समाचार

धनुषा विस्फोट : तीन जना पक्राउ

जनकपुर । धनुषाको क्षिरेश्वरनाथ ५ स्थित महेन्द्रनगरमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ ।

विस्फोटमा परी एक प्रहरी अधिकृतसहित तीन जनाको ज्यान गएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा हंसपुर नगरपालिका वडा नम्बर २ की ललिता देवी महरा र सीतादेवी महरा तथा मिथिला बिहारी नगरपालिका १ भुतहीका रामशोभित धानुक पक्राउ परेका छन् ।

उनीहरु विप्लव समूहका नेता भएको बताइएको छ । ५१ वर्षिय सीतादेवी विप्लव समूहका प्रदेश २ का संयोजक हुन् । ४१ वर्षीया ललिता केन्द्रीय सदस्य हुन् । रामशोभित कार्यकर्ता भएको प्रहरीले बताएको छ ।

प्रहरीले घटनाको छानविन गर्न प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।

महेन्द्रनगरस्थित राजेश साहको घरको गेटमा राखिएको बम पड्किँदा साह, उनका छोरा आनन्द र प्रहरी निरीक्षक अमिर दाहालको निधन भएको थियो ।

विस्फोटमा राजेशका बावु भिखारी, छोरा प्रकाश, छोरी अञ्जली र प्रहरी जवान रिजनाथ महतो घाइते भएको प्रहरीले बताएको छ ।