कला / साहित्य

डेरामा बस्ने केटी

प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर

एक दशकअघिको कुरा हो । सँगै एउटै फ्लेट तर भिन्न कोठामा डेरा गरी बस्ने कोठाको केटी मलाई बिस्तारै मन पर्न थालेको थियो । म सोच्थेँ त्यतिबेला, यसरी नै माया फैलिँदै, भरिँदै जाने हो भने बेलुनजस्तो प्याट्ट फुटन के बेर ? त्यो अबला मुटु भित्र अनेक कुरा खेल्थे । म घरपेटीको छोरो भएपनि उहीँ फ्लेटमा वल्लो कोठामा बस्थेँ भने उनी पल्लो कोठामा बस्थी । मेरो मनभित्र उनीप्रतिको माया अथाह बनिसकेको थियो । कहिले जम्का भेट हुँदा भन्न मन लाग्थ्यो; “आउ डेरावाली, के भिन्दाभिन्दै कोठामा सुत्ने, मेरी रानी बनेर एउटै कोठामा सुतौँ । डेरावालीबाट तिमी पनि घरवाली बन ” ।

मनमा नानाभाँतिको कल्पना आए पनि कहाँ सम्भव थियो र सोचे जस्तो…। मसित भेट हुँदा मुसुक्क हाँस्थी । जिस्काउँदै सोध्थेँ, ‘कहाँ जाने डेरावाली ?’

कति पनि रिसाउँदिन । बरु मायालु नजरले मतिर हेर्दै बोल्थी, ‘हजुरले देख्नु भएन मेरो लुगा पनि ?’

‘तिम्रो युनिफर्ममा ध्यान कहाँ छ र ? म त केवल तिमीलाई मात्र हेर्दैछु ।’

डेरावाली मेरो कुरा सुनेर मुसुक्क हाँस्थी । म उस्को मुस्कान, उस्को ‘हजुर’ शैली, उस्को मप्रतिको सम्मान, इशारा हरेक कुरामा प्रभावित हुँदै गएको थिएँ ।

म उस्लाई हरेकप्रकारको सहयोग गर्थे, त्यो बेला । केही मीठो खानेकुरा छ भने पनि ‘खाऊ, डेरावाली’ भन्दै आधा उस्लाई दिन्थेँ । कैयनपटक उस्को फि तिर्न आफू रितिएँ । आफ्नो घरको डेरा भाडा आफैले तिरेर, उस्लाई घरवाली बनाएर म डेरावाल बनेको थिएँ । उस्लाई प्रेम प्रस्ताव गर्ने हिम्मत बटुल्दा बटुल्दै मैले प्रेम प्रस्ताव गर्न सकेको थिइनँ ।

मलाई त्यो बेला सामाजिक प्रतिष्ठाको डर थियो । किनभने मेरी भाउजू पनि डेरावालीबाटै दाईले घरवारी बनाएका थिए । मलाई थाहाँ थियो, जातभातमा कट्टर मेरी आमाले पक्कै कान्छी बुहारी पनि डेरावाली नै ल्याउन पक्कै दिने छैनन् । डेरावालीसित मेरो प्रेम टुसाएको एक वर्ष नबित्दै मेरी आमाले मलाई डाकेर अह्राउनु भयो, ‘तँ अव पुरानो घरमा बस्न जा । नयाँ घरको हेरविचार तेरो दाइ र भाउजूले गर्नेछन् ।’
मैले ‘किन’को कारण सोध्नै सकिनँ । मनमा चिसो मात्र पस्यो, डेरावालीसितको मेरो प्रेमको सुइँको आमाले कसरी पाउनुभयो । डेरावालीको कोठाको छेवैको कोठामा बस्न नपाएर निलम्वित भएको त्यो दिन म खुवै रोएँ ।
केही महिना मलाई पुरानो घरमा सारियो । चार महिना पछि म नयाँ घरमा जाँदा उस्को कोठाको ढोकामा पर्दा अर्कै रंगको लगाएको थियो । मेरो पुरानो प्रेमिल ढोकाबाट कोही नौली युवती बाहिर आई, त्यो युवती, मेरी डेरावाली थिएन ।

उस्को ढोकाबाट कोही अरु नै युवती रातो पर्दा छिचोल्दै बाहिर आउँदा म भित्रभित्रै भन्थेँ, ऐ डेरावाली, म हरियो पर्दा र तिमीलाई आज पनि मिस गर्छु ।

समयको परिवर्तनसँगै दाजुको जुवाप्रेमले घरमा एउटा ठूलै आर्थिक समस्या आयो । आर्थिक समस्यासँगै घरहरु बैकमा धितो राख्नुपर्यो । बैंकको ऋण तिर्न नसक्दा दुइटै घर लिलाम भयो । नचाहेर पनि डेरावालीका सारा स्मृतिहरु अरुलाई नै सुम्पेर गएँ । एउटा ढोका उखेलेर ल्याउन मन लागेको थियो, तर सकिनँ । तर स्वयमँ आफै पनि डेरावाला भएर पनि आँखामा भने अझै त्यही डेरावालीको एक दर्शनीय प्यास थियो ।
संसारमा खोजे के पाइँदैन । एकदिन न्युरोडमा त्यही डेरावालीसित भेट भयो । ऊ पहिला जस्तो मुसुक्क हाँसी । उस्को हाँसोले लाग्यो, पहिला अधुरा भएका दिलको पाना आज आएर ओछयाउँ । म डेरावाल, ऊ डेरावाली एक इन्च पनि सामाजिक मर्यादाको दुरी देखिनँ । पहिला जस्तो मैले आत्मीय भाव चोरेर सोधिहालेँ, ‘ऐ डेरावाली, तिमी कहाँ बस्छौँ अचेल ?’
‘डेरावाली नभन्नुहोला, म पनि घरवाली नै हुँ अचेल । यतै लुभुतिर हाम्रो सानो घर छ अहिले ।’ अघिको मुस्कान सबै गलहत्याएर, आँखा ठूल्ठूला पारी रिसाएर बोली ।

काठमाडौंको शरीरमा चार आना किनेर दुई तला ठडयाउँदा, हिजोको यही गुलियो ‘डेरावाली’ आज आएर कति तितो भएको होला यो ‘डेरावाली’लाई , भित्रभित्र सोचेँ ।

‘विवाह भइसक्यौ ?’
‘के जस्तो लाग्छ ?’ स्पष्ट जवाफ फर्काएन । सिउँदोमा सिन्दुर त थिएन तर उस्को भावभङ्गिमामा कुमारित्व तुहिसकेको थियो । केही जवाफ फर्काइनँ ।

‘घर लिलाम गरिसक्नु भएछ रे, हो ? अहिले तिमी कहाँ डेरा बस्दैछौ ?’ हिजोकी डेरावाली, आजकी घरवालीले उल्टो मलाई प्रश्न सोधी ।

सवै कुरा थाहाँ रहेछ यो डेरावालीलाई, मनमनै सोचेँ । मात्र बोलेँ, ‘कालिमाटी ।’
कालिमाटी भन्नेवितिकै आज बिहान घरपेटीले बोलेको “छिटो कोठा सर” भनेको ध्वनी मेरो स्मृतिमा आयो । सोधेँ, ‘घरमा सानो एउटा कोठा छैन, घरवाली ?’

मेरो प्रश्नले, ऊ खुव मरी मरी हाँसी । सायद उस्को ओठमा काउकुती ‘घरवाली’को सम्वोधनले लगाएको हुनुपर्छ भनेर चाल पाइहालेँ । समयको खेल न हो, आज आएर तिमीले काठमाडौँ जित्यौ, मैले हारेँ, यस्मा यति कठोर प्रतिसोध किन ? मनमनै सोधेँ ।

झण्डै पाँच सेकेण्ड हाँसेपछि बोली, ‘सरी, तिम्रो लागि अहिले कोठा खालि छैन ।’
‘हजुर’ आज आएर ‘तिमी’मा झरे पनि मुस्कान भने हाँसोमा उक्लिसकेको रहेछ, जस्को आवाजमा मैले स्वार्थसिवाय अरु केही भेटाइनँ । जावो एउटा कोठा नदिने डेरावालीसित म मनमुटु कसरी मागुँ ? यही सोच्दै म बाटो नापेँ आफ्नै डेरातिर, हिजोकी डेरावाली र आजकी घरवालीले मलाई आँखा तन्काइ तन्काइ नै परसम्म हेरेको हुनुपर्छ, त्यो बेला । स्मृतिमा आइरहयो मात्र एक अबला, अब्यक्त र टुहुरो मेरो अभिब्यक्ति…”आउ डेरावाली, के भिन्दाभिन्दै कोठामा सुत्ने, मेरी रानी बनेर एउटै कोठामा सुतौँ । डेरावालीबाट तिमी पनि घरवाली बन “। पूरै आँखा, डेरावालीसितको स्मृतिले ढाकेर म निस्सासिने यो काठमाडौं सहरमा डेरा खोज्दै छु ।