बिचार

पारस्थितिकीय प्रणालीमा गिद्धको महत्व: प्रकृति र मानिस

डिल्ली वहादुर रावत

प्रकृतिले सृष्टिचक्रलाई निरन्तरता दिनका लागि पारस्थितिकीय प्रणालीमा आधारित सृष्टि गरेको छ । कुनै पनि एक पक्षको विनास भयो भने त्यसको कु-प्रभाव अर्काे पक्षमा पर्न जान्छ । त्यसैले सवैको संरक्षण गर्दा नै मानिसको अस्तित्व यो धर्तीमा दिगो रहन पुग्छ । दुर्भाग्यनै भनौं आज मानिसमा बढ्दो अहमता र म भन्ने शब्दको कारण आफ्नै अस्तित्व गम्भीर संकटमा पार्दै गइरहेको छ । मानिसले आफुलाई प्रकृतिमा सवैभन्दा सर्वाेकृष्ट मान्दै अन्य पक्षको संरक्षणमा चासो नदिने मात्र होइन आफु सम्पन्न बन्नका लागि प्रकृतिको चर्काे शोषण गरिरहेको छ । यस्को निम्ति जैविक विविधता विनास गर्दै गइरहेको कारण आज जटिल पर्यावरणीय समस्याबाट गुज्रीरहनु परेको छ । यस्तै गरी आफ्ना आवस्यकता परिपुर्ती गर्ने नाममा र विलासी जिवन विताउनको लागि पर्यावरण पक्षमा ध्यानै नदिई गरिएको औद्योगिक क्रान्तिका कारण हाम्रो पर्यावरण साह्रै प्रदुषित बन्न पुगेको छ । आज पर्यावरणको विषयले राष्टिय, जातीय, धार्मीक सवै सिमाहरु नाघिसकेकोले विशुद्ध मानवीय साझा समस्याको रुपमा हाम्रो अगाडी आइरहेको छ । यो लेखमा मैले प्रकृतिको एउटा सन्तान गिद्धको बारेमा लेख्ने जमर्काे गरेको छु ।

गिद्ध प्रकृतिमा रहेको एउटा ठुलो मांसाहारी पंक्षी हो तर कसैलाई पनि आक्रमण गरि मार्दैन । यसले त केवल मरेको सिनो र फालेको मासुजन्य फोहर मात्र खान्छ । त्यसैले यसलाई प्रकृतिको निशुल्क कुचीकार भन्दा फरक पर्दैन । मरेको सिनो खाएर मानिस लगायत अन्य जनावरमा रोग फैलिन दिदैन यसको अनुपस्थितिमा सिनो र मासुजन्य फोहोरबाट फैलिने रोगको विगविगी बढ्न पुग्दछ । त्यसैले प्रकृतिले हाम्रो धर्तीलाई स्वच्छ र सफा राख्न गिद्धको सृष्टि गरिदिएको हुनु पर्दछ ।

कुनैपनि संरक्षणका कामहरु कठिन हुन्छन् । अझ त्यसमा विभिन्न क्षेत्रवाट चुनौतिहरु खडा हुँदा थप समस्याहरु आईपर्दा रहेछन । ती समस्याहरुसंग दृढ भएर जुध्न नसक्ने हो भने सम्पुर्ण लगानी खेर जाने सिवाय उपलव्धि केही हुँदैन । विचारमा होस वा पैसामा, काममा होस वा सोचमा परतन्त्रमा भर पर्ने हामी नेपालीहरु आफ्नै सोच र लगानीमा काम गर्न झन कठिनाई हुनेनै भयो । कुरो हो प्रकृतीको निशुल्क कुचीकार गिद्धको संरक्षण गर्ने सवालमा । नेपाल सरकारले पहिलो पटक गिद्ध संरक्षणको लागि पञ्च वर्षीय कार्ययोजना वनाएपछि सरकारको कार्ययोजनालाई सफल पार्न जनस्तरवाट गिद्ध संरक्षण गर्ने अभियानको सुरुवात भयो । समुदाय स्तरवाट पनि संरक्षणको कठिन काम गर्न सकिन्छ भनेर पहिलो पटक नवलपरासीमा गिद्ध रेष्टुरेण्ट वनाईयो । त्यसको सफलतापछि अहिले देशभरी ७ वटा गिद्ध रेष्टुरेण्ट वनिसकेका छन । यो नेपाली सोच र विचारले सवैलाई चकित पारीदियो । यसैवाट सिक्दै अहिले भारत पाकिस्तान लगायत एसियाका सवै देशमा गिद्ध रेष्टुरेण्ट खुल्नेक्रम सुरु हुदैछ । तर नेपाल सरकारले नेपाल सरकारले गिद्ध संरक्षण सम्वन्धि कार्ययोजना त वनायो तर बजेट कुनै पनि गिद्ध रेष्टुरेण्टमा दिएको छैन । उसले कार्ययोजना त विदेशसंग जैविक विविधता संरक्षणको लागि सहयोग माग्नका लागि मात्र बनाएको देखिन्छ ।

गिद्ध; ठुलो प्रजातीका पन्छीहरु मध्य एउटा पन्छी हो । विश्वमा २३ प्रजातीका गिद्धहरु पाईन्छन भने दक्षिण एसियामा ९ प्रजातीका गिद्ध पाईन्छन । हाम्रो नेपालमा पनि पछिल्लो समयमा लामो ठुडे गिद्ध देखापरेपछि ९ प्रजातीका गिद्ध देखिन थालि सकेको छ । गिद्धले नत खाद्यवाली खान्छ नत फलफुल नै । यसै गरेर यस्ले आफै सिकार गरेर जिउँदो प्राणीलाई मारेर खादैन । केवल मरेको सिनो र फालेको मासुजन्य फोहर मात्र खान्छ । त्यसैले यसलाई प्रकृतिको निशुल्क कुचिकार भनेर भन्ने गरिन्छ ।

अष्ट्रेलिया र अन्टार्कटीका बाहेक संसार भर गिद्ध पाइन्छन । यसलाई दुई भागमा बाँडिएको छ । पुराने विश्वको गिद्ध र नँया विश्वको गिद्ध भनेर । नयाँ विश्व भन्नाले अमेरिकी महाद्धीपलाई बुझाउँछ भने पुरानो विश्व भन्नाले बाँकी विश्वलाई जनाउछ । नयाँ विश्वको गिद्धले सिनो सुंघेर पत्ता लगाउछ भने पुरानो विश्वको गिद्धले सिनो हेरेर पत्ता लगाउछ । गिद्धले स्वच्छ मान्छेको स्वच्छ आंखाले जति टाढा देख्न सक्छ त्यसको आठ गुणा वढी गिद्धले देख्न सक्छ ।

पशुमा प्रयोग गरिने डाइक्लोफेनेक दवाइको कारण गिद्ध लोप भएको प्रमाणीत भै सकेको छ । डाइक्लोफेनेक प्रयोग भएको पशु एक हप्ता भित्र नै मर्याे भने उक्त सिनो गिद्धले खाएमा उसको मृगौला खत्तम भयर तत्काल मर्ने गर्दछ । अहिले यो दवाई नेपाल सरकारले उत्पादन, भण्डारण, विक्री र प्रयोगमा प्रतिवन्ध लगाइसकेको छ । तै पनि मानिसमा प्रयोग गरिने डाइक्लोफेनेक लुकीछिपी प्रयोग भै रहेको छ । यति मात्रै होइन अन्य जनावर मार्नको लागि विष खुवाउने र जथाभावी फालि दिनाले पनि गिद्ध मरिरहेका छन । बाघका प्रजातीलाई मार्नका लागि सिनोमा विष हाल्ने चलन पनि बढ्दै गइरहेको छ ।

गिद्ध तिव्र रुपमा लोप हुदै जान थालेका छन् भने अझ केही प्रजाती त नेपालमा ९५ प्रतिसत भन्दा वढी दरले लोप हुन थाले । यो मानव उपयोगी पन्छीले वर्षमा एउटा मात्र वच्चा जन्माउँछ । यसलाई खोर वनाउँदादेखि हुर्काउँदासम्म ८–९ महिनाको समय लाग्दछ । यो दौरान भाले वा पोथीमा कोही मर्यो भने वच्चा संकटमा पर्दछ । यसरी एउटा गिद्ध प्रकृतिमा आउँदासम्म धेरै कठिनाईसंग जुध्नु पर्दछ । यति मात्रै होईन प्रकृतिमा आएपछि मानव अज्ञानताका कारण वाँच्नै नसक्ने अवस्थामा पु्ग्यो । गिद्ध समुहमा वस्ने , समुहमा खाने एउटा मिलनसार पन्छी हो । यसले मरेको सिनो मात्र खाने भएकोले सानो भन्दा सानो सिनो खान पनि धेरै संख्यामा एकैचोटी आउने गर्दछन । त्यसैले एउटा सिनो विषाक्त हुन गयो भने एकै चोटी धेरै गिद्धको एउटै चिहान हुन पुग्दछ । यसरी अरु कुनैपनि वन्यजन्तुहरुले सामुहिक आहारा खादैनन् । अझ मामसहारी वन्यजन्तुहरु आफै सिकार गर्दछन मरेको सिनो पनि सामुहिक रुपमा प्रयोग गर्दैनन् । त्यसैले उनिहरु तिव्र रुपमा लोप हुदैनन् । तर, गिद्धले सामुहिक रुपमा सिनो खाने भएकोले सामुहिक मृत्यु हुने गर्दा तिव्र रुपमा लोप हुन पुग्दछन । त्यसैले प्रकृतिको निशुल्क कुचिकार गिद्धको संरक्षण गर्नुपरेको हो । मानव उपयोगी पन्छीको संरक्षणमा राज्यदेखि आम जनतासम्म जुट्नु पर्ने समय भई सकेको छ । हाम्रा भावी पुस्ताले प्रकृतीले मानिसलाई दिएको अनुपम उपहारलाई हस्तान्तरण गर्न सक्यौ भने मात्र हामी सचेत मानिस भयएको सार हुनेछ । अन्यथा अज्ञानी र अदुरदर्शि भनेर भावी पुस्ताले सरापी रहने छन् ।

गिद्ध रेष्टुरेण्टको अवधारणा;

हाम्रो धर्ती गिद्धको निम्ति असुरक्षित भयपछि सामुदायिक नेतृत्वमा नवलपरासीको पिठौलीमा गिद्ध रेष्टुरेण्ट खोलियो । त्यहाँ वुढा र विमारी गाईहरुलाई पालेर राख्न पशु वृद्धाश्रम वनाईयो । त्यहाँ राखेका गाई–गोरुहरु काल गतिले मरेपछि तिनको छाला निकालेर निश्चित स्थानमा राखिन्छ । यसरी निश्चित स्थानमा सिनो राखेपछि गिद्धहरु त्यहि सिनो कुरेर वस्ने र खाने गर्न थाले । जस्लेगर्दा उनिहरुलाई आहाराको निम्ति अन्त नजानुपर्ने भयो । त्यसपछि पुर्व कोशीदेखि पश्चिम कैलालीसम्म गरी ७ वटा गिद्ध रेष्टुरेण्ट खुल्न पुगे । आज नेपालीको यही सोच र सफलतालाई देखेर अरु देशहरुले पनि गिद्ध रेष्टुरेण्टको अवधारणालाई लागू गर्दैछन । नेपाल सरकारको पहलमा चितौनको कसरामा गिद्ध प्रजनन् केन्द्र खोलिएको छ । अहिले गिद्धको विनास दरमा कमी आएको पुष्टि भयको छ । नेपालको पुर्व भन्दा पश्चिममा गिद्धको संख्या धेरै छ । अझैपनि गिद्धको निम्ति हाम्रो प्रकृति असुरक्षित छ । त्यसैले गिद्ध रेष्टुरेण्टको आवस्यकता अझैपनि छ ।

गिद्ध रेष्टुरेण्टको अवस्था कस्तो छ ?

गिद्ध रेष्टुरेण्टको पुर्वाधार विकास व्यवस्थापनको निम्ति विभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले सहयोग गर्दै आएकोमा पछिल्लो समयमा ती संस्थाहरुले हात झिकिदिदा र नेपाल सरकारले पनि बजेट नदिदा समुदायलाई आर्थिक भार व्यहोर्नु परिरहेको छ । कुनै पनि बेला गिद्ध रेष्टुरण्टहरु बन्द हुने अवस्थामा पुगिसकेका छन । यस्तो अवस्थामा नेपाल सरकारले गिद्ध रेष्टुरेण्टहरुलाई सहयोग गर्नु पर्ने देखिन्छ । यसको लागी धेरै ठुलो रकम पनि चाहिदैन । सात वटा रेष्टुरेण्टका लागी बार्षिक रु. १५ लाख भए पुग्छ तर पनि सरकार कानमा तेल हालेर वसेको छ । पर्यावरण क्षेत्रमा काम गर्ने दातृ निकायहरु पनि चुप लागेर वसेका छन । जसले गर्दा प्रकृतिको निसुल्क कुचिकार मानिने र पारस्थितीकीय प्रणालीको अभिन्न अंग गिद्ध लोप हुने सम्भावना देखिन्छ । त्यैसैले आउनुहोस् यसको संरक्षणमा सवैले चासो दिइ प्रकृती संरक्षणमा योगदान पुर्याऔं ।