल बनाउन आफ्नो ठाऊँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।