समाचार

लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल रोक्ने षड्यन्त्र गर्दै भारत

तस्बिर श्रोत : गुगल फ़ाईल फोटो

विश्वन्युज संवाददाता
काठमाडौं
भारतले एकपछि अर्को गर्दै नेपालमा प्रहार गरिरहेको छ । सीमा विवाद चर्किएको अवस्थामा भारतले नेपालको हवाई उडड्यन क्षेत्रलाई समस्यामा पार्न थालेको छ । रुपन्देहीको भैरहवामा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा छ । तर, सञ्चालनका लागि तयार भैसक्ने बेलामा भारतले हवाई रुट नदिएकाले नेपाल समस्यामा परेको छ ।
नेपालले लुम्बिनी नजिकै, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई रुटका लागि गरेको पहल सफल हुन सकेको छैन । यस्तो अवस्थामा काठमाडौंका लागि दिइएको हवाई रुटबाट जहाज भित्रिने र बाहिरिने गर्नुपर्छ । जसले नेपाललाई थप समस्या पार्छ । जुन उद्देश्यले भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो, त्यो अनुकूल नहुने अवस्थामा वैकल्पिक विमानस्थलले फाइदा नहुने विज्ञहरुले बताएका छन् । नेपालले भैरहवा नजिक र नेपालगञ्ज नजिकबाट हवाई रुट पाएको अवस्थामा भैरहवा विमानस्थलले राम्रो काम गर्न सक्ने अपेक्षा गरेको छ ।
लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थललाई कम्तीमा नेपालगञ्ज र महेन्द्रनगर रुट उपलब्ध भएमा पनि सहज हुने नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । त्यसका लागि सरकारले पटक पटक उच्चस्तरीय कूटनीतिक पहल गरेको छ । तर, भारतले विभिन्न बहाना बनाएर टार्दै आएको छ । यी रुटको असर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पर्नेछ । भारतले पटक पटक विभिन्न कारण देखाएर हवाई रुट दिनलाई आलटाल गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा भारतीय समकक्षी नरेन्द्र मोदीसँग हवाई रुटका विषयमा वार्ता गरेका थिए । मोदी सकारात्मक भएर कर्मचारीलाई तत्काल रुट उपलब्ध गराउन निर्देशन नै दिएका थिए । तर, पछि कर्मचारीले भारतीय राजनीतिक नेतृत्वलाई यो विषयमा के के कुराकानी गरेर अहिले अन्यौल भैरहेको मन्त्रालयका एक अधिकारीले बताए । भारतीय कर्मचारीले नेपाललाई रुट उपलब्ध गराउन नहुने तर्क गरिरहेका छन् । त्यसैले भारतीय नेतृत्वले पनि पटक पटक हवाई रुटका विषयमा प्रष्ट कुराकानी गरिरहेको छैन ।
भारतले गोरखपुर र लखनउ नजिक रहेका आफ्ना वायु सेनाका एयर फोर्सका कारण नेपाललाई अहिले मागेका रुटबाट हवाई उडानको अनुमति दिन नसक्ने जनाउँदै आएको छ । ती ठाउँमा वायु सेनाले अभ्यास गर्ने भएकाले प्रभावित हुने कारण देखाउँदै भारतले नेपाललाई हवाई रुट नदिएको हो । लुम्बिनीसँग सीमा जोडिएको भारतीय क्षेत्रमा जसरी पनि जहाज पुग्नु पर्ने भएकाले नेपालको लुम्बिनी विमानस्थल प्रभावकारी सञ्चालनका लागि भारतकै भर पर्नुपर्ने बाध्यता रहेको छ ।
लुम्बिनीबाट झण्डै तीन किलोमिटर एयर दूरीमा सीमावर्ती भारतीय क्षेत्र आउँछ । ठूला जहाजले उडान तथा अवतरणमा आसपासको सीमा क्षेत्रमा फन्को मार्नुपर्ने अवस्था आउन सक्ने भएकाले भारत सरकारको सहयोग महत्वपूर्ण भएको नेपाली अधिकारीहरु बताउँछन् । पछिल्लो समय नेपाल सरकारले पटक पटक पत्राचार गरिरहेको छ । विमानस्थल निर्माणको अन्तिम तयारीमा रहेकाले नेपाल सरकारले पटक पटक पत्राचार गरेको हो । भारतले भने महेन्द्रनगर रुट मात्र उपलब्ध गराउने तयारी गरे पनि त्यो कामसमेत गरिरहेको छैन ।

लुम्बिनी विमानस्थल अन्तिम चरणमा

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र भैरहवाको बीचमा पर्ने विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भौतिक संरचनाको प्रगति लगभग ८० प्रतिशत भैसकेको छ । काठमाडौं विमानस्थलको विकल्पको रुपमा लुम्बिनी विमानस्थल अबका केही महिनामै सञ्चालनमा आउने छ । हवाई टर्मिनल, एयर ट्राफिक कन्ट्रोल रुमको निर्माणको काम पनि अन्तिम चरणमा रहेको छ । रनवे पनि लगभग तयारी अवस्थामा छ । तर लुम्बिनी जोड्ने बाटो भने भारतीय ठेकेदार कम्पनीले आलटाल गरिरहेको छ ।
विमानस्थल आगामी ६ महिनाभित्रै सञ्चालनमा आउनेछ । विमानस्थल बनेको अवस्थामा बोइङ ७७७–२०० र एयरबस ३३०–३०० ‘सिरिज’का विमान सजिलै अवतरण र उडान गर्न सक्नेछन् । त्यसैले नेपाल सरकारले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा यो विमानस्थललाई लिएको हो । एसियाली विकास बैंक (एडिबी)को ऋण तथा अनुदान, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष (ओएफआइडी) र नेपाल सरकारको लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको उक्त आयोजनाको भौतिक काम एक महिनाभित्र पूरा गर्न दैनिक दुई सत्रमा २ सय ७० जनाभन्दा बढी कामदार परिचालन भएका छन् ।
तीन किलोमिटर लामो र ४५ मिटर चौडा धावनमार्ग कालोपत्र गरी त्यहाँ ‘मार्किङ’ गरिएको छ । विमानस्थल सञ्चालन भएपछि मौजुदा एक हजार पाँचसय २४ मिटर लामो र ३० मिटर चौडा धावनमार्गलाई ट्याक्सी वेका रूपमा उपयोग गरिनेछ । हाल विमानस्थलको ८५ प्रतिशतभन्दा बढी भौतिक संरचना निर्माण भइसकेको सरकारले जनाएको छ । कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवन, विमान राख्नेस्थल (एप्रोन), अग्नि नियन्त्रण तथा उद्धार भवन, मुख्य विद्युत्गृह, आगमन र प्रस्थान टर्मिनल तथा प्रशासनिक भवनको रङरोगनलगायत आन्तरिक सजावटको काम धमाधम भइरहेको छ ।
विमानस्थल निर्माणका लागि नजिकै रहेको घाघरा खोलाको मार्ग परिवर्तन, सवारीसाधान पार्किङस्थल, ढल निकासको काम पनि पूरा भइसकेको छ । विमानस्थलमा बगैँचा बनाउने र त्यहाँको सौन्दर्य बढाउन साजसज्जाका काममा सयौँ मजदुर खटिएका छन् । विमान उडान र अवतरण, तिनको व्यवस्थापनका साथै विमानको अवस्था तथा अवस्थितिबारे जानकारी दिने उपकरण, विमानलाई मार्गदर्शन गर्ने तथा चालकसम्म सूचना प्रवाह गर्ने सञ्चार उपकरण, मौसमसम्बन्धी जानकारी दिने उपकरण, धावनमार्गमा विद्युत्लगायत विमानस्थलका निम्ति आवश्यक पर्ने सम्पूर्ण उपकरण जडान आगामी तीन महिनाभित्र पूरा गरिने भएको छ ।
कोरियाली कम्पनी योशिन इन्जिनीयरिङ कर्पोरेशन परामर्शदाता रहेको विमानस्थलको भौतिक संरचनाको निर्माणको ठेक्का पाएको चीनको नर्थवेष्ट सिभिल एभिएशन एयरपोर्ट कन्सट्रक्शन ग्रुपनका प्रबन्धक सू बेजिङ निर्धारित समयमा परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता गर्छन् । रुग्ण परियोजनाका रूपमा परिचित यो विमानस्थल निर्माणमा यसअघि विविध समस्या झेल्नुपरेको थियो । मुख्य लगानीकर्ता एडिबी नै परियोजनाबाट बाहिरिएको थियो । दुई वर्षअघि नै पूरा गर्ने लक्ष्य रहेको यो परियोजना तेस्रोपटक म्याद थपेर हालको अवस्थामा पु¥याइएको हो ।
६ अर्ब २२ करोड ५१ लाख २० हजार १२८ रुपैयाँ लागत मध्ये एडिबीले ४०.५ ऋण र १८ प्रतिशत अनुदान उपलब्ध गराएको छ भने (ओएफआइडी)को ३०.५ प्रतिशत र बाँकी सरकारको लगानी रहेको छ । नेपाल भ्रमण वर्ष २०२० जारी रहेकै बेला यो विमानस्थल सञ्चालन गर्ने लक्ष्य सरकारको छ । प्राविधिक काम पनि निर्धारित समयमा नै पूरा गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले एकजना वरिष्ठ अधिकारीलाई खटाइसकेको छ । विमानस्थल बन्ने बित्तिकै तत्काल सञ्चालन नहुने तर परीक्षण उडानलगायत अन्य प्राविधिक परीक्षणपछिमात्र स्वदेशी विदेशी विमान कम्पनीलाई सेवा सञ्चालनका लागि आह्वान गरिने महानिर्देशक राजन पोखरेल बताउँछन् ।
लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरणका लागि श्रीलङ्का, कतार, थाइल्यान्ड, नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र फ्लाई दुबईले आफ्नो सेवा विस्तार गर्न रुचि देखाएका छन् । चीन र दक्षिणपूर्वी एशियाली देशले पनि नेपालमा उडान भर्न चासो देखाएका छन् । विमानस्थल निर्माण सकिएपछि विमानस्थलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनबाट अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता प्राप्त गर्नुपर्ने हुन्छ, जसका लागि केही समय लाग्नेछ । विमानस्थलको व्यवस्थापनका लागि जर्मनीको म्युनिख विमानस्थललाई दिने सरकारको तयारी छ ।
लुम्बिनीमा अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालनमा आएमा गौतम बुद्धको जन्मस्थल आउने विदेशीको संख्या बढ्नेछ । लुम्बिनी बिकास कोषले पनि आफ्नो योजना त्यसै अनुसार अगाडि बढाइरहेको छ । लुम्बिनी गुरु योजना पनि अन्तिम चरणमा पुगेको छ । गुरुयोजना पनि ८० प्रतिशत पुगेको कोषले जनाएको छ । विमानस्थलमा भारतीय अवरोध रोकिएको अवस्थामा देशकै समृद्धिमा सहयोग पुग्नेछ । पश्चिम नेपालबाट आम नागरिक भैरहवा हुँदै बाहिरिने र स्वदेश भित्रिने छन् ।