अन्तर्वार्ता

मेरो जितले काँग्रेस मात्तिनु र नेकपा आत्तिनु पर्दैन ।

कृष्णलाल भँडेल
नवनिर्वाचित प्रदेश सांसद
क्षेत्र नम्बर १ (क), भक्तपुर

देशभरिका १ प्रतिनिधि सभा, ३ प्रदेश सभा, १ उपमहानगर, ४ गाउँपलिका र ४३ वडा अध्यक्षका लागि भएको चुनावमा पहिलो स्थान सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले हात पारेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दोस्रो स्थान पक्का गरेको छ । यी दुई दलबीच प्रतिष्पर्धा मात्र होइन सिट खोसाखोस पनि भएको छ । कांग्रेसले नेकपाबाट एक प्रदेशसभा र एक उपमहानगरपालिका खोस्न सफल भएको छ । अघिल्लो निर्वाचनमा नेकपाले जितेको भक्तपुर प्रदेशसभा काँग्रेसको पोल्टामा परेको छ भने धरान उपमहानगरपालिका पनि नेकपाबाट खोसेर काँग्रेसले कब्जा गरेको छ । इतिहासदेखि नै एकक्षत्र जित्दै आएको धरान उपमहानगरको नेतृत्व यो पटक नेकपाबाट फुत्किएको छ । एक प्रदेश र एक उपमहानगरमा नेकपाले हार व्यहोरे पनि कास्कीमा आफ्नो पुरानो ठाउँ सुरक्षित गरेको छ । दाङ र बागलुङमा पनि पहिला जितेका ठाउँ जोगाएको छ । यता गाउँपालिका तहमा भने नेकपाले अरूबाट सिट खोसेको छ । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष नेकपाले जितेको छ । दुई वर्षअघिको चुनावमा त्यहाँ राष्ट्रिय जनता पार्टीले चुनाव जितेको थियो । त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पनि नेकपाले जितेको छ । यो गाउँपालिका उसले नेपाली कांग्रेसबाट खोसेको हो ।
नेकपाले एक गाउँपालिका उपाध्यक्ष पनि कांग्रेसबाट आफ्नो पोल्टामा पारेको छ । हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्ष पहिला कांग्रेसले जितेको थियो । यसपालि नेकपाले जितेको छ । वडाअध्यक्षमा भने नेकपाले २०७४ को स्थानीय चुनावभन्दा २ सिट बढाएको छ । उसले कांग्रेसबाट सात वडाध्यक्ष खोसेको छ भने कांग्रेसले पनि नेकपाबाट ६ वडा आफूतिर तानेको छ । यसरी हेर्दा दुबै दलको हार–जितको टक्कर देखिएको छ । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ४ सय ४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् । नेमकिपाका निरज लवजुले ५ हजार ८ सय २९ मत पाएका छन् । यस अघिको निर्वाचनमा यो क्षेत्रबाट नेकपा विजयी भएको थियो । नेकपाको किल्ला तोड्दै विजयी भएका भँडेलसँग मोहन बास्तोलाले गरेको कुराकानी—

भक्तपुर क्षेत्र नम्बर १ (क) बाट १३ हजार ४ सय ४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । यो विजयलाई कसरी लिनुभएको छ ?

मैले यो विजयलाई भक्तपुर क्षेत्र नम्बर एक (क)का सम्पूर्ण मतदाता र जनताको विजयको रुपमा लिएको छु । उहाँहरुले जुन आशा, विश्वास र भरोसाका साथ मलाई विजयी बनाउनु भएको छ म यो सञ्चारमाध्ययम मार्फत धन्यवाद दिन चाहन्छु । साथै उहाँहरुको आशा र भरोसालाई मर्न नदिने गरी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छु । मैले यो मेरो मात्र विजयी होइन सबै भक्तपुर क्षेत्र नम्बर एक (क)का सम्पूर्ण मतदाता र जनताको विजयको हो भन्ने ढंगले नै काम गर्ने प्रण पनि गर्न चाहन्छु ।
हामीले निर्वाचनका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी गठबन्धन गरेका थियौँ । उहाँहरुले पनि जुन ढंगले साथ र सहयोग गर्नुभयो त्यो कुराप्रति पनि म आभारी छु । त्यसैगरी मेरो पार्टी नेपाली काँग्रेस जसले मलाई विश्वास गरेर उम्मेदवार बनायो र मतदाताले पनि विश्वास गरेर मलाई विजयी गराउनुभयो त्यो प्रति पनि आभारी छु ।

भनेपछि तपाईंप्रति यहाँका जनताको विश्वास रह्यो भन्ने नै देखायो यो निर्वाचनले होइन त ?

निश्चय पनि । म यही ठाउँमा लामो सयम विताएको व्यक्ति हुँ । यहाँका जनताको सुख, दुःख र भावना अनि मर्मलाई पनि मैले नजिकबाट चिन्ने अवसर प्राप्त गरेको छु । मलाई जहाँसम्म लाग्छ । त्यसको परिणाम पनि हो यो ।

अघिल्लो निर्वाचनमा नेकपाले जितेको स्थानमा यस पटक तपाईंले विजयी प्राप्त गर्दैगर्दा यो क्षेत्रका जनताले नेकपाभन्दा पनि काँग्रेसप्रति बढी विश्वास गरे भन्ने अर्थले पनि बुझ्न सकिन्छ ?

यो सत्य नै हो । त्योसँगै काँग्रेसका सबै साथीहरु एकतावद्ध ढंगले प्रस्तुत भएको परिणाम पनि हो, यो । सबै नेता, कार्यकर्ता र सुभेच्छुकहरु उपनिर्वाचनमा केन्द्रित भएर एक ढिक्का भएर नलाग्नु भएको भए यो परिणाम सायदै आउने थियो । मैले यसरी विजयी हुँदै गर्दा त्यो कुरालाई पनि मनन् गरेको छु ।

तपाईंलाई यसरी विजयी हुँदै गर्दा चुनौती पनि त थपिएको छ नि ?

यहाँले भनेका कुराप्रति म सतर्क छु । हो, मलाई अहिले यसरी विजयी हुँदै गर्दा अवसर भन्दा पनि बढी चुनौती थपिएको महशुस भएको छ । जुन विश्वास गरेर मलाई यहाँका जनताले मत दिनुभएको छ । उहाँहरुको भावनालाई आत्मसाथ गर्दै काम गर्नुपर्ने ठूलो जिम्मेवारी मेरो काँधमा आएको छ । म यी चुनौतिलाई पार गर्दै अवसरका रुपमा बदलेर अघि बढ्ने प्रयास निरन्तर गर्ने छु ।

अब तपाईं विजयी भएर आएसँगै यो ठाउँको विकासका लागि दिनुपर्ने प्राथमिकताहरु के–के छन् ?

सबै भन्दा पहिलो नगरकोटको अधुरो बाटोलाई पूर्णता दिन लाग्ने छु । सुन्दर पर्यटकीय क्षेत्र नगरकोट जाने बाटो अधुरो हुनु भनेको हाम्रो नेपाल पर्यटन वर्ष २०२० लाई गिज्याउनु पनि हो । त्यसैले सबै भन्दा पहिलो यो बाटोलाई पूरा गर्नेतिर नै मेरो ध्यान केन्द्रित हुनेछ ।
त्यो सँगै यो क्षेत्रका मतदाता, यहाँका विकासप्रेमि व्यक्तिहरु, उद्योगी, व्यवसायीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेर यहाँको विकास के गर्दा हुन्छ । यहाँका जनता के गर्दा खुशी हुन्छन् भन्नेतिर केन्द्रित रहेर नै अघि बढ्ने छु । विकास सबैको साझा बन्नुपर्छ ।

अहिले तपाईंले भक्तपुर एक (क)बाट विजयी प्राप्त गर्दै गर्दा यहाँको नगरपालिका संघ र केन्द्रसम्म पनि फरक पार्टीको नेतृत्व रहेको छ । यस्तो अवस्थामा त काम गर्न असजिलो होला नि ?

मलाई काम गर्न त्यति असजिलो होला भन्ने लागेको छैन । विकास त सबैको चाहना हो नि त । सबैको हातोमालोबाटै विकास हुने हो । त्यसकारण विकासमा बाधक होला भन्ने मैले ठानेको छैन ।

केन्द्रमा दुई तिहाईको सरकार छ । उपनिर्वाचनलाई हेर्ने हो भने वर्तमान सरकारप्रति केही असन्तुष्टि देखियो र केही अझै सच्चिएर अघि बढ्नुपर्छ है भन्ने अभिमत पनि देखियो । यस्तो अवस्थामा सरकारलाई दिने तपाईंको सल्लाह–सुझाव चाहिँ के छ ?

सरकारलाई मेरो महत्वपूर्ण सुझाव भनेको जनता शुसासन चाहन्छन् । जनताले शुसासन र विधिको शासन चाहेका छन् । यसतर्फ दुईतिहाईको सरकार लाग्नुपर्छ । स्थानीय र प्रदेश सरकारको पनि ध्यान त्यसमा केन्द्रित हुन जरुरी छ ।
उहाँहरुले जनताको भावना बुझेर, जनताको मनोभावलाई नकुल्चिकन जनता के चाहन्छन् भन्ने बुझेर काम गर्नुको अर्को विकल्प छैन । जनता नै सर्वोपरी हुन् । जनता नै परिवर्तनको बहाक हुन् । यो मिनि जनतमत संग्रहले पनि यहि सन्देश दिएको छ । वर्तमान सरकारले गरेको गतिविधिबाट जनता त्यति धेरै सन्तुष्ट छैनन् भन्ने सन्देश यो निर्वाचनले दिएको छ । यो कुरालाई नेकपाले पनि ख्याल गर्नुपर्छ र काँग्रेसले पनि बढी मात्तिनु हुँदैन भन्ने नै छ ।