फिचर

विश्व बैंकले भन्यो ६.४ प्रतिशत मात्र आर्थिक वृद्धि, बिच्किए अर्थमन्त्री

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७६्\७७ मा ८ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि गर्ने लक्ष्यसहित बजेट कार्यान्वयन गरिरहेको छ ।

तर, नेपालको सबैभन्दा ठूलो विकास साझेदार मध्ये एक विश्व बैंकले आर्थिक वृद्धि ६.४ प्रतिशतमा मात्र खुम्चिने प्रक्षेपण अर्थ मन्त्रीकै अगाडी गरेपछि अर्थमन्त्री बिच्किएका छन् ।

बिहीबार विश्वबैंकले नेपालको अर्थतन्त्रसम्बन्धी पछिल्लो अपडेट सार्वजनिक गर्दै सन् २०२० मा आर्थिक वृद्धि ६.४ प्रतिशत रहने अनुमान गर्यो ।

अर्थमन्त्रीले भने नेपालमा अनुमानको भरमा तथ्यांक आउने गरेको भन्दै यथार्थपरक तथ्यांक नै नभएको उल्लेख गरे ।

उनको भाव विश्वबैंकको तथ्यांकप्रति स्पष्ट झल्कन्थ्यो । उनले नेपालको आर्थिक वृद्धिदर ८ प्रतिशतबाट सरकारले कुनै पनि संशोधन नगरेको समेत पुनः दोहोर्याए ।

विश्व बैंकको तथ्यांक अनुसार सन् २०१९ मा आर्थिक वृद्धि ७.१ प्रतिशत रहेको छ । त्यसपछिका दुई वर्ष पनि लगातार ६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि भने कायम रहनेछ ।

सन् २०२१ को आर्थिक वृद्धिको अनुमान ६.५ प्रतिशत रहेको विश्वबैंकले स्पष्ट पारेको छ । खासगरी सन् २०२० मा सरकारले नेपाल भ्रमण वर्ष मनाउँदैछ ।

यसैवर्ष केही ठूला होटेल संचालनको तयारीमा छन् । एउटा अन्तर्राष्ट्रिय विमानस्थलसमेत यसै वर्ष संचालनमा आउने छ ।

यसले आर्थिक वृद्धिमा सकारात्मक भूमिका खेल्ने विश्व बैंकको भनाई रहेको छ ।

विद्यूत आपूर्तिमा भएको सुधार, राजनीतिक स्थायित्व, नीतिहरुमा समय सापेक्षा सुधारले समेत लगानी अभिवृद्धि हुने र त्यसले आर्थिक वृद्धिमा सघाउने विश्व बैंकको भनाई रहेको छ ।