25-Jan-2020 | ११ माघ २०७६, शनिबार

डाहालाग्दो इलिनोइको एकता

२३ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


कल्पना घिमिरे
स्टेजमा पफरमेन्स देख्ने बित्तिकै उनीसंग कतिबेला कुरा गरौं भन्ने भयो । पफरमेन्स सकिन नपाउँदै बिबाहको पार्टीको भिडभाड र गानाबजाना भन्दा पर लगें । बिज्ञा पौडेल खड्का, उमेरले खै कति पुगिन् थाहा छैन । सोध्न मिलेन । तर, उनको पातलो, फुर्तिलो शरिर र दमदार नृत्य देख्दा लाग्थ्यो उनी भर्खरै कलेज जान थालेकी युवती हुन् । तर, कहिलेकाँही अनुमान ठ्याक्कै उल्टो हुने रहेछ । उनकी त कलेज पढ्ने छोरी छन् रे । मेहेन्दी रसमको दिन राती बिज्ञासंग दुरुस्तै अनुहार मिल्ने एउटी युवतीले दुलहीका सबै साथीहरुलाई मेहेन्दी लगाइदिदैं थिइन् । दीदी बहिनी होलान् भन्ने सोचें । तिनै बंशिका खड्का उनकी छोरी भन्ने थाहा पाउँदा एकछिन त म अवाक नै भएँ । अनि सोचे महिलाले यतिसम्म ‘बडी मेन्टेन’ कसरी गर्छन् ?


इलिनोइ राज्यको नेपाली बस्तीबारे कुरा गर्दै गर्दा मैले किन उनको प्रसंग जोडे भन्ने लाग्ला । इलिनोइमा मैले अलिक नजिकबाट कुरा गरेकी उनै थिइन् । हुन त अरु थुप्रै नेपालीहरुसंग भेट भयो । संगै बसियो गफगाफ गरियो तर, इलिनोइको एकताबारेका केही कुरा बिज्ञाले बताएकी थिइन् । बिबाह, भोज भत्तेरमा पाहुना पासा फस्र्याउने देखि सबै बन्तोबस्ती मिलाउने काम आफ्नै सम्झेर गर्ने त्यहाँको चलन देख्दा हामी न्यूयोर्क बाट जानेलाई अलिक अनौठो नै लाग्यो ।


न्यूयोर्कबाट ९११ माइल (झण्डै १५ सय किलोमिटर) दुरी बसमा यात्रा गरेपछि इलिनोइको राज्यको सेन्ट लुइस शहरको फेयरभ्यु हाइट्स भन्ने ठाउँमा पुगिने रहेछ । एउटा बिबाहमा सहभागी हुनका लागि अघिल्लो साता न्यूयोर्क देखि इलिनोइ राज्य सम्मको यात्रा गर्ने अवसर मिल्यो । १४ जनाको लामो दुरीको यात्रा, यात्राको गाना बजाना, खानपान, गफगाफ र रमाइलोलाई यहाँ जोड्न चाहान्न ।
फेयरभ्यु हाइट्समा १२÷१५ घर परिवार मात्रै नेपाली रहेछन् । थोरै मात्रै नेपाली भएको बस्ती भएपनि उनीहरु बिचको एकता चै बलियो लाग्यो । बिज्ञाले भन्दै थिइन्, ‘सारो गाह्रो अफ्ठेरो जे सुकै परोस, एकजुट हुन्छौं । सुत्केरी हुँदा होस या बिवाह भोज भतेर वा कुनै पूजा आजाका कार्जे, सबै मिलेर फस्र्याउछौं ।’ परिवारमा कुनै दुःख् बिमार भयो । अस्पताल पु¥याउनु प¥यो भने आफ्नै परिवारको सदस्यलाई परेको अफ्ठेरो सम्झेर जसले समय निकाल्न सक्छ ऊ नै पहिले दौडिन्छ ।’

सबै काममा जान्छन् ब्यस्त छन् । तर, बिहान बेलुका सघाएर भए पनि जे सुकै होस काम सम्पन्न गर्ने उनीहरुको चलन जस्तै रहेछ । ‘म सुत्केरी हुँदा एउटी छिमेकी बिहानै आएर सुत्केरीको खाना, ज्वानुको झोल पकाएर खान दिन्थिन् र दिउसोलाई पनि केही खानेकुरा राखिदिएर काममा जान्थिन्, अनि बेलुका काम सकेर अर्की छिमेकी आइपुग्थिन् र बेलुकाको लागि खाना तयार गरिदिन्थिन्’ उनी सुनाउँदै थिइन् ‘म पनि अहिले अरुलाई पर्दा त्यसरी नै सहयोग गर्छु ।’
उनले हरेक वर्ष नव रात्रीमा पण्डित बोलाएर घरमा रुद्री पुजा लगाउने छिन् । ‘मेरा सबै साथीहरु आएर कसरी फस्र्याइदिन्छन् थाहा नै हुँदैन’ ढुक्कसंग कुराकानी गर्दै उनी भन्दै थिइन्, ‘हाम्रो गाउँको जस्तो मिलेमतो र एकता त कतै छैन होला । कुन दिन पत्रिकामा निस्कन बेर छैन ।’


कसैकोमा सारो गाह्रो पर्दा आफ्नै सम्झेर गर्नु चाहिँ त्यहाको निकै राम्रो पक्ष लाग्यो । नेपालबाट आमा बुवा वा आफन्त आउँदा त्यो सोसाइटिमा जसको बिदा छ उसैले घुमाउन लाने गर्छन् रे । छोरा बुहारी काममा गए भनेर बाबु आमाले दिनभर घरमा एक्लै बिताउनु पर्ने रहेनछ । पालैपालो जस्ले भ्याउँछ उसैले घुमाउँछ । तेरा बा आमालाई घुमाउन लान्छु है भनेर सोधिरहनु नै पर्दैन रे । फलानोलाई यस्तो समस्या परेको छ रे भन्ने सुन्ने बित्तिकै सम्बन्धित ब्यक्तिले बोलाइरहनै पर्दैन आफै पुगेर सकेको सहयोग गर्ने चलन एकदमै राम्रो लाग्यो ।
इलिनोइको अर्को राम्रो पक्ष लेख्न छुटाए भने अन्याय नै होला । त्यँहाका महिलाहरु निकै खुसी र सक्रिय लाग्यो । कुनैपनि कामको ब्यवस्थापन गर्नदेखि रमाइलो गर्नमा पनि निकै एक्टिभ थिए । अर्की प्रनिता शर्माले पार्टीको पुरै जिम्मा लिएकी थिइन् । कार्यक्रम सञ्चालन गर्नदेखि स्टेजमा पफरमेन्स सम्म प्रस्तुत गरेको देख्दा लाग्यो कसरी यस्तो जाँगर र उर्जा बटुल्ने ? हिन्दी गीत डोला रे डोला…मा उनी र उनकी साथीको पफरमेन्सले सबैको ध्यान केन्द्रित गरिदियो ।


नाजगानमा त उनीहरु निकै अगाडि । ब्यस्त दैनिकीमा पनि कसरी समय मिलाएर प्राक्टिस गर्न पनि भ्याए ? प्रश्न सोध्न नपाउँदै बिज्ञाले जवाफ दिइहालिन्, ‘सोसाइटिमा केही कार्यक्रम हुने भयो भने हामी सबै नाच्छौं । जतिबेला समय मिल्छ उतिबेलै ल्यापटप खोलेर फेसटाइम गरेर डान्सको स्टेप प्राक्टिस गर्छौं । ता कि स्टेजमा पफरमेन्स गर्दा एउटै स्टेप हु बहु होस । घर घरमा भेला भएर प्राक्टिस गर्न त सम्भव नै छैन नि ।’
त्यँहाका महिलाले आ–आफ्नो पफरमेन्स देखाउँदै थिए । कसैको सिङ्गल डान्स त कसैको कपल डान्स अनि ग्रुप डान्स । हेर्दा लाथ्यो उनीहरु प्रोफेसनल डान्सर हो ।
त्यँहाका बालबालिकालाई नेपाली भाषा संस्कृति सिकाउनका लागि सकेसम्म कल्चरल प्रोगामहरुमा लाने रहेछन् । १५ घरपरिवार भित्रका बालबालिकाले आफन्तलाई फुपु, मामा, माइजु, काका काकी, दिदी भिनाजु जे पर्छ त्यही भनेर सम्बोधन गर्ने रहेछन् । ‘आफ्नो नेपाली साइनो नबिर्सिउन भनेर हामीले यस्तो सिकाएका हौं’ उनी सुनाउँदै थिइन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार