मनोरञ्जन

कलाकारद्धय भट्टराई र क्षेत्रीको दाहसंस्कार

काठमाडौं । हृदयघातका कारण ज्यान गुमाएका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ कलाकार दीपक क्षेत्रीको दाहसंस्कार गरिएको छ ।

शनिबार राती क्षेत्रीको निधन भएको थियो । भट्टराईको भने आइतबार राती निधन भएको हो । फरक दिनमा निधन भएपनि उनीहरुको दाहसंस्कार एकै दिन पर्न गयो ।

आर्यघाटमा सयौं कलाकार तथा हजारौं दर्शकले उनीहरुलाई सधैका लागि बिदा गरे । भट्टराईलाई नेपाल सरकारले राष्ट्रिय सम्मान दियो ।

संचार मन्त्री गोकुल बास्कोटाले राष्ट्रिय झण्डा ओड्याएर उनको सम्मान गरे । नेपाल प्रहरीको एक टुकुडीले सलामी अर्पण समेत गरेको थियो ।

दाहसंस्कार अगाडी उनीहरुको शव अन्तिम श्रद्धान्जलीमा राखिएको थियो । केशवलाई उनका १५ वर्षिय छोराले दागबत्ती दिएका छन् ।

चलचित्र विकास बोर्डको प्रांगणमा दुबै कलाकारको शव श्रद्धान्जलीका लागि राखेर आर्यघाट लगिएको थियो ।