अन्तर्वार्ता

एकजनालाई अनुकूल हुने गरी प्रदेश राजधानी हुँदैन

अष्टलक्ष्मी शाक्य
नेता, नेकपा

अष्टलक्ष्मी शाक्य नेकपाको नेता हुन् । पूर्वमन्त्रीसमेत रहेकी शाक्यको पछिल्लो समय सक्रियता निकै घटेको छ । अहिले शाक्यको जिम्मेवारी प्रदेश तीनको सांसदको मात्र रहेको छ । त्यसले पनि उनको सक्रियता घटेको होला भन्ने अनुमान धेरैले गरेका छन् । वर्तमान सरकारको गतिविधि, काम गर्ने शैली लगायतका बारेमा शाक्यको धारणा के छ त ? मोहन बास्तोलाले गरेको कुराकानी—

तपाईं त पूर्वमन्त्री पनि , अहिले देशमा दुई तिहाईको सरकार छ । सरकारको समीक्षा कसरी गर्नुहुन्छ ?
सरकार गठन भएको दुइ वर्ष पूरा भैसकेको छ । सरकारका काम–कारबाही कसरी अघि बढेका छन् भन्ने कुरा प्रधानमन्त्रीज्यूले पनि समीक्षा गर्नु भएकै होला । दुई तिहाईको सरकारबाट जनताले स्वाभाविकै रुपमा अपेक्षा बढी नै गर्ने नै भए । त्यसैले जनअपेक्षाअनुसार काम गर्न सकियो कि सकिएन, समृद्धि र विकासको नारा लगाइरहँदा त्यो अनुसार काम गर्न सक्यौं कि सकेनौं भनेर स्वंय सरकारले आफैं पनि समीक्षा गर्नुपर्छ भन्ने मेरो बुझाइ छ । यो कुराको पार्टीको संस्थागत तहले पनि वस्तुनिष्ट समीक्षा गर्नुपर्छ । धेरै आलोचना भएपछि उतिबेलै पार्टीको बैठक डाँकेर सरकारको कामको छुट्टै समीक्षा गरिनुपर्छ भनेर माग पनि हामीले राखेकै हो ।

तपाईंले यसो भन्दै गर्दा प्रधानमन्त्रीज्यूले मन्त्रीमण्डल हेरफेर गर्नुभएको छ । यो सन्दर्भलाई चाहिँ कसरी लिनुहुन्छ ?
यो सन्दर्भमा कार्यसम्पादन मूल्याङ्कन नै कस्तो बन्यो भनेर त्यहाँबाट समीक्षाको थालनी गरिनुपर्छ । जनताले राम्रो ढंगले काम गरिरहेका भनेर स्यावासी दिएकाहरु हटेका छन् भने केही यथावतै रहेका छन् । सही आधारले कार्यसम्पादन मूल्याङ्कन भएन नि भन्ने प्रश्न पनि उठेको छ । भन्दा तीतो लाग्ला तर म भन्छु हाम्रो दिमाग अब गुटबन्दीबाट ठ्याक्कै मुक्त हुनुपर्छ । अब पनि संकिर्ण विचारबाट, गुटबन्दीको सोचबाट, शैलीबाट चल्ने हो भने यत्रो पार्टीलाई सिङ्गो रुपबाट परिचालन हुन सक्दैन । तर अहिले पनि त्यो संकीर्णताबाट मुक्त हुन सकेको पाइँदैन ।
अहिले जुन ढंगले मन्त्रीमण्डल फेरवदल भयो यो पनि पुरुषबादी सोचबाटै बढी आवी भयो भन्ने लाग्छ । संविधानले हामीलाई एक तिहाई महिला सबै ठाँउमा पु¥याउनुपर्छ भन्छ । यो सबै राजनीतिक दलहरुले संयुक्त प्रतिबद्धतासहित संविधानमै भनेको कुरा हो । यसलाई पनि आत्म सात गर्न नसक्ने भनेपछि त नेतृत्वको सोचाइहरु कति कमजोर रहेछ भन्ने प्रमाणित हुन्छ ।

उपनिर्वाचन भर्खरै सम्पन्न भएको छ । त्यो परिणामले त नेकपा कमजोर भयो भन्ने प्रमाणित गर्छ नि होइन ?
यो उपनिर्वाचनको समग्र परिणाम हेर्ने हो भने नेकपाको पहिलेको स्थितिबाट घटेको र सरकालाई खासै असर पारेको भन्ने होइन । किनकी हामी पहिले हारेको ठाँउमा पनि अहिले जितेका छौं । त्यसैले हामीले यसलाई समग्र रुपबाट हेर्नुपर्छ । हारेको ठाउँको मात्र मूल्याङ्कन गरेर हुँदैन । त्यसरी हेर्दा नेकपा आत्तिहाल्नु पर्दैन । सबै ठाँउमा जित्न पाएको भए त राम्रै हुन्थ्यो । त्यो सम्भव भएन । तर, हामीले समग्र मूल्याङ्कनसहित छलफल गरिरहँदा भक्तपुर हामीले जित्छौं नै भन्ने आँकलन थियो । तर सुरुवाती दिनमा उम्मेदवार छनौटमै सचिवालयले निर्णय गरिरहँदा केही असन्तुष्टीहरु व्यक्त भयो । यसले केही नकारात्मक सन्देश गयो । दोस्रो कारण अन्तिम अवस्थामा आएर नेमकिपा, राप्रपा लगायत अन्य सबै शक्ति एक ठाउँमा हामीविरुद्ध एकताबद्ध भए । यसले पनि हामीलाई केही बेफाइदा भयो । तलतिर अलि गहन ढंगले सल्लाह गर्ने चलन पनि अचेल टुटेको छ । माथिबाट जे विश्लेषण गर्न मन लाग्यो त्यही गर्ने, तलका प्रदेश र स्थानीयलाई के हो त ? भनी सोधपुछ समेत नगर्ने चलन हावी भएको छ । त्यसले पनि केही प्रभाव पा¥यो भन्ने लाग्छ ।

यो उपनिर्वाचनको परिणाम लामो समय संगठन निश्क्रिय बन्नुको परिणाम पनि हो भन्यो भने नि ?
कमिटी निस्क्रिय पनि रह्यो । अर्को कुरा कमिटी निर्माणमा पनि हामी जान सकिरहेका थिएनौं । त्यसले गर्दा पार्टी पङंतिलाई जसरी परिचालित गर्नुपर्ने हो, जसरी कमिटी निर्माण गरेर योजनावद्ध ढंगले लानुपर्ने हो, त्यसरी काम हुन नसकेकै हो ।

अब त पार्टी एकताले पनि पूर्णता भएको छ, पार्टी बलियो बन्ला भन्ने अपेक्षा गर्न सकिन्छ ?
गति नआइ त सुखै छैन । गति आउनै पर्छ । हामीले लामो समयदेखि नै भनिराखेको हो की दुइवटा अध्यक्ष भइसकेपछि सबैलाई चलायमान बनाउनका लागि कामको जिम्मेवारी महत्वपूर्ण हुन्छ । संगठनात्मक क्षेत्रमा, परिचालनको क्षेत्रमा काम विभाजन भन्ने कुरा अत्यन्तै महत्वपूर्ण हो । लामो समय हामी यो काममा चुक्यौं । पछि आएर बल्ल–बल्ल एक व्यक्ति एक पदको कुरा आयो । अहिले पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएको अवस्थामा पनि हुनुहुन्छ । उहाँलाई नै यतिबेला सबै जिम्मेवारी दिएर गर्न सक्ने स्थिति पनि त छैन नि । यही कारणहरुले पार्टी निस्क्रिय बन्ने, नोक्सान हुने स्थिति अवश्य बन्छ । त्यही बुझेर सचिवालयले अर्को अध्यक्षलाई पार्टीको समग्र जिम्मा र र्को अध्यक्षले सरकार हेर्ने भनेर तोकेको छ । त्यो सकारात्मक नै भएको छ । यही स्पिरिटमा पार्टी अब अगाडि बढ्नुपर्छ । सचिवालय खासमा कमिटी नै होइन । मूल कमिटी भनेको त स्थायी कमिटी, केन्द्रीय कमिटी हो । त्यसका बैठकहरु ठप्प भइरहेको छ । चलायमान पटक्कै छैन । सम्पूर्ण शक्ति निस्क्रिय अवस्थामा पुगिसकेको जस्तो देखिनछ । यत्रो पार्टी छ, तर स्थायी समिति सदस्यले हाम्रो जिम्मेवारी के भनेर खोज्नुपर्ने ? केन्द्रीय कमिटी बैठक जम्मा एक चोटी भयो । सबै कुरा सचिवालयको तजविजमा गरिएको छ । ९ जना बसेपछि सवैथोक गर्न सकिन्छ जस्तो । सिस्टम त्यो होइन । सिङ्गो पार्टी परिचालनमा, निर्माणमा त्यस्तो तरिका हुँदै होइन, हुनु पनि हुन्न ।

तपाईं प्रदेश तीनको सांसद पनि हुनुहुन्छ सरकार र पार्टीबीच कतिको समन्वय भएको छ ?
प्रयासमा छौं । पार्टीको ३ नं प्रदेश कमिटी बनिकेपछि हामीले बेला बेलामा बैठक डाक्ने गरेका छौं । मुख्य मन्त्री, मन्त्रीहरु सहितको दलको बैठक नियमित जसो डाकिरहँदा सुझाव सल्लाह दिएकै छौं । निर्देशनहरु दिएकै छौं ।

प्रदेश तीनको राजधानीको नाम र स्थानले कहिलेसम्ममा पूर्णता पाउला भनी अपेक्षा गर्न सकिन्छ ?
यो बारेमा अध्ययन भइसकेको छ । संभावित ठाँउबारे पहिचान भएको छ । हामीले छिटौं गरौं भनेका छौं । धेरै गाह्रो भएको छ । राजधानी राख्ने कुरा कहाँ राखेपछि सबैलाई पायक हुन्छ भन्ने पनि हेर्नुपर्छ । यसको भौगोलिक अवस्थिति तथा सबै कुरा हेरेर प्रदेश सभाले तोक्छ । एकजना कसैलाई अनुकूल भयो भन्दैमा त्यही जिल्लामा लानुपर्छ भन्ने कुरा होइन ।

वामदेव गौतमलाई उपाध्यक्ष बनाउने भन्ने कुरा अहिले के भयो ?
त्यहाँ भित्र के के कुरा भयो, त्यो त हामीलाई पनि थाहा हुने कुरा भएन । तर एकत उपाध्यक्ष भन्ने पद विधानमा नै छैन । हामी वामदेव कमरेड लगायत, भिम रावल, युवराज ज्ञवाली र म चुनावबाटै जितेर आएका हौं । तर एकिकरणको दौरानमा त्याग गरेकै हो । त्यो ठुलो कुरा भएन । नेकपा बन्ने कुरा ठुलो हो, हाम्रो पद गौण हो भनेर हामीले ठुलो कम्युनिष्ट पार्टी बन्ने लालशामा आफ्नो पुरानो पद छोडेको हो । कतिपय कुरा त विधानमै नभएको काम पनि राजीतिक समझदारीमा भइरहेको पनि पाइन्छ । यही कुरा पनि सचिवालयले मात्र गर्नै सक्दैन । वामदेव कमरेड उपाध्यक्ष राखिनुपर्छ भनिरहँदा युवराज, अष्ट र भीम रावल किन नहुने भनेर नेता कार्यकर्ताले त प्रश्न उठाएका छन् नी । अर्को कुरा ९ जना पुरुष नै पुरुष भयो, यसले लैगिक सन्तुलन भएन भनेर कुरा त उठिरहेकै छ नी । त्यसलाई आधार बनाएर केही महिला सदस्य बनाउन नसकिने होइन । त्यतातिर त उहाँहरुको सोच नै भएन ।