फिचर

संसदको न्यायीक समितिबाट पारित भयो ट्रम्प विरुद्धको महाभियोग, अब फूल हाउसमा

न्यूयोर्क

अमेरिकी संसदको न्यायीक समितिले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग पारित गरेको छ । तीन दिनको म्याराथन बहस पछि शुक्रबार बिहान समितिमा मतदान भएको हो ।

समितिले ट्रम्प विरुद्ध दुई बुँदे (आर्टीकल अफ इम्पिचमेन्ट) महाभियोग तयार गरेको थियो । महाभियोग पक्ष र विपक्षमा पार्टी लाइन अनुसारको भोट परेको हो । समितीमा रहेका १७ जना नै रिपब्लिकन सांसदले महाभियोगको विपक्षमा मतदान गरे । पक्षमा २३ जनानै डेमोक्र्याट उभिए । महाभियोगको बुँदामा एब्युज अफ पावर (अधिकारको दुरुपयोग) र अब्सट्रक्सन अफ जष्टिस (न्यायीक प्रकृयामा अवरोध) रहेका छन् ।

महाभियोग माथि अब संसदको फुल हाउसमा मतदान हुनेछ । त्यहाँ डेमोक्र्याटको प्रष्ट बहुमत रहेका कारण महाभियोग पारित हुने निश्चित प्राय छ । हाउसबाट पारित महाभियोग संसदको माथिल्लो सदन सिनेटमा जानेछ । सिनेटले आर्टिकल अफ इम्पिचमेन्टका बुँदाहरु माथि थप बहस र अनुसन्धान गर्नेछ । अन्त्यमा दुई तिहाइ सिनेटरले महाभियोगको पक्षमा मतदान गरे ट्रम्प पदमुक्त हुनेछन् ।

सिनेटमा रिपब्लिकनहरुको बहुमत छ । २० जना रिपब्लिकन सिनेटरले डेमोक्र्याटको साथ महाभियोगको पक्षमा मतदान गर्दा मात्र ट्रम्प पदमुक्त हुनेछन् । यो सम्भावना भने देखिएको छैन । धेरैजसो रिपब्लिकन सिनेटरले अहिलेसम्म महाभियोगबारे मुख खोलेका छैनन् ।

ट्रम्प  संसदको न्यायीक समितिबाट महाभियोग पारित हुने चौथो राष्ट्रपति हुन् । यसअघि एन्ड्रु जोन्सन , रिचार्ड निक्सन र विल क्लिन्टन माथिको महाभियोग समितिले पारित गरेको थियो । उनीहरुमध्ये निक्सनले फुल हाउसमा मतदान हुन अघिनै राजिनामा दिएर बाटो खालि गरि दिएका थिए । १७ औँ अमेरिकी राष्ट्रपति जोन्सन भने तल्लो सदनबाट महाभियोगमा परेका थिए । सिनेटमा भने एक मतले पदमुक्त हुनबाट जोगिए । क्लिन्टनलाई भने पार्टी लाइन अनुसारको भोट परेको थियो । हाउसबाट साधारण बहुमत साथ महाभियोगमा परेका उनी बिरुद्ध सिनेटमा दुईतिहाई मत पुग्न सकेन । त्यति मात्र होइन महाभियोग सुरु भएसँगै जनताको उनको लोकप्रियता एकाएक चुलिएको थियो । ह्वाइट हाउसकी कर्मचारी मोनिको लेवेन्स्कीसँग अनैतिक यौन सम्पर्क राखेको आरोपमा रिपब्लिकनहरुले उनलाई महाभियोग लगाएका थिए ।

अमेरिकी संसदले युक्रेनका लागि पारित गरेको झन्डै ४०० सय मिलियन डलरको सैन्य सहायता ट्रम्पले एकाएक रोक्का गरिदिएका थिए । सहायता पाउन युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सार्वजनिक रुपमा पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन माथि अनुसन्धान सुरु गर्ने बताउनु पर्ने उनको सर्त थियो । यो तथ्य सतहमा आएसँगै व्यक्तिगत र राजनीतिक फाइदाका लागि राष्ट्रिय सुरक्षा र करदाताले तिरेको पैसामा खेलबाड गरेको आरोप सहित डेमोक्र्याटहरुले महाभियोग अनुसन्धान थालेका थिए । सन् २०२० को सम्भावित प्रतिश्पर्धामा बाइडेन ट्रम्प माथि हावी भएको सर्वेक्षणहरु सार्वजनिए भएपछि ट्रम्पले उक्त रणनीति अख्तियार गरेका थिए ।

पुननिर्वाचन जित्न निक्सनले सन् १९७२ मा डेमोक्रेटिक पार्टीको हेडक्वार्टरमा गोप्य टेप राखेर कुराकानी रेकर्ड गरेका थिए । त्यसबाट उनले डेमोक्र्याटको रणनीति थाहा पाए र त्यही अनुसार तयारी गरेर चुनाव जिते । उनी पुननिर्वाचित भएसँगै वासिंटन पोष्टले उक्त घटना उजागर गर्न थाल्यो । अन्तत:  रिपब्लिकनहरुनै निक्सन हटाउन तयार भए । यसपाली भने ट्रम्पले सर्त राखेको पुष्टि हुँदा पनि रिपब्लिकन सभासदहरुले ट्रम्पको साथ छोड्न मानेका छैनन् । पार्टीभित्र ट्रम्पको बलियो प्रभाव रहेको कारण उनीहरु नतमस्तक भएको विश्लेषकहरुको भनाइ छ ।