समाचार

सिटी अफ अर्भिङ र गोकर्णेश्वर नगरपालिकाका बीच भगिनी सम्बन्ध स्थापनाको पहल : सिटी अफ अर्भिङका मेयर लगायतले नेपाल भ्रमण गर्ने

टेक्सस

अमेरिकाको टेक्सस राज्यको सिटी अफ अर्भिङ र काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका बीचमा भगिनी सम्बन्ध स्थापनाका लागि पहल अघि बढाईएको छ ।

नेपाली समुदायको बाक्लो बसोबास रहेको सिटी अफ अर्भिङसँग भगिनी सम्बन्ध स्थापनाका लागि गोकर्णेश्वर नगरपालिकाको एक प्रतिनिधि मण्डलले सिटी अफ अर्भिङमा मेयर लगायत पदाधिकारीसँग भेटघाट समेत गरेको छ ।

टेक्ससको डलासमा रहेको नेपलिज अमेरिकन च्याम्बर अफ कमर्शको संयोजन र सिटी अफ अर्भिंग तथा अर्भिंङ लस कोलिनस च्याम्बर अफ कमर्शको निमन्त्रणमा अमेरिकाको भ्रमणमा आएको गोकर्णेश्वर नगरपालिका, काठमाडौं नेपालको एक प्रतिनिधिमण्डललाई सिटी अफ अर्भिंगले स्वागत तथा सम्मान गरेको थियो ।

टेक्ससको सिटी अफ अर्भिंग र नेपालको गोकर्णेश्वर नगरपालिका बीच ‘सिस्टर सिटी’ सम्बन्ध स्थापनाका लागी नेपलिज–अमेरिकन च्याम्बर अफ कमर्श, डालस, टेक्ससले पहल सुरु गरेपछि पहिलो चरणमा गोकर्णेश्वर नगरपालिकाको तिन सदस्यीय प्रतिनिधिमण्डल १० दिने भ्रमणका लागि अमेरिका आएको थियो ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले अर्भिंङ सहरस्थित विभिन्न कार्यालयको अवलोकनका साथसाथै फोहर मैला व्यवस्थापन, प्रहरी सुरक्षा, खानेपानीको उचित व्यवस्थापन तथा वितरण तथा दमकल र अन्य आपतकालीन सुविधाका बारेमा जानकारी हासिल गरेको थियो ।

भ्रमणको अन्तिम दिन पारेर स्थानीय सभाकक्षमा आयोजना गरिएको उक्त परिचय तथा सम्मान कार्यक्रममा आयोजक तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीले सिटी अफ अर्भिंङको भ्रमणका क्रममा धेरैं विषयवस्तुमा सिक्ने मौका मिलेको बताए ।

सिटी अफ अर्भिंङका मेयर रिक स्टोफरले प्रतिनिधि मण्डललाई स्वागत गर्दै गोकर्णेश्वर नगरपालिकासँग थप सम्बन्ध बिस्तारका लागि आफू इच्छुक रहेको बताउनुभयो । सो समारोहमा मेयर लगायत ८ काउन्सिल मेम्बरहरू, सिटी अफ अर्भिंगका प्रहरी प्रमुख, फायर प्रमुख र सिटी अफ अर्भिंङका प्रबन्धकहरू, अर्भिंङ लस कोलिनस च्याम्बर अफ कमर्सका प्रतिनिधिहरू, नेपलिज–अमेरिकन च्याम्बर अफ कमर्सका प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता थियो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीको नेतृत्वमा आएको टोलीमा नेपालको गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर ५ का प्रमुख नारायण सुबेदी र वार्ड नम्बर ६ का प्रमुख रमेश अर्याल रहेका थिए ।

यसैबीच, भ्रमणमा रहेको प्रतिनिधि मण्डलले सिटी अफ अर्भिंङका मेयर रिक स्टोफरलगायत सम्पूर्ण काउन्सिल मेम्बरहरूलाई २०२० मा नेपाल भ्रमणको निम्ति औपचारिक निमन्त्रणा समेत गरेको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेद्वारा प्रेषित औपचारिक पत्र सिटी अफ अर्भिंगका मेयर रिक स्टोफरलाई प्रदान गरिएको थियो ।

सोही अवसर पारेर मेयर लगायत सम्पूर्ण काउन्सिल मेम्बरहरू तथा सहरका प्रमुख अधिकारीहरूलाई ’भ्रमण वर्ष २०२०’ का बारेमा जानकारी गराउँदै नेपाली टोपी तथा अन्य उपहारहरु समेत हस्तान्तरण गरिएको थियो । मेयर स्टोफरका लागी भने बुद्धको एक विशेष मूर्ति गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर ५ का प्रमुख नारायण सुबेदीले उपहार स्वरूप प्रदान गर्नुभएको थियो ।

गोकर्णेश्वर नगरपालिका र सिटी अफ अर्भिंग बिच ’सिस्टर सिटी’ को सम्बन्ध स्थापनार्थ सुरुवात गरिएको यो भेटघाट पश्चात् सिटी अफ अर्भिंगको टोली सन् २०२० को समरमा नेपाल जाने समेत योजना रहेको छ ।