बिचार

साली

योगेश आदी ‘डंगोल’

दिदीको बिवाहको दिन नै भिनाजूको जुत्ता समातेर ठट्टाको बिजारोपण गर्ने पात्र हो; साली । जुत्ता मोलमोलाईको क्रमदेखि नै हेपिन शुरुहुन्छ त्यो अनुग्रहित पात्र ।

अन्य कसैको घरको शोभा अनि कसैको जीवनसाथी बन्नुपर्ने पात्रको नाम जोडेर “साली आधी घरवाली” “साली कस्को भेनाको” जस्ता भद्दा मजाकका बोलबोलाईमा रौसिन्छन् समाज । मनपर्ने एउटी साली छ… साली माग्दा सासुले लखेटिन्… जस्ता गीतहरु हिट खान्छन् । भिनाजूको स्वेटर जस्ता कुरितीलाई प्रश्रय दिने खालका कथाहरु पाठ्यक्रममा राखिन्छन् । शिक्षित बर्ग परिवर्तनका संवाहक हो भने यस्ता छुद्र खालका परिपाटीलाई बहिस्कार गर्नुपर्छ ।  यो परिपाटी हाम्रो संस्कारको धब्बा हो, आजैबाट रोकौं । दिदी र भिजाजूको सम्वन्ध मायाको हो भने भिनाजू र सालीको सम्वन्धमा मर्यादा हुनुपर्दछ । जुत्ता लुकाएर पैसा माग्ने नेपाली हिन्दुको सनातनी परिपाटी होईन । भारतको महाराष्ट्रको अभ्यास हो । हिन्दी सिनेमाबाट नेपाल भित्रिएको हो । 

मेरो श्रीमती कान्छी भएकीले साली पात्रको अनुभुती छैन । ससुराबाले मेरो गोडा पनि छुनु भएन । नेवारको बैवाहिक संस्कारमा पर्दैन, हाल कसैकसैले शुरु गरेको देख्छु । त्यसै कारणले पनि म यस बिषयमा अलि फरक भएको हुनसक्छ । मलाई लाग्नु नलाग्नु भन्दा पनि अपाच्य संस्कारहरुलाई परिमार्जन गर्दै लैजानु नै कालान्तरमा हितकारी हुन्छ ।

हाँसखेल ठट्टा क्षणिक मात्रै रमाईलो हो । मनमौजी रसरंगले जिबननै तरंगित पार्नु ठीक होईन । थोरै खेलुन्जेल रमाईलो हुन्छ, मात्रा बढे जुवा बन्छ । थोरै पिउन्जेल रम्म, बढी भएपछि वाक्क हुन्छ । क्षणभरको रमाईलो भनेर १६-१७ वर्षे केटीलाई “जाउ भिनाजूको जुत्ता लुकाऊ” भनेर नुर गिराउनुको सट्टा अलि भिन्दै खालको रमाईलो आयाम थप्दा के जान्छ र ? निहुरिएर ज्वाईको खुट्टा धुनुको सट्टा आँखामा पट्टी बाँधेर हात धोईदिए नयाँपन आईहाल्यो नि ! 

बिरालो बाँधेर सराद्धे गरेको देखेर हुर्केकाले सराद्धे अघि बिरालो खोज्न हिडे जस्तो नगरौं । सालीलाई छोएर बोल्न खोज्ने । अधिकार जमाएर काम अह्राउने ईत्यादी उपरोक्त घटनाका बाईप्रडक्ट हुन् । वहिनीका कारण कयौं दिदीका बिग्रिएका पारिवारिक संरचनाहरु यसका उपज हुन् । यस्ता परिपाटी संस्कारका छुद्र हुन्, जहाँबाट मर्यादा चुहिन शुरु हुन्छ । बाख्राको पुच्छर काटेर बोकालाई सजिलो भएजस्तो मात्र हो, समाजले दिएका यी स्वेत धब्बाहरु । कसैको व्यक्तित्व, शरिर र चरित्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मनोरञ्जनको लाभ लिने समाजको परिकल्पना हामीले गरेका होईनौं ।
पोखरामा एउटा बिहे झण्डै आधा दिन लम्बिएछ । भिनाजूको जुत्ता मोजा बोकेर सालीहरुले १ लाख मूल्य लगाएछन् । बिवाहको बिधि पुरा भैसकेपछि सालीहरुले बाटो छेकेर “हामी कजनहरु सहित १० जना सालीहरु छौं १ लाख घटि त कामै छैन” भनेछन् । दुलाहा पट्टीले लामो समयको  बार्गेनिङ् पछि ५० हजार दिएछन् । अझ नमाने पछि दुलाहा जुत्ता नै नलगाई गाडीमा गई बसेछन् । तर सालीहरुले भिनाजूको कार नै घेरेर जानै नदिने भएपछि ७० हजारमा दोश्रो पटक त्यै जुत्ता किनेछन् । त्यसपछि सबै साली मिलेर भिनाजूलाई उचालेछन् । भिनाजूले ७० हजारमा थुप्रै स्वतन्त्रताहरु किने ।