समाचार

नेपाल र फ्रान्सबीच परामर्श संयन्त्र स्थापना

काठमाडौं । नेपाल र फ्रान्सबीच परामर्श संयन्त्रको स्थापना गरिएको छ । दुई देशबीचको सम्बन्ध, क्षेत्रीय र अन्तरराष्ट्रिय साझा चासोका विषयमा नियमित रूपमा परामर्श लिन सकिने गरी नेपाल र फ्रान्सबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको हो ।

दुई मुलुकका उच्च अधिकारीबीच शुक्रबार संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा संयन्त्र स्थापनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । शुत्रबार नै संयन्त्रको पहिलो बैठक बसेको छ ।

फ्रान्सको विदेश मन्त्रालयमा एशिया र ओसिनिया मामिला हेर्ने निर्देशक थिरी मथाउ नेपाल आएका छन् ।

उनी र परराष्ट्र मन्त्री ज्ञवालीको उपस्थितिमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले र नेपालका लागि फ्रान्सका राजदूत फस्वा जाभिए लेजेबीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

परराष्ट्रसचिव शङ्करदास वैरागी र निर्देशक मथाउ नेतृत्वको प्रतिनिधिमण्डलबीच परामर्श संयन्त्रको पहिलो बैठक शक्रुबार बसेको हो ।

बैठकमा आर्थिक विकास, व्यापार, पर्यटन, लगानी, जनता–जनताबीच सम्पर्क विस्तारका सम्बन्धमा दुई देशबीच छलफल भएको छ ।