समाचार

किदुगमा खेन्पो साङगे राङज्युङ रिन्पोक्षेबाट प्रवचन

न्यूयोर्क/अमेरिका
युनाइटेड शेर्पा एसोसिएसन (शेर्पा किदुग)ले एक कार्यक्रम आयोजना गरी बौद्ध दर्शनका गुरु खेन्पो साङगे राङज्युङ रिन्पोक्षे द्वारा महत्वपूर्ण अभिषेक र आगम प्रदान गराएको छ । किदुगको आफ्नै गुम्बामा आयोजित कार्यक्रममा अभिषेक ग्रहण गर्न बौद्ध धर्मावलम्बीहरुको ठूलो घुँइचो लागेको थियो ।
नेपाली भाषामा व्याख्या सहितको अभिषेक, आगम र प्रवचन सुन्नका लागि बिहानैदेखि भक्तजनहरु जम्मा भएका थिए । किदुगका पदाधिकारीहरु, स्थानीय लामा गुरुहरु र भक्तजनहरु प्रवेशद्वार अगाडि धूप, फूल, खताग् र पञ्च रंगी ध्वजाहरु लिएर लस्करै उभिएका थिए । गुरु रिपोन्क्षेको आगमन हुँदा परम्परागत बाजा गाजाले स्वागत गरिएको थियो ।
बिहानी सत्रमा रिम्पोक्षेले सत्रौँ शताब्धिका महान गुरु लोङछेन जिग्मे लिङ्पाले प्रतिपदान गरेको ङिङिथग परम्पराको पुर्वाभ्यासको आगम दिएका थिए । वज्रयानीहरुमा बिशेष गरी ङिङमा परम्पराको अभ्यास गर्न चाहनेहरुको लागि ङोन्डोको अभ्यास अनिवार्य मानिन्छ । दिउँसोको सत्रमा गुरु पद्म संभवको अनेक रुप मध्ये एक रत्न थोठ्रेङ्चलको अभिषेक प्रदान भएको थियो । यो अभिषेक आयु, ज्ञान र ऐश्वर्य प्राप्तिको लागि प्रभावकारी मानिन्छ । शेर्पा समुदायका औतारी गुरु उर्गेन क्षोत रिन्पोक्षे, डा. युला शेर्पा, लोपेन ग्युर्मे क्षोडक, खेन्पो पेमा छिरिङ् लगायतका गुरुहरुले पनि भक्तजनहरुका साथमा अभिषेक् ग्रहण गरेका थिए।


शेर्पा किदुग, श्यार्वी रिग्श्युङ् लोप्टा र श्यामा किदुगले त्रिकाय मण्डल चढाइएको थियो । निधि अन्र्तगतको महत्वपुर्ण ग्रन्थ ‘लोङछेन ङिङथिक ङोन्डोको लुङ’ (आगम) र ‘गुरु रिम्पोचेको रत्न थोठेङचलको’ अभिषेक प्रदान गरेका थिए ।
सोही समारोहका बीच शेर्पा किदुगलाई १५ हजार १५ अमेरिकी डलर दान गर्ने कमला गौचनलाई किदुगका अध्यक्ष उर्गेन शेर्पा र ट्रष्टी संयोजक पेम्बा ग्याल्जेन शेर्पाले सम्मान गरेको थिए । ट्रष्टी सदस्य र आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
खेन्पो राङ्ज्युङ् रिन्पोक्षेले भारत नाम्ड्रोलिङ बौद्ध बिश्व बिद्यालयबाट बिद्यावारिधि प्राप्त गरेका छन् । हाल नेपालमा १ हजार ४ सय भन्दा बढी विद्यार्थीलाई बौद्ध शिक्षा दिंदै आएका छन् । उनले स्थापना गरेको काठमाडौं फर्पिङको उर्गेन दोर्जे क्षोलिङ् गुम्बामा बौद्ध दर्शन सँगसँगै नेपालको सरकारी पाठ्यक्रम अनुसार हाई स्कूल सम्मको पढाई निशुल्क भैरहेको छ । हाल उनी नेपाल भित्रका एक दर्जन भन्दा बढी गुम्बाको प्रमुख लामा हुनको साथै संसारका विभिन्न देशहरुमा धर्म केन्द्र स्थापना गरी सत्धर्मको विस्तारमा समर्पित छन् । न्योर्कको कार्यक्रम लगतै पेन्सिलभानिया र टेक्सासका विभिन्न स्थानमा प्रवचन दिने कार्यक्रम छ ।